स्थानीयको लगानीमा पक्की सडक

जुम्लाको गुठीचौर गाउँपालिका-३ गज्र्याङकोटका स्थानीयले आफ्नै लगानीमा पक्की सडक बनाएका छन् । उनीहरूले ११ लाख ७५ हजार पाँच सय ९५ रूपैयाँ बजेट जुटाएर एक सय ३१ मिटर लम्बाई र दुई मिटर चौडाई सडक निर्माण गरेका हुन् । घाम लागे धुलाम्मे र पानी परे हिलाम्मे हुने उक्त सडकले निकै सास्ती दिएपछि स्थानीयले सडकलाई आरसीसी गरिएको बताएका छन् । आफू हिँड्ने आँगनको बाटो सरकारकै मुख नताकि आफैँ पनि बनाउन सकिन्छ भन्ने उदाहरण दिन सडक निर्माण गरिएको गज्र्याङकोटवासीको भनाइ छ ।

आफ्नै पैसाले बनाएको सडकलाई अविरल मार्गको नामाकरण गरिएको छ । ‘गाउँमै एक लाख दुई हजार रूपैयाँ नगद उठ्यो,’ निर्माण समितिका अध्यक्ष खड्गबहादुर बुढाले भने, ‘दश लाख ७८ हजार पाँच सय ९५ रूपैयाँ बराबरको श्रमदान गरेका हौं ।’ सडक बनाउनलाई स्थानीय युवा नरबहादुर शाहीले २९ हजार, धर्मराज रावलले १० हजार पाँच सय, दीपेन्द्र भण्डारीले नौ हजार पाँच सय, मुनबहादुर बुढा, धनबहादुर बुढा, गोविचन्द्र रावल, पूणर्बहादुर बुढा र देवीलाल बुढाले क्रमशः ६/६ हजार रूपैयाँ सहयोग गरेका छन् ।

त्यस्तै, गजेन्द्र भण्डारीले पाँच हजार पाँच सय, खड्कबहादुर भण्डारी, परेबहादुर बुढा र नन्दबहादुर बुढाले पाँच/पाँच हजार तथा चित्र बुढाले दुई हजार आर्थिक सहयोग गरेका हुन् । गत साउन १० गतेबाट सुरु गरिएको सडक निर्माणको काम भदौ दोस्रो साता सम्पन्न भएको हो । सडक सञ्चालनमा आएपछि गज्र्याङकोटका ८० घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् ।

प्रकाशित मितिः   १९ कार्तिक २०७७, बुधबार ०७:४४