चौकुने सिमेन्ट खानी: एघार वर्षसम्म प्रगति शून्य

पश्चिम सुर्खेतको चौकुनेमा सिमेन्ट उद्योग सञ्चालनका लागि इजाजत दिँदा सडक, विद्युतलगायतका सुविधाका साथै स्थानीयलाई गाउँमै रोजगारी पाउने आशा थियो । मुक्तिश्री इण्डष्ट्रिज प्रा.लि. ले आयोजनास्थलमा सम्पर्क कार्यालय खोलेपछि काम सुरु हुनेमा स्थानीयवासी उत्साही थिए तर इजाजत पाएको एक दशक नाघिसक्दासमेत उद्योग सञ्चालन पूर्वका तयारी नहुँदा चौकुनेवासी खिन्न छन् । खानी तथा भूगर्भ विभागले वि.सं. २०६६ मा चौकुने क्षेत्रमा सिमेन्ट उद्योग सञ्चालनका लागि मुक्तिश्रीलाई इजाजत दिएको थियो ।

वर्षौं बितिसक्दा पनि कम्पनीले काम सुरु गर्ने आश्वासन मात्रै दिएको स्थानीयवासीको आरोप छ । स्थानीय तहको निर्वाचनताका घोषणा-पत्र सम्झदैं चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले कम्पनीले खानी ‘होल्ड’ गर्ने नियत राखेको बताए । गाउँपालिका र प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षकै बजेटबाट खानी क्षेत्रसम्म पहुँच सडक निर्माण गरिसकेको छ । उनका अनुसार कम्तीमा खानी तथा प्लान्ट क्षेत्रको जग्गा अधिग्रहण गरेको भए आयोजना बन्ने टुङ्गो लाग्न सक्थ्यो ।

खानी क्षेत्रका बासिन्दाले जग्गा अधिग्रहणतर्फ कम्पनीले चासो नदिएको बताएका छन् । कम्पनीले कार्यालय खोले पनि उसका प्रतिनिधि प्रायः बस्दैनन् । जसले गर्दा स्थानीयवासी आयोजनाले गति लिनेमा आशंका व्यक्त गर्दछन् । छनोट गरिसकेको जग्गा अधिग्रहण नगर्दा प्रभावित क्षेत्रका बासिन्दा आक्रोशित बनेका छन् । खानी क्षेत्र चौकुने गाउँपालिका अन्तर्गत चौकुने, कुवा, खोप्री, थरेलगाउँ, काफलगैरा र ओटपोखरीमा गरी कूल ११ हजार रोपनी क्षेत्रफलमा फैलिएको छ । आयोजनाका लागि कम्तीमा एक हजार तीन सय ८० रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेछ । खानी विभागले उद्योग अनुमति पत्रको म्याद पटक-पटक थप्दै आएको छ ।

सुर्खेतका व्यवसायी, दलका नेताले मुक्तिश्रीले चौकुने खानी क्षेत्र कब्जा गरेको भन्दै पटक-पटक प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । अनुमति पाएको दश वर्ष पुग्नै लाग्दासम्म प्रगति शून्य भएपछि विभागले पहिलो पटक वि.सं. २०७४ मा लाइसेन्स रद्द गरेको थियो । लाइसेन्स रद्द भएपछि उच्च अदालत पाटनको आदेशमा पुनः नवीकरण गर्न विभाग बाध्य भएको थियो । कम्पनीका प्रोजेक्ट
को-अर्डिनेटर लोकबहादुर अधिकारीले यसै वर्ष जग्गा अधिग्रहणको काम सम्पन्न गर्ने तयारी भइरहेको बताए । कम्पनीका अनुसार प्लान्ट सञ्चालन गर्न १४ मेगावाट विद्युत आवश्यक पर्दछ । खानी विभागले २०३५ देखि २०३९ सालसम्म यहाँको चुनढुङ्गा परीक्षण गरेर सिमेन्ट उत्पादन गर्न योग्य प्रमाणित गरेको थियो । कारखाना सञ्चालन गर्न करिब आठ अर्ब लागत लाग्ने अनुमान गरिएको छ । कम्पनीले दैनिक एक हजार पाँच सयदेखि पाँच हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको छ ।

प्रकाशित मितिः   १९ कार्तिक २०७७, बुधबार ०७:४२