मन्त्रिपरिषद् पुनर्गठन तत्काललाई टर्‍यो

सुर्खेत : कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन तत्काललाई टरेको छ । नेकपाका केन्द्रीय अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालको निर्देशनपछि आज(आइतवार) गर्ने भनिएको मन्त्रिमण्डल पुनर्गठन पछि धकेलिएको हो ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतवारै मन्त्रिपरिषद्‌मा हेरफेरको तयारी गरेका थिए । प्रधानमन्त्री एवम् अध्यक्ष केपी ओलीनिकट दुई मन्त्री दल रावल र नन्दसिंह बुढालाई हटाएर शाहीले नेपाल पक्षीय सांसदहरू चन्द्रबहादुर शाही, करवीर शाही र अमरबहादुर थापालाई मन्त्री बनाउने तयारी गरेका थिए ।

उक्त संकेत पाएपछि मन्त्री रावलले आइतवार बिहानै सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रीको हैसियतले ३२ महिनाको अवधिमा मन्त्रालयलाई नवजात अवस्थाबाट शिशु अवस्थामा पुर्‍याउन प्रत्यक्ष वा परोक्ष रूपमा सहयोग गर्नुहुने समआदरणीय महानुभावहरूप्रति ऋणी छु ।’ तर त्यसको केही समयपछि उनले उक्त फेसबुक स्टाटस हटाएका छन् ।

ओलीले तत्काल राजीनामा नदिन आफू निकट मन्त्रीद्वय रावल र बुढालाई निर्देशन दिएका थिए भने लगत्तै अर्का अध्यक्ष दाहालले मुख्यमन्त्री शाहीलाई तत्काल मन्त्रिपरिषद् पुनर्गठन नगर्न निर्देशन दिएको स्रोतले जानकारी दिएको छ ।

ओलीपक्षीय मन्त्रीलाई हटाएपछि पार्टी र केन्द्रीय सरकारमा समेत थप समस्या आउने देखिएपछि कार्यकारी अध्यक्ष दाहालले तत्काल निर्णय नगर्न निर्देशन दिएको बुझिएको छ ।

जसका कारण मन्त्रिमण्डल पुनर्गठन पछि धकेलिएको हो । तर ढिलोमा तिहारसम्म पुनर्गठन गर्ने तयारीमा मुख्यमन्त्री शाही जुटेका छन् ।

गत  असोज २५ गते नेकपाका बहुमत प्रदेशसभा सदस्यले मुख्यमन्त्री समेत रहेका संसदीय दलका नेता महेन्द्रबहादुर शाही विरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । अविश्वास प्रस्ताव दर्ता गराउने १८ सांसदमा ओली पक्षका आठ, नेपाल पक्षका सात र प्रचण्ड पक्षका तीन जना थिए ।

नेपालपक्षीय सांसदमध्येबाट एक सचेतक र तीन मन्त्री बनाउने सहमतिपछि नेपाल पक्ष ७ कात्तिकको संसदीय दलको बैठकमा आफैँले हस्ताक्षर गरेर दर्ता गराएको अविश्वास प्रस्तावविरुद्ध उभिएका थिए ।

प्रकाशित मितिः   १६ कार्तिक २०७७, आईतवार १७:२१