होला त कर्णालीको मन्त्रिमण्डल पुनर्गठन ?
सुर्खेत : कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले आइतवार विहानै आफ्नो फेसबुक स्टाटसमार्फत सरकारबाट बाहिर लागेको संकेत गरे । उनले लेखेका छन्, ‘मन्त्रीको हैसियतले ३२ महिनाको अवधिमा मन्त्रालयलाई नवजात अवस्थाबाट शिशु अवस्थामा पु¥याउन प्रत्यक्ष वा परोक्ष रुपमा सहयोग गर्नुहुने समआदरणीय महानुभावहरुप्रति ऋणि छु ।’
विकसित परिस्थिति बदलिएन भने मन्त्री रावल आज(आइतवारै) सरकारबाट बाहिरिने छन् । त्यसैको संकेत उनले फेसबुकमार्फत गरेका हुन् ।
स्रोतका अनुसार मुख्यमन्त्री महेन्द्रबहादुर शाही आजै मन्त्रिमण्डल हेरफेर गर्ने कसरतमा छन् । नेकपाका अध्यक्ष केपी शर्मा ओली निकट मानिएका दुई जना मन्त्रीलाई पदमुक्त गरेर अर्का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका तीन जनालाई मन्त्री बनाउन लागिएको स्रोतको दावी छ ।
रावलसँगै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिं बुढालाई बरखास्त गरेर चन्द्रबहादुर शाही, करबीर शाही र अमरबहादुर थापामध्येबाट नयाँ मन्त्री नियुक्त गर्ने तयारी मुख्यमन्त्री शाहीको छ । यद्यपि नाममा अझै पुर्ण सहमति भने जुटिसकेको छैन । नेपाल पक्षबाट मन्त्री हुन चाहनेको संख्या धेरै भएकाले पनि समस्या देखिएको हो ।
त्यसो त नेपाल समूहकै प्रकाश ज्वाला हाल सरकारका आर्थिक मामिला तथा योजनामन्त्री छन् । त्यसैले पनि अब थपिने मन्त्रिमण्डलमा दुई जना नेपाल समूह र एक जना पूर्व माओवादी खेमाबाटै बनाउने कसरत मुख्यमन्त्री शाहीले गरिरहेका छन् । त्यसमा पनि भौतिक पूर्वाधार विकास मन्त्रालय पूर्व माओवादीकै पक्षमा राख्न उनको प्रयास छ । यसअघिका मन्त्री खड्ग खत्रीलाई बरखास्त गरेपछि उक्त मन्त्रालय मुख्यमन्त्री शाहीले आफ्नै मातहत राखेका छन् ।
स्रोतका अनुसार अहिले मुख्यमन्त्री शाही सुर्खेतबाट निर्वाचित प्रदेशसभा सदस्य विन्दमान विष्टलाई भौतिक मन्त्रालयको जिम्मेवारी दिने तयारीमा छन् । विष्टलाई नेकपाका अर्का नेता शक्तिबहादुर बस्नेतको पनि साथ छ । मन्त्रिमण्डलमा बस्नेत र अर्का नेता जनार्दन शर्माको ‘शक्ति सन्तुलन’ मिलाउनका लागि पनि विष्टलाई मन्त्री बनाउन लागिएको बताइन्छ । अर्कोतर्फ विष्टलाई मन्त्री बनाउँदा प्रदेश राजधानी समेत रहेको सुर्खेत पनि समेटिन्छ ।
तर नेपाल समूहलाई तीन जना मन्त्री दिने पूर्वसहमति भएकाले थप समस्या देखिएको छ । यदी नेपाल समूहबाटै तीन जना मन्त्री बनाउँदा पद्मा खड्काको नाम पनि चर्चामा छ । सुर्खेतको पनि प्रतिनिधित्व हुने र महिला पनि भएकाले खड्कालाई मन्त्री बनाउनुपर्नेबारे पनि छलफल भएको छ । स्रोतका अनुसार खड्का र करबीर शाहीमध्ये कसलाई मन्त्रीमण्डलमा लैजाने भन्ने विषयमा नेपाल समूहमा सहमति जुट्न सकेको छैन ।
अर्कोतर्फ मुख्यमन्त्री शाही पक्षले भने नेपाल समूहका तीन जना मन्त्री थप्ने भए आर्थिक मामिला मन्त्री ज्वाला सरकारबाट बाहिरिनुपर्ने तर्क गरेको छ । ज्वाला सरकारमै रहेको खण्डमा भने नेपाल पक्षलाई थप दुई जना मात्र मन्त्री दिन शाही सहमत छन् ।
सरकारको नेतृत्व गरिरहेको नेकपा कर्णालीभित्र उत्पन्न कलहले अन्ततः मन्त्रिमण्डल हेरफेरको अवस्था निम्त्याएको हो । गत असोज २५ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्व नेकपा संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता भएसँगै विवाद उत्पन्न भएको थियो । केन्द्रीय नेतृत्वले पनि विवाद समाधान गर्न नसकेपछि प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन हुने संकेत देखिएको हो ।
सुरुवातमा पूर्व एमालेका १५ र पूर्व माओवादीतर्फका तीन जना प्रदेशसभा सदस्यले मुख्यमन्त्री एवम् नेकपा प्रदेशसभा संसदीय दलका नेता शाहीविरुद्ध अविस्वास प्रस्ताव दर्ता गराएका थिए । तर केन्द्रबाटै पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहबीच सहमति भएपछि ओली समूह एक्लीएको थियो । दाहाल र नेपाल समूहबीच मन्त्रीमण्डल हेरफेर गर्ने, ओली समूहका दुई जना मन्त्रीलाई हटाउने र नेपाल समूहका तीन जनालाई थप्ने सहमति भएको थियो । सोही सहमति अनुसार मुख्यमन्त्री शाहीले मन्त्रिमण्डल पुनर्गठन गर्न लागेका हुन् ।
ओलीको निर्देशनपछि रोकियो राजीनामा
मुख्यमन्त्री शाहीले ओली निकटका दुवै जना मन्त्रीलाई राजीनामा दिन संकेत गरिसकेका छन् । मुख्यमन्त्रीको संकेत पाएपछि मन्त्रीद्धय रावल र बुढाले राजीनामा दिने तयारी गरिसकेका थिए । तर पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफू निकट दुई मन्त्रीलाई राजीनामा नदिन निर्देशन दिएको बुझिएको छ । ओलीको निर्देशनपछि मन्त्रीहरुले राजीनामा दिएका छैनन् । यद्यपि रावलले फेसबुक स्टाटसमार्फत बाहिरिन लागेको संकेत गरिसकेका छन् ।
मन्त्रीद्धयले राजीनामा नदिएमा मुख्यमन्त्री शाहीले उनीहरुलाई बर्खास्त गरेर नयाँ मन्त्री थप्ने तयारी गरेको मुख्यमन्त्री सचिवाल स्रोतले जनाएको छ ।
प्रकाशित मितिः १६ कार्तिक २०७७, आईतवार ११:५६
साझा बिसौनी ।