अनुदानको चामलमा व्यापारीको रजाइँ
दुर्गम ठाउँमा पठाउने सरकारी अनुदानको चामल बीच बाटोमै बिक्री गर्ने गरिएको पाइएको छ । आपूर्तिकर्ताले मुगु पठाउनुपर्ने चामल अन्यत्र बिक्री गरेको पाइएको हो । सरकारले वर्षौंदेखि दुुर्गम ठाउँमा पठाउने चामलको ढुवानीमा अनुदान दिँदै आएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी प्रादेशिक कार्यालय सुर्खेतले ढुवानीकर्तासँग सम्झौता गरेर उनीहरूमार्फत चामल पठाउने गरिएको छ । तर अनुदानको उक्त चामल अन्तै बेचेर दुर्गममा कमसल चामल पठाउने गरिएको हो । कर्णालीका नागरिकले पाउनुपर्ने चामल अन्यत्रै बिक्री गर्न पठाइएपछि सुर्खेत प्रहरीले चामल ढुवानी गरिएको ट्रक नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
शुुक्रवार मुगु पठाउने चामल अन्तै पठाउन लागिएको पाइएको हो । शर्मा ढुवानी सेवा उत्तरगंगा सुर्खेतले मुगु पठाउने चामल भक्तपुर पठाउन लाग्दा बरामद गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । शर्मा ढुवानीका सञ्चालक वासुदेव शर्माले अनुदानको चामल बिक्रीका लागि अन्तै पठाउन लागेको खुलेको हो । उनले ना ६ ख ५७२१ नम्बरको ट्रकमा दुई सय ५० केजी भक्तपुरको अजय खाद्यान्न सप्लायर्सलाई पठाउन लागेको बेला प्रहरीले सुब्बाकुुनामा रोकेको थियो ।
गाउँका खाद्य डिपो र बिक्री केन्द्र रित्ता छन् । चाडपर्वमा समेत चामल नपाएर दुर्गमका नागरिक भोकै बस्नुपर्ने अवस्था छ । ती स्थानमा अनुदानको चामल समयमै पु¥याउन सकिएको छैन । अझै पनि मुगु, हुम्ला, जुम्ला, जाजरकोट र डोल्पामा वर्षेनी नागरिकहरूले खाद्यान्नको अभाव झेल्दै आएका छन् । चाडपर्व नजिकिदै जाँदा यी जिल्लामा खाद्यान्न अभाव भएका समाचारहरू आइरहेका थिए । तर, प्रादेशिक कार्यालयले अघिल्लो महिनादेखि मात्रै चामल ढुवानी गर्न थालेको थियो । कार्यालयले चालु आर्थिक वर्षमा ढुवानीकर्तासँग सम्झौता गरेर पाँच हजार नौँ सय ४१ क्वीण्टल चामल विभिन्न जिल्लाका लागि पठाइसकेको छ । शर्माले मुगुको कालै बिक्री केन्द्रका लागि एक हजार एक सय क्वीण्टल चामल असोज २१ गतेदेखि २६ गतेसम्म प्रादेशिक कार्यालयबाट लिएका हुन् । १५ दिनभित्र कालै पु¥याएर बिक्री गर्नुपर्ने सम्झौता भए पनि उनले अहिलेसम्म चामल पु¥याएका छैनन् । बिक्री केन्द्रमा चामल नभएपछि स्थानीयहरू बजारमा महङ्गोमा चामल किन्न बाध्य छन् ।
सम्झौताअनुसार कालैमा चालु आर्थिक वर्षमा तीन हजार क्वीण्टल चामल ढुवानी गर्नुुपर्ने हो । शर्माले सुरुवातमा एक हजार एक सय क्वीण्टल चामल लिए पनि अहिलेसम्म कालैमा चामल पु¥याएर बिक्री–वितरण गरेका छैनन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा कार्यालय मुगुका कर्मचारी पुुष्कर भामले बिक्री केन्द्रमा चामल नपुगेको जानकारी दिए । ‘सुर्खेतबाटै सम्झौता हुन्छ । चामल पठायो भने जानकारी आए पनि यहाँ आइपुगेको छैन,’ उनले भने । बिक्री केन्द्रमा आपूर्तिकर्ताले स्थानीय जनप्रतिनिधि र प्रहरीको रोहबरमा बिक्री गरेर मुुचुुल्का ल्याएपछि मात्रै ढुवानी भाडा पाउने उनले बताए ।
प्रादेशिक कार्यालयका प्रमुुख माधव मिश्रले एउटा गाडी पठाएको भन्ने मात्र भए पनि सुनेको बताए । स्थानीय प्रशासन र प्रहरीले चामल बरामद गरिसकेपछि अहिले अनुसन्धानकै क्रममा रहेकाले आफूहरूले अनुसन्धानमा सहयोग गरेको उनको भनाइ छ । आपूर्तिकर्ता शर्माले मुगुका अन्य डिपो र बिक्री केन्द्रसँगै कालीकोट र दैलेख चामल ढुवानी गर्ने जिम्मा लगेका छन् ।
सुर्खेतका प्रमुुख जिल्ला अधिकारी हिरालाल रेग्मीले अनुदानको चामल अन्तै पठाउन लागेको पाइएपछि नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बताए । ‘अहिले आपूर्तिकर्ता, चालक, सम्बन्धित सरोकारवालाहरूको बयान लिने काम भइरहेको छ,’ उनले भने । मुगु पठाउने चामल भक्तपुर पठाउन थालेपछि बिक्रीकै लागि हुुन सक्ने आशंकामा नियन्त्रणमा लिइएको प्रजिअ रेग्मीले जनाए ।
प्रकाशित मितिः १६ कार्तिक २०७७, आईतवार ०८:१०
साझा बिसौनी ।