‘म रुदै कहाँ जाऊँ’, हिंसा प्रभावित पुरुषको पीडा

हिंसा प्रभावित महिलाहरू न्याय कसरी पाउने भन्ने छलफलमा छन् । वीरेन्द्रनगर–९ स्थित नवज्योति केन्द्रको हलमा भेला भएका सबैजसो महिलाहरूका पीडा समान छन् । उमेर पनि लगभग उस्तै । श्रीमान्ले दुःख दिएको, सासु–ससुराबाट अपहेलित हुनु परेको, घरेलु हिंसामा परेको ।
२५÷३० जनाको संख्यामा रहेका उनीहरूको बीचमा एक जना पुरुष पनि छन् । घरेलु हिंसाबाट पीडित महिलाहरूको छलफलमा सहभागी एक्ला पुरुष हुन्, वीरेन्द्रनगर–४ का केशवबहादुर रोकाय ।

२९ वर्षीय उनी केही महिनायता हिंसामा परेका छन् । दुई सन्तानका बाबु रोकाय आफूमाथि श्रीमतीले हिंसा गरेको बताउँछन् । त्यसैले पनि उनी यस्ता न्यायिक बाटो पहिल्याउने छलफल र अन्तरक्रियामा सहभागी भइरहन्छन् । आफूजस्तै हिंसाले पिरोलिएका महिलाहरूसँग छलफल गर्नु उनको दैनिकी बनेको छ ।

६ कार्तिक, बिहीबार । तीन बजे दिउँसो । रोकाय नवज्योति केन्द्रको हलमा छन् । महिलाहरूको बीचमा बसेका उनलाई सुरूमा हिंसा पीडित होलान् भन्ने अड्कल कसैले लगाएका थिएनन् । छलफल चलिरहेको थियो, रोकाय एक्कासी उठे । सभाहलमा भेला भएका पीडित र अधिकारकर्मीसमक्ष हात जोडेर उभिए । श्रीमतीले दिएको पीडा असह्य भएको भन्दै एकाएक रुन थाले ।

उनले आफू त्यहाँ आउनुको कारण बताए, ‘सुन्नुस् म एक श्रीमती पीडित पुरुष हुँ । न्याय माग्न यहाँ आएको छु । मलाई हिंसाबाट छुटकरा मिल्ने बाटो देखाइदिनु प¥यो ।’ यति भन्दै गर्दा उनको गला अवरोध भयो । एकछिन रोकिए, हलमा सन्नाटा छायो । सबैको ध्यान उनीतिरै थियो । रोकाय सम्हालिएर फेरि बोल्न थाले, ‘विवाह भएको १३ वर्ष भयो । उसले जे गल्ती गरे पनि दोष मलाई नै देखाइरही । मैले छोरा–छोरीको मुख हेरेँ, सहेरै बसेँ ।’ उनकै शब्दमा अति भएपछि रोकायले घर छोडे । घरबाट निस्किएर न्यायका लागि हिँडेको १० महिना भएछ । उनले त्यसपछि पनि चयनले बस्न पाएका छैनन् । ‘तँ मर, बारम्बार धम्की दिन श्रीमतीको फोन आउँछ,’ रोकायले सुनाए ।

‘महिलाका लागि न्याय दिलाउने थुप्रै निकाय छन् । सबैले कुरा सुन्छन् । रोइँदिए पुग्छ,’ उनले अधिकारकर्मीहरूसँग आँखा जुधाएर उत्तर खोजे, हामी हिंसापीडित पुरुष रुदै कहाँ जाने ?’

छोरा मान्छे भएर श्रीमतीबाट पीडित भए भन्छ ! छरछिमेकी र आफन्तले नपत्याउने हुँदा वर्षौंसम्म पीडा सहेर बसेको उनले बताए । पेन्टिङ्गको काम गर्दै आएका रोकाय एक वर्षयता टाउकोको रोगले ग्रसित छन् । शारीरिक र मानसिक दुवै अवस्थाले आफू थलिएको उनी बताउँछन् ।

घरेलु हिंसा खेपिरहेका रोकाय प्रतिनिधि पात्र हुन् । अधिकांश परिवारमा महिला होस् वा पुरुष कुनै न कुनै प्रकारको हिंसामा छन् । सामाजिक मूल्य–मान्यता र सोचका कारण पुरुषको तुलनामा महिलाहरू नै बढी घरेलु हिंसामा छन् ।

पछिल्लो समय महिला मात्रै नभएर पुरुषसमेत हिंसा परेका उजुरीहरू उल्लेख्य मात्रमा आउन थालेको प्रहरीको तथ्याङ्क छ । जनचेतना, कानुनी रूपमा सहजता लगायतका कारण हिंसा सहनेभन्दा न्याय खोज्नेहरूको संख्या बढेको हो । महिलाबाट पीडित भएको खुलेर भन्न नचाहने पुरुषहरूले पनि अहिले आफू अन्यायमा परेको भन्दै प्रहरी र अदालतसम्म पुग्ने गरेका हुन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रकी प्रमुख प्रहरी सहायक निरीक्षक डिला विकले प्रहरीमा आउने घरेलु हिंसामध्येका ३० प्रतिशत उजुरी पुरुष पीडितका आउने गरेको बताइन् । ‘महिलाहरू बढी हिंसामा पर्नु भएको छ,’ उनले भनिन्, ‘पछिल्लो समय पुरुषहरूसमेत हिंसामा परेका थुप्रै घटना छन् ।’ प्रहरीमा आउने उजुरीलाई नै आधार मान्दा पनि पारिवारिक हिंसा, अन्याय र अत्याचारबाट प्रताडित पुरुषहरूको संख्या पनि ठूलै रहेको पुष्टि गर्छ ।

अधिकांश महिला तथा पुरुष घरेलु हिंसाको सिकार भए पनि इज्जत जाने डरले कानुनी बाटो अपनाउन पछि हट्ने गरेको अधिवक्ता गीता कोइरालाको अनुभव छ । उनी भन्छिन्, ‘घरेलु हिंसामा पर्ने पुरुषहरूको संख्या पनि बढ्दो छ ।’ महिला हिंसासँगै पुरुष हिंसा पनि बढिरहेको विभिन्न तथ्याङ्कहरूले देखाए पनि पुरुषहरू अझै खुलेर भन्न सक्ने अवस्थामा नरहेको अधिकारकर्मीहरू बताउँछन् । घरेलु हिंसा न्यूनीकरणका लागि पैरवी गर्दै आएका अधिकारकर्मीहरूका अनुसार परिवार, समाज र साथी–भाइले के भन्लान् भन्ने संकोचले पुरुषहरू खुल्न चाहदैनन् । उनीहरूले चुपचाप हिंसा सहने गरेका हुन् । पुरुष हिंसालाई बढवा दिनमा पुरुषमा रहेको पुरुषवादी सोचले नै हावी भएको उनीहरूको तर्क छ ।

कानुनले पनि महिला हिंसालाई बढी महŒव दिएकाले आफूहरू हिंसा सहन बाध्य भएको पीडित पुरुषहरूले बताउने गरेका छन् । नयाँ मुलुकी ऐनले महिलालाई मात्र नभएर पुरुषलाई पनि सम्बन्धविच्छेदको हक प्रदान गरेको छ । जसका कारण न्यायका लागि प्रहरी र अदालतसम्म पुग्ने पुरुषहरू पनि बढेका हुन् । लैंङ्गिक हिसाबले निसन्देह महिला हिंसाको तथ्यांक बढी छ, तर पुरुषहरू पनि उत्तिकै चपेटामा छन् जति घरेलु हिंसामा महिलाहरू छन् । कानुनी जटिलता, सोच, सामाजिक संरचना, बढ्दो महत्वाकांक्षा जस्ता समस्याले हिंसालाई बढवा दिएको छ । घरेलु हिंसाले महिलालाई मात्रै होइन, पुरुषलाई पनि उत्तिकै पिरोलेको छ ।

प्रकाशित मितिः   १६ कार्तिक २०७७, आईतवार ०८:१२