दसैँको शुभकामना
बडादसैँ २०७७ को आज सप्तमी तिथि, अर्थात् फूलपाती । नेपालीहरूको महान चाड दसैँ सबैको घर–आँगनमा प्रवेश गरिसकेको छ । यतिबेलाको असहज परिस्थितिका बाबजुद पनि देश–विदेशमा रहेकाहरू दसैँ मनाउनकै लागि गाउँघर फर्किएका छन् । यो पटक अघिल्ला वर्षहरू जस्तो सहज वातावरण छैन । कोरोना संक्रमणले महामारी निम्तिएको छ । भेटघाट र जमघटमा समेत त्रसित हुनुपरेको छ । वर्ष दिनसम्म छुटिएका आफन्तबीच भेटघाट र मान्यजनबाट आशीर्वचन पाउनु यो पर्वको महŒवपूर्ण पक्ष हो । तर, कोरोना संक्रमणले सिर्जित अवस्थाका कारण यो वर्षका चाडबाडहरूमा रौनकता हराएको छ । जो–कोहीलाई रमाइलोभन्दा पनि ज्यान कसरी जोगाउने भन्ने पिरलो छ । त्यसैले पनि यसपालि दसैँ खल्लो हुनेछ । अधिकांश नेपालीले हर्षोल्लास साथ दसैँ मनाउन पाउने छैनन् । चाडपर्व हरेक वर्ष आउँछन् । ज्यानकै जोखिम मोलेर मनाउनु पर्छ भन्ने पनि छैन । पहिला आफू जोगिनु मुख्य कुरा हो । स्वास्थ्य सावधानी अपनाएर आफू, परिवार र राष्ट्रलाई स्वस्थ राख्नु अहिलेको आवश्यकता हो । हरेक नागरिकको कर्तव्य पनि हो ।
नेपाली समाज मौलिक संस्कृति र परम्परामा विशिष्ट छ । चाडबाड, धर्म, रीतिरिवाज र लोकपरम्परा नै हाम्रा संस्कृतिका पहिचान हुन् । दसैँ पर्वले धार्मिक महŒव मात्र बोकेको छैन । यसले आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक क्षेत्रमा महŒवपूर्ण योगदान पनि पु¥याएको छ । दसैँ–तिहार जस्ता ठूला चाडपर्वमा आर्थिक क्षेत्र फस्टाउने गरेको पाइन्छ । यहीँ समयमा सहर–बजारमा धेरै र ठूल्ठूला आर्थिक कारोबार हुन्छन् । गाउँदेखि सहरसम्म आर्थिक गतिविधि चलायमान रहन्छ । यसकारण आर्थिक हिसाबले दसैँ एउटा उत्तम पर्व मानिन्छ । त्यसैगरी यसको धार्मिक महŒव पनि विशिष्ट रूपको मानिन्छ । दसैँलाई असत्यमाथि सत्यले विजय प्राप्त गरेको पर्वका रूपमा हेरिन्छ । सामाजिक हिसाबले पनि दसैँ उत्कृष्ट चाड हो । यसले समाजलाई एक आपसमा मिलाउने काम गरेको छ । नैतिक शिक्षा दिएको छ र सबैसँग घुलमिल गर्दै अगाडि बढ्न समाजलाई प्रेरणा दिएको छ । त्यही कारणले यो कुनै एक समूहको चाड नभइ सबै नेपालीको चाडका रूपमा स्थापित भएको हो ।
दसैँको महŒव र परम्परालाई बिर्सिन सकिदैन । बिर्सन मिल्दैन पनि । तर यसपटक भने सचेत बनेर मात्रै चाड मनाउनु पर्नेछ । बाक्लो जमघट गर्नु जोखिम छ । स्वास्थ्य सावधानी अपनाउँदै भौतिक दूरी राखेर दसैँ मनाउनु पर्ने अहिलेको बाध्यता हो । सकभर घरबाहिर ननिस्कौं, सावधानी अपनाऊँ, कोरोना नियन्त्रणमा हात्तेमालो गरौँ । आफ्नो गच्छेअनुसार जस्तो सकिन्छ, त्यसैमा सन्तोष मानेर खुशीसाथ दसैँ मनाऔँ । अहिलेको कोरोना महामारीबाट मुलुक छिट्टै मुक्त होस्, कर्णाली प्रदेशमा देखिएको राजनीतिक संकट टरेर जाओस्, आशा गरौं, आपसी सद्भावको वातावरण बन्दै जानेछ । समग्र विकास र समृद्धिको मार्गमा जाओस् कर्णाली । हाम्रो तर्फबाट बडा दसैँ तथा विजयादशमीको हार्दिक मंगलमय शुभकामना ।
प्रकाशित मितिः ७ कार्तिक २०७७, शुक्रबार ०७:५३
साझा बिसौनी ।