कक्षा १२ को परीक्षा मंसिर ९ देखि

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन गर्ने भएको छ । बुधवार एक सूचना जारी गर्दै बोर्डले परीक्षा सञ्चालनबारे जानकारी गराएको हो । यस पटकको परीक्षामा सम्बन्धित विद्यालयमा उपस्थित हुन नसकेका विद्यार्थीका लागि नजिकैको परीक्षा केन्द्रमा परीक्षा दिन सक्ने व्यवस्थासहित परीक्षा तालिका सार्वजनिक गरिएको छ ।

बोर्डका प्रमुख चन्द्रमणि पौडेलका अनुसार परीक्षा आधा घण्टादेखि डेढ घण्टासम्मको मात्रै हुनेछ । यस्तै, कक्षा ११ को ४० प्रतिशत मूल्याङ्कन, १२ को ४० प्रतिशत लिखित परीक्षा र विद्यालयलले लिने आन्तरिक मूल्याङ्कनको २० प्रतिशतका आधारमा मूल्याङ्कन गरिनेछ । ‘परीक्षार्थीलाई आफ्नै विद्यालय वा नजिकको विद्यालयमा पुगेर परीक्षा दिनसक्ने व्यवस्था गरिएको पौडेलले बताए । केही समय अघि ४÷५ हजार विद्यार्थी पढिरहेको विद्यालयभन्दा टाढा थिए,’ पौडेलले भने, ‘संख्या केही घट्न पनि सक्छ, उनीहरूलाई नजिकको विद्यालयमा परीक्षा दिन सक्ने व्यवस्था गरेका छौं ।’

यस्तै, बोर्डले प्रवेश पत्र भने अनिवार्य हुनुपर्ने जनाएको छ । समयसीमा र परीक्षा मोडालिटी परिवर्तन गरेको बोर्डले प्रश्नपत्रको स्वरूप उस्तै हुने तर छोटा उत्तर दिनुपर्ने खालको हुने बताएको छ । कक्षा १२ को परीक्षा स्थगित भएको आठ महिना पुगिसकेको छ । कोरोना महामारीका कारण स्थगित भएको परीक्षामा चार लाख ३२ हजार विद्यार्थी सहभागी हुँदैछन् ।

प्रकाशित मितिः   ६ कार्तिक २०७७, बिहीबार १२:५८