विपन्नलाई दसैँ टार्नै सकस
ठूलो चाड अर्थात् बडादसैँ भित्रिएको छ । विगतका वर्षहरूमा हर्षोल्लासका साथ मनाइने दसैँ यस पटक भने ‘बडा’ हुन सकेन । कोरोना भाइरस ‐कोभिड–१९) को महामारीले हिन्दु नेपालीहरूको महान चाडको उत्साह हरायो । रौनकता खोसियो ।
गाउँमा पिङ हालिएका छैनन् । सहर बजारमा चाडपर्वको कुनै गुञ्जायस् छैन । विपन्न परिवारलाई छाक टार्ने चिन्ता छ । जो–कोहीलाई संक्रमणको त्रास छ । एक अर्कालाई भेट्न डराउनुपर्ने अवस्था छ । भेटघाट र जमघटहरूमा सचेत हुनुपरेको छ । नयाँ लुगा लगाउने र मिठो मसिनो खाने, माइती–मावली जाने, घुमफिर गर्ने, जमघट गरेर रमाउने चाड हो दसैँ । यही मान्यता र संस्कार रहिआएको छ । तर, यस पटकको दसैंं विगतका वर्षभन्दा भिन्न भइदियो । कोरोना कहरले सबैको दैनिकी र जीवनशैलीमै बदलाब ल्याइदियो ।
कोभिड संक्रमण दर दिन प्रतिदिन बढ्दोे छ । यस्तो अवस्थामा सरकारले समेत जमघट नगर्न र जहाँ हो त्यही चाडपर्व मनाउन भनेको छ । कामको शिलशिलामा घर बाहिर रहेकाहरू अधिकांश यो दसैँमा घर फर्किने मुडमा छैनन् । गाउँ घरमा पुगेकाहरू पनि कुनै रौनक नभएको बताउँछन् । उनीहरू भन्छन्, ‘यस पटक दसैँ खल्लो भयो ।’ यतिबेला बजारका पसलहरू किनमेल गर्नेको भिडले खचाखच हुन्थे । त्यस्ता दृश्य यस पटक कमै देखिए । चाडपर्वमा समेत व्यापार उत्साहजनक नभएको व्यवसायीहरू बताउँछन् । अहिले सबैको चिन्ता दसैँ मनाउने भन्दा पनि कोरोना संक्रमणबाट कसरी बच्ने भन्ने छ ।
वीरेन्द्रनगर नगरपालिका–१५ रतुका बीर्मा वलीले अघिल्लो वर्ष जस्तो रौनक यसपालि नभएको बताइन् । ‘कोरोनाको डरले कतै जाने अवस्था छैन,’ उनले भनिन् ‘गाउँघरमा समेत रमाइलो छैन ।’ संक्रमण सर्ने डरले मान्छेहरू घरमै बस्ने हुँदा पनि गाउँमा पहिलेको जस्तो चहलपहल नदेखिएको उनले बताइन् । आफूहरूले धेरै जमघट नगरी दसैँ मनाउने तयारी गरेको वली बताउँछिन् । ‘आफन्तको घरमा पनि नजाने, आफन्तलाई पनि नबोलाउने र घरभित्रै परिवारसँग मनाउने योजना छ,’ उनले भनिन् ।
गाउँमा मात्र होइन यो पटक सहर बजार क्षेत्रमा पनि दसैँ आएको जस्तो भएको छैन । वीरेन्द्रनगर–४ भैरबस्थानका दानबहादुर सिंहले चाडपर्व आएको जस्तै नलागेको बताए । उनका छोरा–छोरी पढाइ र जागिरको शिलशिलामा जिल्ला बाहिर छन् । हिँड्डूल गर्दा जोखिम हुने हुँदा उनीहरूलाई उति दसैँ मनाउन भनेको उनले बताए । ‘केटाकेटी बाहिर छन् । नआउन भनिसकेको छु । बाँचे यस्ता दसैँ प्रत्येक साल आइहाल्छन्,’ सिंहले भने । दसैँ टार्न विपन्न परिवारलाई झनै सकस छ । कमाईका लागि भारत गएकाहरू खाली हात फर्किएका छन् । यतै ज्याला मजदुरी गर्नेहरू पनि बेरोजगार छन् । सात÷आठ महिनायता विपन्न परिवारलाई घर खर्च चलाउन हम्मेहम्मे परेको छ । ‘दसैँ आयो । नयाँ सामान किनमेल गर्नु त परको कुरा घरमा खाने गाँस समेत छैन,’ वीरेन्द्रनगर–११ का बिर्खबहादुर विकले भने । उनी ज्यालामजदुरी गरी घर खर्च चलाउँथे । लामो समयदेखि गर्नलाई काम पाएका छैन । आम्दानीको अरू विकल्प पनि छैन । ‘ पाँच जनाको परिवार छ । चाडबाड कसरी टार्ने होला खै । चिन्ताले सताएको छ,’ उनी भन्छन् ।
कर्णालीको अधिकांश जनसंख्या गरिबीको रेखामुनि छ । यहाँका नागरिक भारतका सहरहरूमा रोजगारी गरेर परिवारको गुजरा चलाउने गर्छन् । चाडपर्वका बेला दुर्गममा चामल समेत पुग्दैन । गरिबीले सधैं लखेटिएका कर्णालीका नागरिकलाई यस पटक कोरोनाले थप पीडा दिएको छ । विपन्न नागरिकलाई चाडपर्वमा पनि रमाउने अवस्था छैन ।
प्रकाशित मितिः ६ कार्तिक २०७७, बिहीबार १३:००
साझा बिसौनी ।