बजारमा म्याद गुज्रिएका सामान

चाडपर्व नजिकिँदै गएपछि अहिले सबैतिर बजार अनुगमनलाई तीव्रता दिइएको छ । जिल्ला प्रशासन कार्यालय र स्थानीय तहहरूले बजार अनुगमनलाई जोड दिएका हुन् । बजारमा म्याद गुज्रिएका सामग्री बिक्री भइरहेको र महंगी बढेको भन्दै उपभोक्ताको गुनासो बढेपछि अनुगमनलाई तीव्रता दिइएको हो ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले स्थानीय तहसँग समन्वय गरेर जिल्लाका ग्रामीण भेगमा समेत अनुगमन गरेको छ । प्रशासन नेतृत्वमा गएको अनुगमन टोलीले उपभोगको म्याद सकिएका खाद्य वस्तु बिक्री भइरहेको फेला पारेको छ । प्रमुुख जिल्ला अधिकारी हिरालाल रेग्मीले म्याद गुज्रिएका सामग्री गाउँ पठाएर बिक्री वितरण भइरहेको गुनासो आएपछि प्रशासनकै नेतृत्वमा अनुगमन गरिएको जनाए । केही दिन अघि सुर्खेतको पश्चिम बावियाचौर, सालकोटलगायतको बजार अनुगमन गरिएको थियो । अनुगमनको क्रममा म्याद सकिएका सामान बिक्री हुँदै आएको पाइएको प्रजिअ रेग्मीले बताए । खाद्यन्न पसल, फलफूल, तरकारी, कपडा, भाडा पसलहरूको अनुगमन गरिरहेको उनले बताए । व्यापारीहरूले वीरेन्द्रनगरजस्ता ठूला बजारबाट म्याद सकिएका खाद्य सामग्री गाउँ पठाएर बेच्ने गरेका हुन् ।

‘प्रयोग गर्ने म्याद सकिएका खाद्य वस्तु स्वास्थ्यका लागि हानीकार हुन् । यस्ता सामान गाउँतिर पठाएर बिक्री गरिएको पाइयो,’ प्रजिअ रेग्मीले भने । स्थानीय व्यापारीहरूले खाद्य तथा दैनिक उपभोग्य सामान महंगोमा बिक्री गर्दै आएको पनि भेटिएको उनले बताए । जिल्ला प्रशासन कार्यालय सुर्खेतले बजार अनुगमनलाई प्रभावकारी गराउन तीन जना प्रशासकीय अधिकृतहरूको संयोजत्वमा तीन वटा समिति बनाएको छ । उपभोक्ताको स्वास्थ्यमा खेलबाड गरी म्याद सकिएका र महंगोमा सामान बेच्ने व्यापारीलाई आइन्दा यसो गरे कारबाही गरिने चेतावनी दिइएको अनुगमन टोलीले जनाएको छ । स्थानीय सरकार सञ्चालन ऐनले बजार व्यवस्थापन र अनुगमनको जिम्मेवारी स्थानीय तहलाई दिएको छ । तर, नियमित अनुगमन नहुँदा बजारमा बेथिति बढ्दो छ ।

लकडाउन भएयता झन् म्याद नाघेका उपभोग्य वस्तु ठूला बजारदेखि ग्रामीण क्षेत्रका पसलहरूसम्म पुगेका छन् । अनुगमन र कारबाही प्रभावकारी नहुँदा व्यापारीहरूले बजारमा छ्यापछ्याप्ती अखाद्य वस्तु राखेर बेच्ने गरेका हुन् । खाद्य वस्तुको म्याद प्रायः ६ देखि १२ महिनासम्म हुन्छ । उत्पादन मिति तथा ब्याच नराखेर वा नयाँ लेबल लगाएरसमेत सामान बेचबिखन गर्ने गरिएको पाइएको अनुगमन टोलीले जनाएको छ ।

प्रकाशित मितिः   ३० आश्विन २०७७, शुक्रबार ११:५५