आफ्नैबाट जघन्य अपराध

दुई वर्षअघि सिम्ता गाउँपालिका सुर्खेतकी १३ वर्षीय बालिका बलात्कृत भइन् । उनलाई आफ्नै बुवाले जबरजस्ती करणी गरेका थिए । जन्मदाताबाटै ती किशोरीमाथि जघन्य अपराध भयो । सोच्नै नसकिने घटना भएपछि २०७४ सालमा बालिकाकी आमाले अदालतमा श्रीमान्विरुद्ध छोरीलाई जबरजस्ती करणी गरेको मुद्दा हालिन् । घरमा बसेर मुद्दा लड्न समस्या हुने भएपछि उनले छोरीलाई माइतीमा राखेर मुद्दा लडेकी थिइन् । अहिले उनका श्रीमान् (बालिकाका बुबा) २० वर्षका लागि कारागार चलान भएका छन् ।

वीरेन्द्रननगरकी २४ वर्षीय एक युवतीले आफ्नै ससुराले बलात्कार गर्न खोजेको भन्दै प्रहरीमा उजुरी दिइन् । जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भयो । ससुराले जबरजस्ती करणीको प्रयास गरेपछि गुहार माग्दा छिमेकीले उनलाई करणी हुनबाट बचाएका थिए । लामो समयसम्म सुसुरालगायत घरपरिवारबाटै मुद्दा दर्ता रोक्न दबाब आएपछि उनले केही समय मुद्दा दर्ता गरिनन् । सम्पत्तिको लोभ देखाएर मुद्दा दर्तामा अवरोध भए पनि न्यायका लागि उनले सुसुराविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरिन् । ससुराले कानुन बमोजिमको कारबाही भोगे ।

महिला तथा बालिकाहरू आफन्तबाटै असुरक्षित छन् भन्ने यी केही उदाहरण मात्र हुन् । उनीहरू आफूले आदर गरिरहेका र भरोसा मानिरहेका अभिभावक, आफन्त, समाजका अगुवाहरूबाटै असुरक्षित छन् । आफ्नै बुवा, ससुरा र दाजुभाइबाटै अवोध बालिका तथा महिलाहरू असुरक्षित बनेको दैनिकजसो भइरहेका जघन्य अपराधका घटनाले देखाएका छन् । पछिल्लो समय जबरजस्ती करणीका घटनामा समेत बढोत्तरी भएको प्रहरीको तथ्याङ्क छ ।

कर्णाली प्रदेश प्रहरीको तथ्याङ्क भन्छ, ‘बलात्कारका झण्डै ७० प्रतिशत घटना बालिकामाथि हुने गरेका छन् ।’ गएको आर्थिक वर्ष २०७६÷७७ मा कर्णाली प्रदेशका दश वटै जिल्लामा जबरजस्ती करणी र जबरजस्ती करणी उद्योगका गरी एक सय ९४ घटना दर्ता भएका छन् । ती आपराधिक घटनामा ७७ जना बालिका र एक सय १७ जना १८ वर्षमाथिका महिला निशानामा परेका छन् । उक्त तथ्याङ्क अनुसार जबरजस्ती करणीमा दर्ता भएका एक सय ४१ घटनामध्ये ५९ वटा घटना बालिकाहरूमाथि भएका छन् ।

त्यस्तै चालु आर्थिक वर्ष २०७७÷७८ को असोज २३ गतेसम्म प्रदेशभर जबरजस्ती करणी, जबरजस्ती करणी उद्योग तथा जबरजस्ती करणी कर्तव्य ज्यानका गरी ५२ वटा घटना दर्ता भएका छन् । यी घटना २४ जना बालिका र २८ जना महिलामाथि भएका घटना हुन् । दुई आर्थिक वर्षको प्रहरी तथ्याङ्क हेर्दा दुई सय ४६ घटनामध्ये एक सय एक घटना बालिकामाथि भएका छन् । १४ महिनाको यो अवधिमा प्रदेशभर सबैभन्दा बढी घटना प्रदेश राजधानी सुर्खेतमा भएका छन् । सुर्खेतमा मात्रै एक सय तीन वटा घटना घटेका हुन् । जसमा जबरजस्ती करणीका ७४, जबरजस्ती करणी उद्योगका २८ र जबरजस्ती करणीपछि ज्यान मारेको एक वटा घटना दर्ता भएको प्रहरीले जनाएको छ ।

जबरजस्ती करणीका अधिकांश घटना आफन्तबाटै हुने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक ‐एसपी) राजेन्द्रप्रसाद भट्टले बताए । उनका अनुसार घटना भएपछि ढिलो गरी प्रहरीसम्म आउने गरेको छन् । ‘यस्ता घटनामा आर्थिक प्रलोभन र त्रास दिएर प्रभावमा पार्ने गरेको पाइन्छ,’ उनले भने ‘घटना भएको धेरै दिनपछि मात्रै प्रहरीमा आउनुले आर्थिक चलखेल हुने गरेको प्रष्ट हुन्छ ।’ बलात्कारका घटनामा परिवारकै सदस्य, आफन्त छिमेकी वा विश्वासिलो व्यक्तिनै संलग्न रहने गरेको पाइएको उनी बताउँछन् ।

अधिवक्ता गीता कोइरालाले अदालतसम्म आउने अधिकांश जबरजस्ती करणीका घटनाहरू आफन्तले घटाएका पाइएको बताइन् । ‘बुवा, सुसुरा, काकालगायत घरभित्रकै व्यक्तिबाट करणी भएको थुप्रै घटना छन्,’ उनले भनिन् ‘घटनालाई प्रहरी तथा अदालतसम्म नल्याउनको लागि पीडकबाट ठूलो दबाबसमेत हुने गरेको छ ।’ बलात्कृत बालिका तथा महिलाहरूको संवेदनशीलतालाई बुझ्ने सामाजिक संरचनाको अभावमा पनि उनीहरू थप पीडित हुने गरेको अधिवक्ता कोइराला बताउँछिन् । शारीरिक तथा मानसिक रूपमा परिपक्व नभएका बालिकाहरूलाई बलात्कारको चोटभन्दा त्यसपछि आइपर्ने अनेकन अप्ठ्यारासँग जुध्न निकै गाह्रो हुने उनको भनाइ छ ।

विभिन्न लोभ, करकाप र परिबन्दमा पारेर महिलामाथि भइरहेका यस्ता जघन्य अपराधका घटना समाजमा व्याप्त छन् । उनीहरूलाई न्यायिक उपचारका निम्ति पनि सजिलो छैन । जसका कारण सबै घटना प्रहरी र अदालसम्म आउँदैनन् । यसले गर्दा अपराधीको मनोबलसमेत बढ्ने गरेको पाइन्छ । यस्ता घटनामा पीडित सधैँ कमजोर हुने र पीडकलाई समाजले संरक्षण गर्ने हुँदा बलात्कारका घटना न्यूनीकरणमा चुनौती हुने गरेको छ ।

प्रकाशित मितिः   ३० आश्विन २०७७, शुक्रबार ११:५३