अभिभावकलाई अवसर

कोरोना कहरले शैक्षिक संस्था बन्द छन् । विद्यार्थीहरूले पढ्न पाएका छैनन् । लामो समयदेखि शैक्षिक संस्था बन्द हुँदा पठनपाठन प्रभावित हुँदै आएको छ । विद्यालय पूर्ण रुरूमा सञ्चालनको सुनिश्चितता अझैँ छैन । यद्यपि यो संकटको समयमा बालबालिकाहरूको शिक्षण सिकाइलाई निरन्तरता दिन वैकल्पिक विधिको प्रयोग पनि नभएको होइन । तर वैकल्पिक विधि सबैको पहुँचमा पुग्न सकेको छैन । वैकल्पिक माध्यम रेडियो, टेलिभिजन र अनलाइनबाट विद्यार्थीहरूको सिकाइ सहजीकरण भइरहेका छन् । यो माध्यममा सबै विद्यार्थी भने सहभागी हुन पाएका छैनन् । सरकारले तोकेका माध्यमको पहँुचमा सबै विद्यार्थी छैनन् । विद्यालयहरूले सञ्चालन गरिरहेका वैकल्पिक कक्षामा केही विद्यालय तहका विद्यार्थीले सहभागिता जनाएर सिक्ने अवसर पाए पनि प्रारम्भिक बाल विकास उमेर समूहका सबैजसो बालबालिका भने सिकाइ सहजीकरण प्रक्रियाबाट वञ्चित छन् ।

सरकारले यतिबेला वैकल्पिक माध्यमबाट विद्यार्थीहरूलाई शिक्षण सिकाइमा सहजीकरण गर्ने नीति लिएको छ । कोरोना भाइरस (कोभिड–१९) ले उत्पन्न जटिल परिस्थितिका कारण विद्यालयमा पठनपाठन सम्भव नभएपछि वैकल्पिक सिकाइलाई प्रोत्साहन गरिएको हो । केही विद्यालयले अनलाइन कक्षा सञ्चालन गरेका छन् । तर अनलाइन कक्षा माथिल्लो तहका विद्यार्थीलाई सहज भए पनि प्रारम्भिक कक्षाका बालबालिकालाई सहज छैन । जसले गर्दा सिकाइ प्रक्रियामा सहजीकरण गर्न चुनौती छ । प्रारम्भिक बाल शिक्षा दिँदै आएका बाल विकास केन्द्र र निजी क्षेत्रबाट सञ्चालित मन्टेश्वरीहरूमा शैक्षिक सामग्रीमार्फत विशेष प्रारम्भिक कक्षा हुँदै आएका थिए । खेल्दै सिक्दै शिक्षण विधिले बालबालिकालाई सिकाइ प्रक्रियामा सहज भएको थियो । ठूला बालबालिकाले अनलाइन, टेलिभिजन र रेडियोबाट पढिहाल्ने भए पनि साना उमेरका बालबालिकालाई उक्त विधिबाट सिकाइ प्रक्रियामा सहभागी गराउन सम्भव छैन । त्यसो त प्रदेशका अधिकांश क्षेत्रमा अझैँ पनि इन्टरनेट, टेलिभिजनजस्ता माध्यमको पहुँच पुगेको छैन । स्व–अध्ययनका सामग्रीको पहुँचमा समेत सबै विद्यार्थी छैनन् । त्यसैले पनि चुनौती थपिएको छ । बालबालिकाहरूको सिकाइ प्रक्रिया प्रभावित बनेको छ ।

प्रारम्भिक कक्षामा पढाइ बलियो हुनु भनेको विद्यालय तहका लागि राम्रो जग हो । तर लामो समयदेखि उनीहरूको सिकाइ प्रक्रिया रोकिँदा अभिभावकहरू चिन्तित बनेका छन् भने सरकारी तथा निजी बाल विकास केन्द्रहरूले समेत सिकाइ प्रक्रियालाई सहज रूपमा अघि बढाउन सकिरहेका छैनन् । बाल विकासको क्षेत्रमा क्रियाशील कतिपय व्यक्ति र संस्थाहरूले यतिबेला बालबालिकालाई घरमै सिकाउने अवसर आएको भन्दै केही समय बाल विकास केन्द्रहरू बन्द रहँदैमा उनीहरूको सिकाइ प्रक्रियामा असर नपर्ने तर्क गरेका छन् । बालबालिकालाई घरमै सिकाइको वातावरण सहज गराउन अभिभावको महत्वपूर्ण भूूमिका रहन्छ । प्रारम्भिक बाल विकास उमेरका बालबालिकालाई पढाउनेभन्दा पनि उनीहरू स्वास्थ्यलगायत सबै पक्षमा सक्रिय हुनुपर्ने उमेर भएकाले त्यसका लागि यस्तो समयमा अभिभावककै भूमिका महत्वपूर्ण हुन्छ । अभिभावकले पनि यो समयलाई अवसरको रूपमा लिएर बालबालिकाको विकासका लागि सहज वातावरण बनाउनु पर्छ । यो एउटा अभिभावकका लागि महत्वपूर्ण अवसर हो ।

प्रकाशित मितिः   ३० आश्विन २०७७, शुक्रबार ११:५२