रोजगारी गुमेपछि तरकारी खेती

वीरेन्द्रनगर नगरपालिका–१ की कमला विक दैनिक मजदुरी गरेर घरखर्च चलाउँथिन् । कोरोनाका कारण देशभर लकडाउन भएपछि लामो समयसम्म उनी घरमै बस्नुप¥यो । लकडाउन खुले पनि ज्यालामजदुरीको काम पाइएन । काम पाइहाले पनि कोरोना संक्रमणको जोखिम उत्तिकै थियो । उनले यस्तो बेला आफ्नै बारीमा तरकारी खेती गर्ने सोच बनाइन् । कमला यतिबेला तरकारी खेतीमा जुटेकी छन् ।

वीरेन्द्रनगर–१ कै खगिसरा सुनारले पनि अहिले तरकारी खेती गर्न थालेकी छन् । उनको चार जनाको परिवार छ । कोरोनाको जोखिम बढेपछि भारतमा रहेका उनका श्रीमान् घर फर्किए । ‘अहिले भनेको समयमा काम पाइँदैन । परिवार सबै रोजगारीविहीन भएपछि टमाटर खेती सुरू गरेक हौं,’ खगिसराले भनिन् ।

अन्तरनिर्भर समाज, सयुंक्त राष्ट्र संघीय कार्यक्रम (युएनडीपी) र वीरेन्द्रनगर नगरपालिकाको साझेदारीमा कोरोनाका कारण रोजगारी गुमाएका व्यक्ति तथा परिवारलाई स्वरोजगार बनाउने उद्देश्यले कोभिड–१९ रेस्पोन्स र सामाजिक तथा आर्थिक रिकभरी परियोजना लागू गरिएको छ । सोही कार्यक्रमको आर्थिक तथा प्राविधि सहयोगमा कमला र खगिसराले तरकारी खेती सुरू गरेका हुन् । कार्यक्रममार्फत कोरोनाका कारण रोजगारी गुमाएका व्यक्ति, विपन्न परिवार र दलित समुदायलाई प्राथमिकता दिएर स्वरोजगार गराउन थालिएको हो । वडा नं. १ मा १९ परिवारले टनेल बनाएर तरकारी खेती सुरू गरेका छन् । जग्गा नहुनेका लागि वडा कार्यालयले जग्गा भाडामा लिएर उपलब्ध गराउने व्यवस्था गरेको छ । उक्त कार्यक्रम वीरेन्द्रनगरका चार वटा वडामा सञ्चालन भएको छ । वडा नं. १, १०, ११ र १२ का विपन्न तथा रोजगारी गुमाएका परिवारलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको अन्तरनिर्भर समाजले जनाएको छ ।

टेकेश नेपाली कोरोनाका कारण रोजगार गुमेपछि घर फर्किए । भारतमा ज्यालामजदुरी गर्ने उनी फर्कंदा देशभर लकडाउन थियो । लकडाउन हटे पनि यहाँ नियमित काम भने पाइएन । उनले पनि यही कार्यक्रमको सहयोगमा तरकारी खेती गरे । टेकेश वीरेन्द्रनगर–१ कै हुन् । उनले अहिले आलु, टमाटर, लसुन खेती र कुखुरापालन समेत गरेका छन् । टोलमा अहिले सबै तरकारी खेतीमा लागेको उनले बताए । उक्त कार्यक्रममार्फत वीरेन्द्रनगरका चार वटा वडामा गरेर चार सय ५९ घर परिवार लाभान्वित भएको कृषि प्राविधिक अधिकृत दिनेश सापकोटाले बताए ।

यस्तै शनिवार वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी, अन्तरनिर्भर समाजका कार्यकारी व्यवस्थापक विवेक शाहीलगायतको टोलीले तरकारी खेतीको अनुगमन गरेको छ । अनुगमनका क्रममा तरकारी खेती गर्दा सिंचाईको समस्या भएको पाइएको छ । सोही कार्यक्रमको सहयोगमा तरकारी खेती गरेका जीत बहादुर मगरातीले सिंचाईको समस्या भएको बताए । उनले पानीको स्रोत भए पनि आवश्यक पूर्वाधार नहुँदा समस्या हुने गरेको जनाए । नगर प्रमुुख देवकुमार सुवेदीले नगरपालिकाको साझेदारीमा सञ्चालित कार्यक्रम भएकाले नगरपालिकाले पनि सिंचाईलगायतका समस्यामा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । अन्तरनिर्भर समाजका कार्यकारी व्यवस्थापक शाहीले तरकारी खेती गर्दा देखिएका समस्यामा पनि नगरपालिकासँग समन्वय गरेर सहजीकरण गरिने बताए ।

प्रकाशित मितिः   २ कार्तिक २०७७, आईतवार १२:२२