संक्रमितमध्ये ७९ प्रतिशत सुर्खेतका

देशभर कोरोना संक्रमितको सख्या दिन प्रतिदिन बढ्दै गएको छ । कर्णाली प्रदेशमा पनि संक्रमणदर अङ्कगणितीय रूपमा बढोत्तरी भइरहेको छ । समुदायस्तरमा व्यापक बनेको कोरोनाका संक्रमित छ्यापछ्याप्ती भेटिन थालेका हुन् । प्रदेशमा पछिल्ला दिनहरूमा दैनिकजसो ६० जनाको हाराहारीमा नयाँ संक्रमित थपिदै गएका छन् ।

प्रदेश राजधानीसमेत रहेको सुर्खेत संक्रमणको उच्च जोखिममा छ । प्रदेशभरका कूल संक्रमितमध्ये ७९ प्रतिशत सुर्खेतका हुन् । जिल्लामा सबैभन्दा बढी संक्रमित वीरेन्द्रनगरमा छन् । जहाँ ८५ प्रतिशत रहेका छन् ।

पछिल्लो तथ्याङ्क अनुसार प्रदेशभर सात सय १८ सक्रिय संक्रमित रहेकोमा पाँच सय ६९ जना सुर्खेतका छन् । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार जिल्लामा हालसम्म करिब २५ हजारको स्वाब परीक्षण भएको छ भने तीमध्ये दुई हजार २५ जनालाई संक्रमण पुष्टि भएको छ । जसमध्ये एक हजार ६ सय दुई जना सुर्खेतका र चार सय २३ जना अन्य जिल्लाका हुन् । जनस्वास्थ्य सेवा कार्यालय प्रमुख चेतननिधि वाग्लेले देशभरका मुख्य सहरहरू कोरोनाको उच्च जोखिममा भएको भन्दै सुर्खेत पनि उच्च जोखिममा रहेको औंल्याए ।

सुर्खेत जिल्लाभर सक्रिय संक्रमित पाँच सय ६९ हुँदा वीरेन्द्रनगर नगरपालिकामा मात्रै दुई सय ६४ जना रहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । नौ वटा स्थानीय तह रहेको सुर्खेतका अन्य आठ वटा स्थानीय तहमा भने बिहीवारसम्म तीन सय पाँच जना सक्रिय संक्रमित छन् । हालसम्म वीरेन्द्रनगरका आठ सय ५० जनालाई कोरोना भाइरस पुष्टि भइसकेको छ । जसमध्ये पाँच सय ८६ जना कोरोनामुक्त भइसकेको र दुई सय ६४ जना सक्रिय संक्रमित रहेको नगर स्वास्थ्य शाखा प्रमुख पर्शुराम खड्काले जानकारी दिए । उनका अनुसार वीरेन्द्रनगर ठेगाना भएकाहरूको मात्रै नगरले रेकर्ड राख्ने गरेको भए पनि नगरभित्र अन्य जिल्ला तथा स्थानीय तहमा स्थायी ठेगाना भएकाहरू होम–आइसोलेसनमै बस्दै आएका छन् ।

बिहीवार थप ६७ जनामा कोरोना भाइरस पुष्टि भएसँगै कर्णालीमा संक्रमितको संख्या चार हजार एक सय चार जना पुगेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या तीन हजार दुई सय ८० छ । कोरोना भाइरसको संक्रमण देखिएका दश जनाको मृत्यु भएको छ । यस्तै, बिहीवार एकैदिन देशभरी चार हजार तीन सय ६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मितिः   २३ आश्विन २०७७, शुक्रबार ०८:१३