नारी दुःखान्त

माधव न्यौपाने

असारको महिना । ठ्याक्कै तीन दिनदेखि सघन पानी परिरहेको सुर्खेती आकाशमा चौथो दिन बिहानै अनपेक्षित पूर्वी क्षितिजमा हल्का लालीमा थप्दै सूर्याेदय हुन्छ । सूर्यको उदय सँगसँगै मानिसहरू आ–आफ्ना काममा दौडिरहेका छन् । विद्यार्थी स्कुल–कलेजतिर, व्यापारी व्यापार–व्यवसायतिर, कर्मचारी कार्यालयतिर, किसान चाँचरी गीत गाउँदै मेलापाततिर ।

परिवेश घमाइलो देखिन्छ तर पाँच वर्षदेखि हत्याको सजायमा कैदी बनेर कैदखानामा दिन काटिरहेकी सेता वस्त्रमा परिवेष्टित मनमायाको मनमा चाहिँ अझै पनि घाम लाग्न सकेको देखिँदैन । मनको एक पाटोमा अमिट भइ बसेका विगतले उनलाई बेलाबखतमा झस्काउने गर्छन् ।

नेपालमा गरिबी र असमानताका विरुद्धमा नेपाल कम्युनिष्ट पार्टी माओवादीका नाममा सुरु भएको दस वर्षे शसस्त्र विद्रोहले सर्वसाधारणलाई साह्रै पिरोलेको थियो । आम मानिसहरू सरकार र विद्रोहीको क्रुरुरताको सिकार बन्न बाध्य थिए । हजारौं निरपराधीहरू कठोरतापूर्वक दण्डित भएका थिए । विस्थापित भएका थिए । बलात्कृत भएका थिए । हजारौं निर्दाेषहरूको निर्ममतापूर्वक हत्या गरिएको थियो । माओवादी सेना र नेपाल सरकार दुवैबाट सर्वसाधारणको जीवन शोकभीत र भयभीत थियो ।

कालीकोटको सदरमुकाम मान्ममा तत्कालीन शाही नेपाली सेना र माओवादी सेनाबीच भएको भिडन्तमा मनमायाका बाबु मानबहादुर मारिए । तीन महिनाअघि मनमायाका दाजु पनि त्यसरी नै मारिएका थिए । छोरो मारिएको शोकले आँखामा आँशु नसुक्दै शिरको पति मारिएको खबरले मनमायाकी आमा विक्षिप्त भइन् । उनका दिनहरू रोदन मिश्रित हिकहिकीमा बिते । दिनहरू बिते सँगसँगै महिना बिते । महिना बिते सँगसँगै उनको हिकहिकी रोकिया । तर आँखाबाट बग्ने आँशुका बलिन्द्रधारा रोकिएनन् ।

एकरात रुँदै खाना खाइवरी सुतेकी आमा फेरि कहिल्यै उठिनन् । मनमायाको जीवनमा दिउँसै रात परेजस्तो भयो । जन्मदिने आमाले पनि कलिलै उमेरमा छोडेर गएपछि उनलाई धर्ती भासिएजस्तो भयो । उनी रातदिन रुन थालिन् । कराउन थालिन् । निन्द्रामा ‘आमा–आमा’ भनी बर्बराउन थालिन् ।

मनमायाको रूवाई सुनी उनका मामा दानबहादुरले उनलाई आफ्नो घरमा ल्याए । मनभरि पीडा बोकेकी मनमायालाई चारैतिरबाट पहाडै पहाडले घेरेको सुर्खेतको सहरी दृश्यले लोभ्याएन । धेरै दिनसम्म उनको मन आफ्नै गाउँघरका छाँगा, छहरा, पहरामा डुलिरह्यो । मनमा पारिवारिक शोकले एकछत्र राज गरिरह्यो । जीवनमा पीडा हुन्छन् तर पीडानै जीवन होइन । विगतका दुःख सम्झी बस्नु मात्रै जीवनको सार्थकता हो त ? उनको ब्रह्ममा यस्तै यस्तै कुराहरू खेल्न थाले । उनी मामाकै सहायतामा प्रमाण–पत्र तहमा भर्ना भइन् । मिहेनती र लगनशील मनमायाले उत्कृष्ट प्राप्ताङ्कसहित प्रमाण–पत्र तह उत्तीर्ण गरिन् ।

स्नातक तह अध्ययनका लागि उनी सुर्खेत शिक्षा क्याम्पसमा भर्ना भइन् । १८–१९ वर्षकी मनमायाको सुगठित, सुन्दर र सुकोमल कायाले धेरैलाई लोभ्याउँथ्यो । उनको पारदर्शी सेतो रङ्गको सुरुवाल र कुर्ताबाट देखिने सेता तिघ्रा र पुष्ट छातीमा केटाहरूका आँखा लोलाउँथे । केटाहरू उनको सामीप्य चाहन्थे । तर उनी सबैसँग समीप हुन चाहन्थिनन् । किन चाहन्थिनन् त्यो उनी नै जानून् ।

एकदिन अकस्मात् उनका चञ्चल गाजलु आँखा प्रबिन नामक समकक्षीका आँखासँग जुधे । अनार दानारूपी टलक्क टल्किएका दातका लहर देखाई उनी मुसुक्क मुसुकुराइन् । मनमायाको मीठो मुस्कान प्रबिनलाई जरुर मिठै लाग्यो । उनीहरूका आँखा–आँखाले केही दिनसम्म बात मारे । तर आँखाले नै मनका सम्पूर्ण अभिव्यक्ति कहाँ अभिव्यक्त गर्न सक्छन् र ? उनीहरू एकअर्कालाई बरोबर भेट्न थाले । छोटो समयमै उनीहरू प्रेमीप्रेमिकाबाट श्रीमान् श्रीमतीमा परिवर्तन भए ।

वैवाहिक बन्धनमा बाँधिएसँगै मनमायाको जीवनको अर्काे अध्याय सुरु भयो । केही दिन उनलाई पोइली घर बिरानो लाग्यो । ‘हामी आईमाइ भनेका धर्ती हौं । जसरी धर्ती माता धेरै दुःख सहेर पनि मौनरूपमा बसेकी हुन्छिन् त्यसरी नै हामी नारीजाति पनि धैर्यपूर्व बस्न अभिशप्त छौँ । हाम्रा अनेकौं रूपहरू हुन्छन् । हामी कसैकी छोरी बन्छौँ, कसैकी स्वास्नी बन्छौँ, कसैकी बुहारी बन्छौँ, कसैकी आमा बन्छौँ । नारीले एक रूपमा अनेकौं भूमिका निर्वाह गर्न सक्नुपर्छ, बुझ्यौं ?,’ आफू सानी हुँदा आफ्नी आमालाई मावलीघरकी हजुरआमाले बुझाएको कुरा मनमायाले सम्झिन् । उनी सखारै उठ्थिन् । घरको काम सकेर सहकारी संस्थामा जागिर गर्न जान्थिन् । प्रबिन पनि घर नजिकैको बोडिङ् स्कुलमा पठाउँथ्यो । नव विवाहित दम्पतीका दिनहरू खुसी–खुसी साथ बिते त्यसैले उनीहरूले वर्ष बितेको पत्तो पाएनन् । समय निरन्तर आफ्नै रफ्तारमा कुदिरह्यो । त्यही समयकै कुदाइमा उनीहरूको प्रगाढ प्रेमको बगैंचामा दुई थुँगा फूल फुले । दुई वर्षको अन्तरालमा फुलेका फूलहरू विस्तारै–विस्तारै फक्रदै, हुर्कंदै, बढ्दै गए ।

मानिसको जीवन सोचेजस्तो कहाँ हुन्छ र ? मानिस जीवनमा आफू अनुकूलको गोरेटो चाहन्छ । तर बाध्यताको डोरीले उसलाई अनुकूलताभन्दा बढी प्रतिकूलतातर्फ धकेल्छ । ‘देशमै केही गर्छु, बूढा बाबुआमालाई स्याहारसुसार गर्छु, सँगै जीवनका उतारचढावहरू झेल्ने प्रण गरेकी जीवन सँगिनीसँग एकपल पनि अलग हुँदिन, दुई तन एक भएर रमाउँदा–रमाउँदै जन्मेका दुई सुकुमारी छोरीलाई बाबुको अभिभावकत्वबाट वञ्चित हुन दिन्नँ’ भन्ने प्रबिन समयका अगाडि झुक्यो । सरकारी नियुक्तिमा मनग्गे घुस ख्वाउन नसकेकाले ऊ लिखितमा पास भएपनि मौखिकमा फालियो । लोग्ने–स्वास्नीको मासिक २० हजार कमाइले चार जनाको परिवार कसरी चल्दो हो र ? अन्ततोगत्वा ऊ विदेश हानियो ।

लोग्नेको वियोगमा केही दिन मनमाया निकै छट्पटाइन् । भिडियो कलमा लोग्नेको अनुहार देखेपछि उनको छट्पटी केही घट्यो । उता लोग्ने याने प्रबिन पनि मनमायाकै हालतमा थियो । दुवैजना एकअर्काको अनुहार हेर्दै रून्थे । ‘टाढा हुँदा मायाको अझ महŒव हुँदोरहेछ ।’ दुवैजना एकअर्काको अनुहार हेर्दै भन्थे ।

दिनहरू बित्दै गए, हप्ता बित्दै गए, महिना बिते । प्रबिनले रकम पठायो । लोग्नेले पठाएको रकमलेले घरको गर्जाे टारेर बाँकी जम्मा गर्न पाउँदा मनमाया खुसी हुन् थालिन् । उता प्रबिन पनि कठिन कामका बाबजुद मनग्गे रकम कमाउन पाउँदा खुसी भयो । कहिलेकाही प्रबिन हप्ताको एकपटक मात्रै फोन गथ्र्याे । ‘कम्पनी बिजी छ । म खासै फोन गर्न भ्याउदिनँ । छोरीहरूको राम्रोसँग हेरविचार गर्नू, दुःख मन नगरी बसे है ।,’ ठ्याक्कै ऊ यिनै शब्द प्रयोग गथ्र्याे र तत्काल फोन काटिहाल्थ्यो ।

‘एक वर्ष, दुई वर्ष, तीन वर्ष, चार वर्ष, पाँच वर्ष । अहो ! उहाँ घर आउने दिन आएछन्,’ एकदिन बिहानै सुत्ने कोठाको भित्तोमा झुण्डिएको भित्रेपात्रोमा दृष्टिक्षेप गर्दै मनमाया मुस्कुराइन् । तत्काल म्यासेनजरमा निलो थोप्लो देखिएको लोग्नेको नाउँमा ट्च गरिन् । घण्टी गयो तर फोन रिसिभ भएन । ‘यता बिहानीको ६ बज्दा उता बिहानीको ९ बज्छ, क्यारे ! रूममै मोबाइल छाडी कतै मैले भनेको चिज सपिङ्ग गर्न जानु भएको होला’ भनी उनले चित्त बुझाइन् । दिनको मध्यान्तरमा प्रबिनले होइन मनमायाले नै फोन गरिन् ।

‘हलो !’ ‘अँ, किन बिहान फोन रिसिभ नगर्नु भ’को ?,’ मनमायाले सोधिन् ।

‘टिकटको लागि साथीको कोठामा गएको बेला फोन आएको रहेछ , त्यसैले …। ‘प्रबिनले ढाँट्यो ।

‘कैंलेलाई टिकट फिक्स भो ?,’ उत्सुक हुँदै मनमायाले सोधिन् ।

‘हप्ता दशदिन डिले होला जस्तो छ’ प्रबिनले जवाफ फर्कायो । ‘किन ?,’ मनमायाले हडबडाएर सोधिन् ।

‘दश दिनयताका डाइरेट उडान हुने प्लेनका सिट बुकिङ भै’सके अरे ! ट्रान्जिट प्लेनका सिट पनि खाली छैनन् अरे ! दशै तिहारमा स्वदेश फर्कने नेपालीको घुइँचो छ अरे !’ प्रबिनले ‘अरे अरे’ का कुरा सुनाइदिएपछि मनमाया केही बोलिनन् ।

दुईदिन पछाडि भाग्यले प्रबिनले एउटा डाइरेट प्लेनमा ‘क्यानसिलेसन’ टिकट भेट्यो । उसले तत्काल घरमा फोन गरी आफू आउन लागेको तर आफूलाई लिन काठमाडौं नआउन आग्रह ग¥यो । मनमायालाई लोग्ने स्वदेश आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रिसिभ गर्न जाने पहिल्यैदेखिको ईच्छा थियो तर अहिले लोग्नेले ‘नआउनु’ भनेपछि उनले ‘म आउँछु’ भनेर जिद्दी गर्न मनासिब ठानिनन् । ‘म एअरपोर्ट नजादैमा मेरो लोग्ने अर्कैको हुने होइन क्यारे ! फेरि एअरपोर्टमा गएर छुट्टै के हुन्छ र ? दुई दिनपछि त उहाँ आइहाल्नु हुन्छ नि ।’ मनमायाले गम खाएर मनमनै बोलिन् ।

पाँच वर्षपछि घर फर्केको लोग्नेले आफ्ना लागि असीम प्रेमका प्रणयोपहार ल्याउनेछ । छोरीहरूले बाबुको न्यानो माया र साथ पाउनेछन् । उनी स्वैरकल्पनामा हराउन थालिन् ।

दुई दिनपछि होइन, तीन दिनपछि प्रबिन घर आइपुग्यो । सपरिवारमा हर्षाेन्माद छायो । मनमायाका आँखा खुसीले सजल भए । ८ वर्षकी जेठी छोरी बाबुको काखमा लुट्पुटिन पुगिन् । ६ वर्षकी छोरीले बाबुलाई चिनिनछन् क्यारे ! उनी आमातिरै टाँस्सिन् । कान्छी छोरीले आफूलाई नचिनेकोमा प्रबिनलाई नरमाइलो लाग्यो तर उसले नरमाइलो मानी बस्ने समय पाएन । दिनहरू घर्किँदै गए । पारिवारिक सम्बन्धमा रसिलोपन थपिँदै गयो ।

एक बिहान लोग्ने साबिक समयमा नउठेपछि मनमाया उठाउन गइन् । ‘नरिसाऊ न सानूमाया…मैले फोन नगरे पनि फेसबुक म्यासेज त पठा’कै थे नि । फोन गर्न नसक्ने मेरो अवस्था बुझन् भन्या’ भनेर लोग्नेले सानो स्वरमा परस्त्रीसँग कुरा गरिरहेको स्वर सुनेर उनी आगोले पोलेझैं झस्किन् । ‘म पछि फोन गर्छु डियर ! लभ यू वाई’ यी शब्दले उनका कान रन्न भए । शरीर काप्यो । रिसको पारो बढ्यो । तर रिस दबाएरै उनले कोठाभित्र प्रवेश गरिन् । लोग्नेले ब्लाङ्केट ओढी गोडा तन्काई भलादमी निन्द्रा परेको बहाना ग¥यो । स्वास्नीले लोग्नेको बहाना थाहा नपाएको बहाना गरिन् । उनले लोग्नेले चाल नपाउने गरी सिरानीको मोबाइल समाइन् । लोग्नेले स्वास्नीको चाल नथापाएझैं ग¥यो । उनका आँखा लोग्नेको फेसबुक म्यासेजमा दौडिहाले ।

भर्खरै अघि फोन गर्ने केटीको नाम पवित्रा रहेछ । उनी काठमाडौंमा बस्दी रहिछन् । करिब चार वर्षअघि लोग्ने र पवित्राको फेसबुकमै भेट भएको रहेछ । ‘लोग्नेले आफू अविवाहित हुँ’ भनी ढाँटेको रहेछ । उनीहरूले फेसबुकबाटै पिरती गाँसेका रहेछन् । बेलाबखतमा उनीहरू एकअर्काको नग्न तस्वीरहरू साटासाट गरी हेर्दा रहेछन् । लोग्नेले कहिलेकाही उसलाई पैसा पनि पठाउँदो रहेछ । उनीहरूले बिहा गर्ने बाचा गरेका रहेछन् । लोग्नेको व्यभिचारीपन थाहा पाएपछि उनी फन्न घुमेर भुइँमा थचारिन् ।

केही क्षणको भुइँचालो केही मत्थर भएपछि उनी उठिन् र लोग्नेले ओढीराखेको ब्लाङ्केट सोहोरेर भुइँमा फ्याँकिदिन् । लोग्नेले ‘किन यसो गरेको’ भनी सोधेन । ‘धेरै, सुतेको स्वाङ्ग पार्नु पर्दैन ।,’ स्वास्नी जोडले कड्किइन् । लोग्नेले नसुनेझैं ग¥यो । ‘सुन्नुभएन…? उठ्नूस् भनेको…।,’ स्वास्नी दोस्रोपटक रिसले कड्किन् तर आदरार्थी शब्द बिर्सिनन् । लोग्ने लाचार भएर उठ्यो तर केही बोलेन । बरु स्वास्नी नै बोलिन्, ‘लाज, सर्म, धर्म, कर्म केही छैन है ! हजुर यहीँ गर्न विदेश जा’नु भा’ हो ? दुनियाँ केटीहरूसँग कुरा गर्नु भन्दा पहिले म विवाहित हुँ, मेरा छोरीहरू छन् भन्ने ख्याल भएन ? त्यो पवित्रा भन्ने काँ छे ? आज म त्यसका जगल्टा भुत्ल्याउँछु ।’

‘कुरा बुझेर बोल् भन्द्या छु,’ लोग्ने आँटैले बोल्यो । ‘के बुझ्ने..के बुझ्ने…अब के बुझ्ने…? फुँडीसँग लाग्ने फुँडो ? थुक्क…मधुकर !,’ स्वास्नीले फेरि शब्दले नै आक्रमण गरिन् । अचाक्ली रिस उठाएपछि लोग्नेले स्वास्नीका गाला बजाइदियो । उनी ह्वाँह्वाँ रुँदै भान्सातिर गइन् । भान्सामा छोरीहरू खाना खान आइसकेका रहेछन् । आँशु पुछ्दै उनले छोरीहरूलाई खाना ख्वाइन् र विद्यालय पठाइन् । स–साना छोरीहरूले आमाको आँखामा आँशु देखेनन् । ‘सत्य लोग्ने एकाएक कसरी यस्तो कपटी भयो ? के लोग्ने परिवर्तनशील हुन्छन् ?,’ स्वास्नीले प्रश्न गरिन्, ‘पतिव्रता चाहनेले किन पत्नीव्रता पालना गर्दैनन् ?’

स्वास्नीले खाना खान लोग्नेलाई बोलाइनन् न त आफूले नै खाइन् । दिनभर मन एकतमासको भैइरह्यो । मनमा अनेकौं कुराहरू आइरहे, गइरहे । ‘के पुरुष जनेन्द्रियको दासत्व हुन अभिशप्त नै छ त ?’ उनले गम खाइन् । साँझपख, लोग्नेले खै कताबाट मदिरा पीएर आएछ । स्वास्नीले चाल पाइहालिन् । स्वास्नी देखेर लोग्ने बम्कियो, ‘तेरो र मेरो आजदेखि शारीरिकरूपमा सम्बन्ध विच्छेद, कानुनी रूपमा भोलि हुनेछ ।’
‘के भन्नू भो ..?,’ स्वास्नीले फेरि सुन्न चाहिन् ।

‘भोलिदेखि तेरो र मेरो सम्बन्धविच्छेद हुनेछ । तँसँग आइन्दा मेरो जीन्दगी चल्दैनँ । मलाई एउटा छोरो चाहिएको छ, जुन तँबाट असम्भव छ ।,’ स्वास्नीले सुन्न चाहेका नचाहेका सबै कुरा लोग्नेले राम्रैसँग सुनाइदिए पछि स्वास्नी अवा्क भइन् । सत्य युगमा पिता दक्ष प्रजापतिले पति महादेवको निन्दा गरेको सहन नसकी अग्निकुण्डमा हाम् फालेर प्राण त्याग गरेकी सत्यदेवीको निष्ठाबाट प्रभावित उनी विचलित भइन् । उनले धूर्त र प्रतिगामी लोग्नेको मुखबाट अरु शब्द सुन्न चाहिनन् । २१औं शताब्दीमा नेपाली समाजको प्रारब्धपनि सनातन पितृसत्तात्मक सोचले ग्रस्त भएको देख्दा उनलाई दुःख लाग्यो । उनी सरासर घरको बार्दलीमा गइन् र पश्चिम क्षितिजतिर हेर्दै फुसफुसाइन्, सुशिक्षित भनिएका मान्छेबाटै नै किन अशिक्षितको झैं व्यवहार हुन्छ ? नारी पृथ्वी हो, पुरुष बीउ हो भन्ने कुरा किन बुझ्दैन या बुझी–बुझी पनि बुझ पचाउँछ यो समाज ? उनी फुसफुसाउँदा–फुसफुसाउँदै बार्दलीमा टहल्लिन थालिन् ।

उनले लोग्नेको प्रेमीरूप सम्झिन् । किन एक समयको प्रेमी सधैंको प्रेमी हुन सक्दैन ? के प्रेम घृणा हो ? के घृणा प्रेम हो ? उनी एक्कासि रणचण्डीझैं थररर काँप्न थालिन् । महिषासुरको वध गर्ने दुर्गा भगवती उनको शरीरमा चढिन् । उनले जताततै रगतै रगतको आहाल देखिन् । ‘प्रेम पीडा हो, प्रेम पीडा हो ।,’ भन्दै कौसीको देब्रेपट्टी राखिएको बन्चरो उनले कोठामा परस्त्रीसँग फोनमा हाँसिरहेको व्यभिचारी लोग्नेको टाउकोमा बजारिन् । भुइँमा लडेको लोग्ने हाँसेको हाँस्यै भो ! लोग्नेको टाउकोमा बन्चरो बजार्नु अघि उनले आफ्नो सिउँदोको सिन्दुर नसम्झिकी हैनन्, गलाको पोते र नाडीका चुडा नसम्झिकी हैनन्, सेता परिधानकाबारे ख्याल नगरेकी हैनन् । तर उनले दुःख मन गरी सुःखसँग बाँच्न चाहिनन् ।

एकैपटकमा मरेको लोग्नेको बीभत्स रक्तमूर्छित मृत शरीरलाई उनले गौर गरेर हेरिन् । यस्ता व्यभिचारीको रगत त रातो नहुनु नि ! अरुलाई अन्याय र अत्याचार गर्ने मान्छे त तड्पी–तड्पी मर्नु नि ! कपटी त्यो मन छाती फोडेर बाहिर निस्कनु नि ! कम्तीमा हेर्न त हुन्थ्यो । उनले सोचिन् । कोठामा भएको होहल्ला सुनी घरबेटीको माइलो छोराले अघिनै प्रहरीलाई खबर गरिसकेको रहेछ । नेपाल प्रहरी आए र उनलाई नियन्त्रणमा लिए ।

अतीतका ती दुःखान्त घोडा अन्तिम गन्तव्यमा पुग्नु अगावै टक्क अडिन्छन् । मनमाया केही थामिन्छिन् । अब यी काला कोठरीमा बिताउनु पर्ने दिन धेरै छैनन्, उनी सोच्छिन् र सदाझैं कारागार भित्रको आफ्नो दैनिकीमा तल्लीन हुन्छिन् ।

प्रकाशित मितिः   १७ आश्विन २०७७, शनिबार ०९:३८