आत्मसम्मानको आरती

भवानी पौडेल

विप्लवीले ३३औं वसन्त पार गरिसकेकी छ । समयको अञ्जुलीले दिएका हजारौँ उपहारहरूसँगै ती उपहारहरूमा शरद ऋतुमा मगमगाउने पुष्पहरू मात्र छैनन्, शिशिरका कठ्याङ्ग्रिने रातहरू छन् । गृष्म ऋतुमा उपस्थित हुने ताता बाफहरू पनि छन् । उसको हृदयको नदीमा निरन्तर बगिरहने पानीको बहाव मात्र छैन, त्यही बहावभित्र नदेखिने गरी बाँचिरहेका हजारौँ जीवहरू छन्, जसले निरन्तर डसिरहेछन् कसैले नदेख्ने गरी ।

च्यातिएको विगतको घुम्टो ओढेर अनिश्चित भविष्यलाई पर्खिरहेकी विप्लवीका लागि वर्तमान सुखद् छ या दुखद् ऊ आपैmले पनि ठम्याउन सकिरहेकी छैन । दुखद् भनोस् भने उसले विगतमा दुःखका निकै अग्ला चुलीहरूमा आपूmलाई उपस्थित गराएकी छ । सुखद् भनोस् भने पनि ऊ अन्योलमा छ । मनको सन्तुष्टि मापनको स्तम्भ चित्रमा उसको खुसीको बिन्दु उकालो चढ्न सकेको छैन । खुसीको चुचुरोमा पुग्ने उसको मृगतृष्णा सधै प्यास बनेर बाँचिरहेको छ । सधै लालायित बनेर यथार्थको धरातलमा पछारिरहेको छ ।

उ बारम्बार एउटै प्रश्नमा अल्झिरहेकी छे । हरेक पल उसको मस्तिष्कमा बाँचेर साइरन बजाइरहने प्रश्न हो यो । हरेक पल उसको हृदयको अन्तस्करणमा पसेर निराशा जन्माइरहने प्रश्न हो यो । उसलाई यो रहस्यमय प्रश्नले कहिल्यै पिछा छोडेको छैन ।

ऊ बाँच्न चाहन्छे मानव जीवनका सम्पूर्ण सुखहरू उपभोग गरेर । जीवनका सम्पूर्ण रङ्गहरू आपूmमा समाहित गरेर । उसलाई थाहा छ यो पवित्र चाहनाका गला रेट्ने समाजमा यस्ता थुपै्र औजारहरू छन्, जसले सम्पूर्ण रूपमा सग्लो भएर उभिन दिँदैनन् । समाजको संस्कार, प्रथा, परम्परा, प्रचलन यी सबै–सबै उसको सपनाको अगाडि अपराधी बनेर उपस्थित हुन्छन् । उसले आफ्नो सपनाको बोटमा जब चाहनाहरू फलाउन खोज्छे, स्वतन्त्रताका हाँगाहरूमा रहरका कोपिलाहरू उमार्न खोज्छे, अनायासै आँधिबेहेरी चल्न थाल्छ, असिना पर्छ, हाँगाहरू भाँचिन्छन् र असरल्ल बन्छन् सपनाहरू । उसलाई एक्लै बाँच्ने मन छ नितान्त एक्लै । विप्लवी यो निर्णयमा किन पुगी ? सृष्टिको निरन्तरताको कडीलाई तोड्ने प्रयत्न किन गरी ? यसको उत्तरमा साक्षी छन् उसका दुई आँखाहरू । आफ्नै आँखा अगाडि देखेकी छ यस्ता डरलाग्दा दृश्यहरू, नारी जीवनका यस्ता सयौँ घटनाहरू जुन घटनाहरूको सम्झना मात्रले पनि उसको शरीरमा कम्पन पैदा हुन्छ, उसको हृदयलाई जलाइदिन्छ ।

विवाह बन्धनमा बाँधिएर जिन्दगी बिताउने भनी गएको आफ्नै घरमा नारी जब असुरक्षित हुन्छे, आफ्नो सुरक्षा कवचको रूपमा रहेको बासस्थानमा ऊ कहिले गरिब भएर मर्छे, कहिले विरूप भएर त कहिले दासी भएर मर्छे । कहिले श्रीमान्को परस्त्री गमनमा बाधा भएर मर्छे, दाइजोको मृगतृष्णाको प्यासमा मर्छे, आफ्नो स्वतन्त्रता र स्वाभिमानको अभावमा मर्छे, कहिले असमानता र विभेदमा मर्छे । पतिको घृणा र तिरस्कारमा मर्छे । बाँचेर पनि मरिरहन्छे स्त्री यो समाजमा आफ्नो भावनामा । तर एउटी अविवाहित स्त्रीभन्दा विवाहित स्त्री पटक–पटक मर्छे ! धेरै पटक मर्छे ! त्यसैले विप्लवीले निर्णय गर्छे एक्लै भएर बस्ने । यो असामाजिक र अव्यवहारिक निर्णय हो उसलाई थाहा छ । जीवनको खुसी र आनन्द अधिक मूल्यवान लाग्छ उसलाई जसका खातिर उ अव्यवहारिक बन्न तयार छे, असामाजिक हुन तयार छे । उसलाई लाग्छ कि समाजका सबै मूल्य–मान्यताहरू समाजकै सदस्यहरूद्वारा निर्मित हुन्छन् । ती मूल्य–मान्यता मानिसकै कामका भएनन् किन नभत्काउने ? आवश्यक परेको खण्डमा मानिसले नै भत्काउन पनि सक्छन् र सक्नुपर्छ । जुन परम्पराले नारीको इज्जत गर्दैन, जुन संस्कारले नारीमाथि भेद गर्छ, त्यस्तो संस्कार र परम्परालाई नमान्न ऊ स्वतन्त्र छे । त्यसलाई तोड्ने ऊ अर्थात् विप्लवीलाई पूरा अधिकार छ ।

उसले सम्झन्छे आफ्नी प्रिय साथी प्रश्नाको त्यो प्रेम, विवाह, सन्तान अनि प्रेमको मृत्यु । कति डरलाग्दो सत्य थियो त्यो, जहाँ सम्बन्ध थियो तर प्रेम थिएन । पत्रमित्रताबाट जोडिएको त्यो सम्बन्ध कसरी अनायासै त्यति कमजोर भयो । कसरी त्यति असहाय भयो त्यो गहिरो सम्बन्ध । जुन सम्बन्धको डोरीमा बाँचेको छ केवल एक छोरा । सम्बन्धका अन्य सम्पूर्ण जराहरू काटिएका छन्, हाँगाहरू भाँचिएका छन् । कैयौंपटक साक्षी बसेकी छ विप्लवी आफ्नी प्रिय साथीको सम्बन्ध सुधार्ने निरर्थक प्रयासमा । तर, अहँ केटालाई केटीको स्वभाव मन पर्दैन, केटीलाई केटाको कठोरता मन पर्दैन । मन नपर्ने चिजहरूको भिड जम्मा भएको छ सम्बन्धको त्यो डोरीमा । विवाह अगाडि एकविना अर्को बाँच्नै नसक्ने भएका उनीहरू अहिले एक अर्काको छायाँदेखि तर्सिन्छन् । उस्तै घृणा गर्छन् । थाहा छैन ती दुई दम्पत्तीको प्रेममा कुन त्यस्तो तŒवले बास गरेको छ, जसको अगाडि उनीहरूका सारा खुसीहरू लुटिएका छन् । प्रश्नाले भन्ने गर्छिन् कि ‘मेरो पतिलाई अचेल मेरो विचार मन पर्दैन, मेरो खुसी मन पर्दैन, मेरो ओछ्यान मन पर्दैन अनि समग्रमा मेरो अस्तित्व मन पर्दैन । मेरो प्रेमलाई उसले तिरस्कार गर्छ । कोमल भावनामा धारिलो छुरा चलाउँछ, आत्मसम्मानमा पुरुषत्वको कोर्रा बर्षाउँछ ।’ यस्ता अनेकौँ उदाहरणहरू छन् उसको आँखा अगाडि । सम्बन्धका त्यस्ता जिउँदा लासहरू घरका धेरै धुरीहरूमा तड्पी–तड्पी बाँचेको देखेकी छ उसले ।

विप्लवीलाई आपूm पनि त्यस्तै अर्को उदाहरण बनेर थपिन मन छैन । आफ्नो साथी जसरी नै धारविनाको तरवारको सम्बन्धले रेटिने मन छैन । कहिल्यै पूmल नफुल्ने काँडाको बोट बनेर सम्बन्ध जोड्ने रहर छैन उसलाई । कालो बादलभित्र लुकेका पानीका थोपा बनेर धर्तीमा पछारिन मन छैन उसलाई । उसलाई आफ्नो जिन्दगी सम्पूर्ण रूपमा जिउने मन छ कुनै अवरोधविना, कुनै पर्खालविना, कुनै आदेशविना । उसलाई सम्पूर्ण रूपमा मान्छे भएर जिउने मन छ ।

प्रेमको वास्तविक स्वरूप कस्तो हुन्छ चिन्ने मन छ विप्लवीलाई । उसले सुनेकी छ वैवाहिक सम्बन्धले विशिष्ट प्रेमलाई जन्म दिन्छ प्रेमविनाको जिन्दगी अधुरो हुन्छ । पूर्ण जिन्दगी जिउन विवाह अनिवार्य सर्त हो ।

विवाह पश्चातको प्रेम सम्बन्धलाई समाजले वैधता दिन्छ । उसले प्रश्न गर्छे, प्रेम यदि महान छ भने त्यसलाई मर्यादाको एउटा साँघुरो घेराभित्र किन बाँधिन्छ ?

यदि प्रेम अनमोल छ भने त्यसको उपभोगमा किन मापदण्डको पर्खाल खडा गरिन्छ ? यही प्रश्नको घेराबन्दीमा कैदी भएकी छ ऊ । ऊ समाजका यी सम्पूर्ण अमर्यादित र परम्पराको नाममा ढोंगको खेती गर्ने कुसंस्कारहरूलाई तोड्न चाहन्छे । केवल नारीको निम्ति मात्र खडा भएका असमानताका खाडलहरूलाई पुर्न चाहन्छे । आत्मस्वाभिमानका तमाम जञ्जिरहरूलाई तोड्न चाहन्छे विप्लवी ।

प्रेमलाई सभ्य र मर्यादित बनाउनका लागि परम्पराको नाममा जकडिएर ढोंगी प्र्रेमको नाटक रचिरहेको समाजको कुसंस्कारको पर्दालाई च्यात्न चाहन्छे उ । प्रेमको पवित्र मन्दिरमा सद्भावनाको आरती बाल्न चाहन्छे ऊ, बिल्कुल स्वतन्त्र र पूर्ण मान्छे भएर । समाजको कुपरम्परा र कुसंस्कारलाई पन्छाउँदै जीवनलाई पूर्ण स्वाधिन र स्वाभिमानको धरातलमा खडा गर्दै शिर ठाडो पारेर जिउन चाहन्छे विप्लवी, चाहे त्यसको लागि जति नै ठूलो मूल्य चुक्ता गर्न किन नपरोस् ।

प्रकाशित मितिः   १७ आश्विन २०७७, शनिबार ०९:३५