चाडपर्व लक्षित खाद्यान्न जोहो

चाडपर्व नजिकिएसँगै कर्णालीका हिमाली जिल्लाहरूमा चाडपर्व लक्षित गरेर खाद्यान्नको बन्दोबस्त गर्न थालिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी प्रादेशिक कार्यालय सुर्खेतले खाद्यान्न अभाव हुने मुगु, हुम्ला र डोल्पालगायतका जिल्लामा चाडपर्वलाई लक्षित गरी खाद्यान्न पठाउने तयारी गरेको हो । दशैंतिहार नजिकिएपछि खाद्यान्नको अभाव हुने हुँदा तत्काल आवश्यक पर्ने खाद्यवस्तु ढुवानी लागि कार्यालयले प्रक्रिया थालिसकेको जनाएको छ ।

खाद्यान्न अभाव भइरहने हिमाली जिल्लाहरूमा खाद्य ढुवानी गर्न सुरु गरिसकिएको कार्यालय प्रमुुख भीमबहादुर थापाले बताए । ‘तत्काल आवश्यक पर्ने खाद्यान्न ढुवानीकर्तासँग सम्झौता गरेर पु¥याउन सुरु गरिसकिएको छ,’ उनले भने । कर्णालीका नागरिकले वर्षेनी खाद्य वस्तुको अभाव झेल्दै आइरहेका छन् । सरकारले हिमाली जिल्लामा अनुदानमा चामल ढुवानी गरे पनि नागरिकले अभाव झेल्दै आएका हुन् । थापाले अहिले खाद्यान्न अभाव नहुने गरी तयारी गरिएको दाबी गरे । उनले प्रदेशमा रहेका २३ वटा डिपोमा खाद्यान्न ढुवानीका लागि ढुवानीकर्तासँग सम्झौता भइसकेको बताए ।

कम्पनीको वीरेन्द्रनगरस्थित गोदाममा मात्रै बुधवारसम्म २५ हजार क्वीण्टल चामल छ । सबैभन्दा बढी चामलको अभाव हुने हुम्लामा पछिल्लो समय तीन हजार पाँच सय क्वीण्टल चामल ढुवानी गरिसकिएको छ । केही दिनभित्र सुर्खेतबाहेक अन्य जिल्लामा एक हजार क्वीण्टल र प्रत्येक डिपोमाा तीन सय क्वीण्टल चामल पठाउने गरी कार्यालयले काम अघि बढाएको छ । बर्खा सकिन लागेको र सडकको अवस्था पनि राम्रो भएकाले हुम्लाबाहेकका जिल्लामा गाडीमार्फत नै ढुवानी गर्ने तयारी कम्पनीको छ । ‘यो समयमा गाउँमा रहेका खाद्य डिपो तथा बिक्री केन्द्रहरूसमेत खाली हुने समय पनि हो । चाडपर्व नजिकिँदै गएपछि अभाव हुुन नदिन हामीले तयारी गरिसकेका छौं,’ कार्यालय प्रमुख थापाले भने । गाउँमा सरकारी गोदाम नहुँदा माग भएपछि ढुवानी गर्ने गरिएको उनले बताए । हालसम्म सुर्खेत, सल्यान, रुकुुम–पश्चिम र दैलेखमा खाद्यान्न सञ्चित हुने गरेको छ । बाँकी ६ जिल्लामा खाद्यान्न प्रत्येक वर्ष अपुग हुन्छ । कृषिमै निर्भर भए पनि कर्णालीका नागरिकले खाद्य अभाव झेल्दै आइरहेका छन् । सरकारी तथ्याङ्क अनुसार कर्णालीमा वर्षेनी तीन लाख २७ हजार पाँच सय ७८ मेट्रिक–टन खाद्यान्न उत्पादन हुन्छ । तर, तीन लाख ५० हजार नौ सय ९८ मेट्रिक–टन खाद्यान्न आवश्यक पर्छ । प्रदेशमा २३ हजार चार सय २० मेट्रिक–टन खाद्यान्न अपुग हुने गरेको हो । हुम्लामा मात्रै यो वर्ष ७२ हजार क्वीण्टल चामल माग भएको छ ।

आइतवारदेखि सहुलियत पसल

वीरेन्द्रनगरमा चाडपर्व लक्षित सहुलियत मूल्य पसल सञ्चालनको तयारी गरिएको छ । दशैं, तिहार र छठजस्ता पर्व लक्षित सहुलियत पसल सञ्चालन गर्न लागिएको हो । सहुलियत पसलका लागि आन्तरिक तयारी गरेर आइतवारदेखि सञ्चालनमा ल्याइने बताइएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले वीरेन्द्रनगरमा सहुलियत मूल्य पसल सञ्चालन गर्न लागेको हो ।

सरकारले चाडपर्व लक्षित गरेर देशका विभिन्न ठाउँमा सहुलियत पसल सञ्चालन गर्ने निर्णय गरेको छ । कार्यालय प्रमुख थापाले भने, ‘हामीले यहाँबाट गर्नुपर्ने तयारी गरिसकेका छौं । आइतवारदेखि वीरेन्द्रनगरमा पसल सुरु हुन्छ ।’ उनले कालीकोट, जुम्ला, मुगु, डोल्पा, दैलेखमा पनि सहुलियत पसल सञ्चालन गरिने बताए ।

प्रकाशित मितिः   १५ आश्विन २०७७, बिहीबार ०८:१९