तरकारीको बिउ वितरण

कोरोना भाइरस (कोभिड–१९) बाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्रभावित परिवारलाई लक्षित गरेर आलुको बिउ वितरण गरिएको छ । वीरेन्द्रनगरका तीन वटा वडामा एक सय ७७ जना किसानलाई आलुको बिउ वितरण गरिएको हो । अन्तरनिर्भर समाज सुर्खेतले कोरोनाबाट प्रभावित परिवारलाई आलुको बिउ सहयोग गरेको जनाएको छ । अन्तनिर्भर समाज, संयुक्त राष्ट्र संघीय कार्यक्रम ‐यूएनडीपी) र वीरेन्द्रनगर नगरपालिकाको साझेदारीमा कोरोनाबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्रभावित परिवारलाई लक्षित गरी कोभिड–१९ रेस्पोन्स र सामाजिक तथा आर्थिक रिकभरी परियोजना लागू गरिएको छ । उक्त परियोजनामार्फत वडा नं. १, १० र ११ कोरोनाका कारण रोजगारी गुमाएकालाई स्वरोजगार गराउन तरकारीको बिउ तथा प्राविधिक सहयोग गरिएको हो ।

परियोजनाका कृषि प्राविधिक अधिकृत दिनेश सापकोटाले वडा नं. १२ का किसानलाई पनि आलुको बिउ वितरण गर्ने तयारी गरिएको बताए । उनका अनुसार वडा नं. १ मा ३० जना, वडा नं. १० मा एक सय २७, र वडा नं. ११ मा २० जनालाई बिउ वितरण गरिसकिएको छ । उनले आलु खेतीबाहेक टमाटर, लसुन खेतीका साथै कुखुरापालन र आरन व्यवसायीहरूलाई पनि सहयोग गरिएको बताए  । यस परियोजनाबाट चार सय ५९ परिवार लाभान्वित हुुने उनको भनाइ छ । कोरोनाका कारण रोजगारी गुमाएका परिवारलाई परियोजनाले प्राथमिकता दिएर सहयोग गरिरहेको बताइएको छ ।

प्रकाशित मितिः   १४ आश्विन २०७७, बुधबार ०९:२७