बन्धक बनेका विद्यालय

अहिले महामारीले विश्वलाई गाँजेको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिने क्रम जारी नै छ । घट्ने संकेत देखिएको छैन । नेपालमा संक्रमण देखिएको सात महिना पुगिसक्यो । यो महामारीमा सबै क्षेत्र प्रभावित छन् । लकडाउन खोलिएसँगै अन्य क्षेत्र तग्रिँदै गएका छन् । तर विद्यालय भने अझै बन्धक बनेको अवस्था छ । विद्यालयहरू ठप्प छन् । विद्यार्थीहरूले पढ्न पाएका छैनन् । घरमै छन् । निजी शैक्षिक संस्थाहरूमा कार्यरत शिक्षक–कर्मचारीहरू रोजगारीविहीन बनेका छन् । अझै पनि विद्यालय सञ्चालनको निक्र्यौल भइसकेको छैन । सरकारले पनि कहिले अवस्था हेरेर विद्यालय सञ्चालनका लागि स्थानीय सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्दछ भने कहिले मन्त्री नै तत्काल विद्यालय नखोल्न निर्देशन दिन्छन् । यो दोधारकाबीच शैक्षिक क्षेत्र यतिबेला थप समस्याग्रस्त बनेको छ ।

त्यसो त यो बीचमा वैकल्पिक शिक्षण विधि अवलम्बन गर्न नखोजिएको पनि होइन । कतिपय स्थानमा केही सीमित विद्यालयहरूले अनलाइन प्रविधिको उपयोग गरेर पठनपाठन प्रक्रियालाई निरन्तरता दिएका छन् । तर त्यसको पहुँचमा सबै विद्यार्थी छैनन् । प्रविधिमा पहुँच हुने जम्मा ३० प्रतिशत विद्यार्थीले मात्र अनलाइन सिकाइमा सहभागी हुन पाएको अध्ययनले देखाएको छ । ७० प्रतिशत विद्यार्थी त्यसबाट वञ्चित छन् । अर्कोतर्फ दूर शिक्षाका अन्य माध्यम जस्तै रेडियो, टिभीमा कति प्रतिशत विद्यार्थी सहभागी भइरहेका छन् त्यसको ठोस तथ्याङ्क छैन । सहर केन्द्रित केही सामुदायिक र निजी विद्यालयका विद्यार्थी बाहेक दूरदराजका विद्यार्थी पूर्णतः चकमन्नकै अवस्थामा छन् । सरकारले ल्याएको वैकल्पिक शिक्षाका विभिन्न अवसरबाट उनीहरू वञ्चित छन् । सरकारले नै वैकल्पिक शिक्षण सिकाइ मार्ग निर्देशिका २०७७ जारी गरेको छ । निर्देशिका आउँदा २०७७ वैशाखमा सुरु हुने शैक्षिक सत्र आषाढसम्म तन्किसकेको थियो । सहर केन्द्रित निजी विद्यालयले निर्देशिका आउनुअघि नै विकल्पको रूपमा अनलाइन पद्दति अङ्गालीसकेका थिए । वैकल्पिक सिकाइका उपाय प्रयोगमा ल्याउन स्थानीय सरकार र विद्यालय जुर्मुराए । टोल शिक्षाका लागि शिक्षक टोल टोलमा पुगे । केही विद्यालयले भौतिक दूरी कायम गरी कक्षागत रूपमा समय छुट्याएर विद्यालयमै पढाए । केहीले फेसबुक लगायतका सामाजिक सञ्जालमा होमवर्क दिए । तर, कोरोनाको संक्रमण बढ्नु अनि मनसुन सक्रिय हुनु यी दुई कारणले वैकल्पिक शिक्षाका गतिविधि रोकिन पुगे । यो प्रभावकारी हुन सकेन ।

आजको प्रविधिलाई उपयोग गर्दै भर्चूअल कक्षा सञ्चालन गर्नु सकारात्मक पक्ष हो । तर सबै विद्यार्थीको पहुँच नहुनु हाम्रो विडम्वना । त्यसैले विद्यार्थीको सिकाइमा निरन्तरताका लागि अब गम्भीर हुनैपर्दछ । अन्य सबैजसो क्षेत्र खुलिसकेका छन् । के कोरोना संक्रमणको जोखिम विद्यालयबाट मात्रै छ ? सवालमाथिको मन्थन र उचित निष्कर्ष निकाल्न ढिला गर्नु हुँदैन । विद्यालयलाई अझै बन्धक बनाएर राख्नु उचित होइन । आवश्यक सुरक्षा, सतर्कता र सावधानीका साथ पठनपाठन सञ्चालन गर्ने विकल्पको खोजी आजको आवश्यकता हो ।

प्रकाशित मितिः   १२ आश्विन २०७७, सोमबार ०८:४५