थप ४५ जनामा कोरोना

कर्णाली प्रदेशमा थप ४५ जनामा कोरोना संक्रमण देखिएको छ । आइतवार सो संख्यामा संक्रमित थपिएको प्रदेश स्वास्थ्य सेवा महाशाखाले जनाएको हो । सुर्खेतका ३३, सल्यानका पाँच, दैलेखका एक र अन्य प्रदेशमा स्थायी ठेगाना भएका पाँच जनामा कोरोना देखिएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या तीन हजार चार सय नौ पुगेको छ । हालसम्म दुई हजार सात सय ४९ पुरुष र ६ सय ६० जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो समय प्रदेशमा समुदायस्तरमा कोरोना संक्रमण बढ्दै गइरहेको छ । अहिलेसम्म सुर्खेतमा एक हजार एक सय ६६, दैलेखका एक हजार एक सय २४, सल्यानका तीन सय ५५, रुकुुम–पश्चिमका एक सय १६, कालीकोटका एक सय २०, जुम्लामा एक सय ९२, जाजरकोटका ७२, मुगुका १४, हुम्लाका ११ र डोल्पाका नौ जनामा संक्रमण देखिएको हो । हाल प्रदेशका चार जिल्ला भने संक्रमणमुक्त भएका छन् । यहाँ कोरोनाका नयाँ संक्रमित भेटिएका छैनन् । जुम्ला, कालीकोट, मुगु र हुम्लामा सक्रिय संक्रमित नभएका हुन् ।

यस्तै आइतवारसम्म प्रदेशमा दुई हजार आठ सय २७ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो तथ्याङ्क अनुसार प्रदेशमा सक्रिय संक्रमितको संख्या पाँच सय ८२ जना छ । त्यसमध्ये चार सय ९९ जना कोरोना अस्पताल तथा विभिन्न आइसोलेसन सेन्टरमा छन् भने बाँकी होम आइसोलेसनमै रहेको जनाइएको छ । प्रदेशमा अहिलेसम्म कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ ।

प्रकाशित मितिः   १२ आश्विन २०७७, सोमबार ०८:४४