अलपत्र चक्रपथ

प्रदेश राजधानी वीरेन्द्रनगरमा चक्रपथ निर्माणको योजना विगत एक दशक अघिदेखिको हो । निर्माणको काम सुरु भएकै दशक बितिसक्यो । तर सम्पन्न हुने त परको कुरा आधामै अलपत्र छ । वीरेन्द्रनगरको सुब्बाकुना हुँदै उपत्यकाको दक्षिण भागबाट बाङ्गेसिमल जोड्ने यो चक्रपथ निर्माणको काम आर्थिक वर्ष २०६२/०६३ बाट सुरु गरिएको थियो । २९ किलोमिटर लामो चक्रपथको कामले जग्गा विवादका कारण हालसम्म पनि गति लिन छैन । समयमै चक्रपथ निर्माणको काम सम्पन्न नहुँदा स्थानीय बासिन्दाले सास्ती व्यहोर्दै आइरहेका छन् । निर्माण सम्पन्न भएर यातायात सुविधा उपभोग गर्ने बेलामा निर्माणको काम अलपत्र परेको हो । रिङ्गरोडमा जग्गा विवाद अझै कायमै रहेको छ । जग्गा विवाद नसुल्झिँदा काम अघि बढाउन बाधा भएको हो ।

तत्कालीन नेकपा माओवादीले सुरु गरेको सशस्त्र युद्धका कारण जिल्लाका ग्रामीण क्षेत्रमा विकास आयोजना सञ्चालन हुन सकेनन् । द्वन्द्वका कारण तत्कालीन गाविसमा बजेट खर्च गर्न सक्ने अवस्था नभएपछि जिल्ला विकास समितिले उक्त बजेटबाट वीरेन्द्रनगरमा चक्रपथ निर्माण गर्ने योजना अगाडि सारेको थियो । सोही क्रममा गाविसलाई दिइने बजेटबाट सुरुमा ४१ लाख रूपैयाँ चक्रपथ निर्माणका लागि विनियोजन गरिएको थियो । तर निर्माण प्रक्रिया थालिएको एक दशक बित्दा पनि यो सडकले अझै पूर्णता भने पाएको छैन । संघीय सरकार मातहतको सडक डिभिजन कार्यालय सुर्खेतले २०७४ सालमा ठेक्का लगाएको काम सडक डिभिजन कार्यालय चौरजहारी रुकुम–पश्चिममा हस्तान्तरण भइ अहिले केही भागमा मात्रै ग्राभेलको काम सञ्चालन भइरहेको छ । सम्झौता अनुसार वीरेन्द्रनगरको चक्रपथ निर्माणको काम हालसम्म सम्पन्न भइ सक्नुपर्ने हो । तर दोस्रो सम्झौता अवधि सकिनै लाग्दासम्म पनि निर्माणको काम सम्पन्न हुन सकेको छैन । दश मिटर चौडाइमा ग्राभेलको कामको लागि २०७४ चैत्र २३ गते ठेक्का सम्झौता भएको हो । खड्का कृष्ण द क्याराभान ठेकेदार कम्पनीले १३ करोड ५३ लाखमा कामको जिम्मा लिएको छ । २०७६ साल चैत्र महिनामा सक्ने गरी ठेकेदार कम्पनीसँग सम्झौता भएको काम समयमै नसकिँदा पुनः म्याद थप गरिएको छ । आगामी चैत्र महिनासम्म सक्नेगरी म्याद थप गरिएको हो ।

वीरेन्द्रनगर उपत्यका केवल एक सहर मात्रै होइन । यो प्रदेशको राजधानी पनि हो । राजधानी भएसँगै यहाँ जनसंख्याको चाप बढ्दो छ । त्यसैअनुसार पूर्वाधारको विकास अपरिहार्य भइसकेको छ । बढ्दो सहरीकरणसँगै चक्रपथ निर्माणको योजना उपत्यको विकासको मेरुदण्ड सावित हुन सक्दछ । त्यसैले पनि अलपत्र चक्रपथको निर्माणका लागि सम्बन्धित निकाय गम्भीर हुनेपर्ने देखिन्छ । चक्रपथ निर्माणको जिम्मेवारी वीरेन्द्रनगर नगरपालिकाको मात्रै पनि होइन । यसको विकासमा प्रदेश सरकार र संघीय सरकारले पनि आवश्यक ध्यान दिन जरुरी छ । सिङ्गो उपत्यकालाई समेट्ने योजनाले यहाँका धेरै नागरिकलाई सुविधा प्रदान गर्दछ । त्यसकारण पनि देखिएका समस्या समाधान गरेर योजना सम्पन्न गर्नेतर्फ सबैको भूमिका आवश्यक छ ।