६ महिनापछि ब्युँझिएका व्यवसाय सुनसान

गाडी चले यात्रु आएनन्, होटल खुले ग्राहक भएनन्
वीरेन्द्रनगर बसपार्क (बायाँ) र शुभ–होटल (दायाँ)

लामो समयको बन्दाबन्दीका कारण देशभर आर्थिक गतिविधि ठप्प छन् । कोरोना महामारीका कारण आधा वर्षदेखि सबै क्षेत्र प्रभावित बनेको छ । कोरोना भाइरस ‐कोभिड–१९) प्रभावले यातायात र होटल व्यवसाय निकै धरासायी भएका छन् । जहाँ ठूलो लगानी पनि छ । यी व्यवसाय बन्द रहँदा हजारौं श्रमिकको रोजगारी गुमेको छ ।

सरकारले असोज १ गतेदेखि लामो दूरीका सवारी साधन र होटल व्यवसाय सञ्चालन गर्न पाइने भनिसकेको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न सकिने सरकारले जनाएको हो । आर्थिक संकट झेल्दै आएका व्यवसायीहरू यो निर्णयबाट उत्साहित त बनेका छन् । तर, उनीहरूलाई व्यवसाय नहुने हो कि भन्ने चिन्ता पनि छ । ६ महिनापछि ब्युँझिदै गरेका व्यवसायले तत्कालै व्यापार गर्न सक्ने अवस्था भने छैन । बसपार्कहरू सुनसान छन् भने होटलमा कोही पनि ग्राहक गएका छैनन् ।

बिहीवार सुर्खेत बसपार्कमा काउण्टर खोलेर यातायात प्रालिका कर्मचारी यात्रुको प्रतिक्षामा बसिरहेका देखिन्थें । यात्रु फाट्फूट्ट मात्रै थिए । सामान्य अवस्थामा सधैं भरीभराउ हुने गाडी र खचाखच देखिने बसपार्क सुनसान थियो । गाडीहरू खाली–खाली गुडेका देखिन्थें । अहिले गाडीले ५० प्रतिशत मात्रै यात्रु राख्न पाउने व्यवस्था छ । व्यवसायीले थप ५० प्रतिशत बढी भाडा लिन पाउनेछन् । ट्राफिक प्रहरीले यातायात व्यवसायीले सरकारको नियम पालना गरे÷नगरेको अनुगमन गरिरहेको बताएको छ ।

लामो दूरीमा बस चल्न थालेपछि पहिलो दिनबाटै चहल पहल बढ्ने अपेक्षा यातायात व्यवसायीहरूको थियो । तर, सार्वजनिक सवारी साधन सञ्चालनमा आए पनि यात्रुहरू नभएको व्यवसायीहरूले बताएका छन् । वीरेन्द्रनगरबाट बाहिरिने सवारी साधन छुटाए पनि यात्रुहरू निकै कम भएको सुर्खेत काँक्रेविहार यातायात प्रालिका अध्यक्ष रमेश सापकोटाले बताए । ‘सार्वजनिक सवारीमा चढ्ने यात्रुहरू कम छन्,’ उनले भने, लामो र छोटो दूरीका सवारीहरू यात्रुविनै खाली गन्तव्यमा पठाइएको छ ।’

महिनौं पार्किङ्गमा राखेका बसहरू तत्काल मर्मत गर्न पैसा छैन । अधिकांश गाडीधनीहरू गाडी मर्मत गर्न ऋण सापटी खोजिरहेका छन् । ‘गाडी मर्मत नगरी चलाउन सम्भव पनि छैन’, एक यातायात व्यवसायीले भने । अझै पनि कोरोनाको कहर यथावत नै छ । अत्यावश्यक काम नपरी मानिसहरू भिडभाडमा जान चाहँदैनन् । जबसम्म आम सर्वसाधारण नागरिक निर्धक्कसँग बाहिर निस्कने वातावरण बन्दैन, त्यतिबेलासम्म सार्वजनिक यातायातले लामो दूरीमा यात्रु पाउने अवस्था तत्कालै नरहेको जानकारहरू बताउँछन् ।

कतिपय यातायात व्यवसायीले भने अझै सवारीसाधन सञ्चालन गरिहालेका छैनन् । यातायात व्यवसायी धर्मराज गिरीले अझै पनि लामो दूरीका यातायात सञ्चालनमा ल्याउन नसकिएको जनाए । ‘सबै ठाउँमा हाईवे क्लियर भइसकेको छैन,’ उनले भने ‘त्यही विषयमा समितिहरूको बैठक बसिरहेको छ ।’ कुनै जिल्लाहरूमा प्रशासनले निषेधाज्ञा जारी नै रहेकाले पनि अन्योल भएको उनले बताए ।

यस्तै, होटल व्यवसायको हालत पनि उस्तै छ । व्यवसाय सञ्चालन गरे पनि ग्राहक भने आएका छैनन् । लामो दूरीका सवारी चल्ने, हवाई सेवा पनि सञ्चालन हुने भएपछि केही आशा भने जागेको होटल सञ्चालकहरूले बताएका छन् । अहिले तत्कालै ग्राहक नआए पनि विस्तारै वातावरण सहज हुँदै जाने उनीहरूको विश्वास छ ।’ ‘पर्यटन क्षेत्रमा त्यति सहज छैन,’ होटल व्यवसायी पदमबहादुर शाही भन्छन्, ‘घरमै त्रास भएको बेलामा मानिसहरू घुम्न हिँड्ने कुरा पनि भएन ।’ नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्षसमेत रहेका शाहीले होटेल व्यवसायीहरू अहिले नै उत्साहित हुनुपर्ने अवस्था नरहे पनि विस्तारै व्यवसायले गति लिने बताए । अन्य क्षेत्रमासमेत सहजता हुँदै गए होटेल व्यवसाय पनि चल्ने उनको विश्वास छ ।

प्रकाशित मितिः   २ आश्विन २०७७, शुक्रबार ०६:०२