आंशिक प्राध्यापक आन्दोलित

त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस सुर्खेत क्याम्पस (शिक्षा) मा कार्यरत आंशिक प्राध्यापकहरू आन्दोलित भएका छन् । विश्वविद्यालयले आफूहरूको बौद्धिक र मानसिक शोषण गरेको भन्दै उनीहरूले विभिन्न मागसहित बिहीवार क्याम्पस प्रमुख माधवप्रसाद खनाललाई ज्ञापन–पत्र बुझाएका हुन् ।

करारमा नियुक्ति भएकाहरूको श्रमको उचित मूल्याङ्कन हुनुपर्ने आंशिक प्राध्यापकहरूको माग छ । पदाधिकारीहरूले विश्वविद्यालयलाई नै बन्धक बनाएर आफ्ना नितान्त व्यक्तिगत स्वार्थपूर्तिमा लागेको आरोप उनीहरू लगाएका छन् । आंशिक प्राध्यापकहरूको व्यवस्थापन कार्यदलले प्राध्यापकहरूको मर्म विपरीत एकतर्फी निर्देशिका ल्याएको भन्दै उनीहरूले आपत्ति जनाएका हुन् । त्रिभुवन विश्वविद्यालय अतिरिक्त कक्षा व्यवस्थापन सम्बन्धी निर्देशिका २०७७ आंशिक प्राध्यापकहरूको हित विपरीत रहेको उनीहरूको ठहर छ । उक्त निर्देशिका लागू नगर्न प्राध्यापकहरूको माग छ ।

आफूहरूले क्याम्पस प्रशासन समक्ष राखेका माग दुई दिनभित्र पूरा नगरे तालाबन्दी गर्ने, क्याम्पसका कुनै पनि कार्यक्रममा सहभागी नहुने र थप कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी उनीहरूले दिएका छन् । आन्दोलनमा उत्रिन बाध्य पारेमा त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी विश्वविद्यालय एवम् क्याम्पस प्रमुखले लिनुपर्ने सुर्खेत एकाई समितिका अध्यक्ष जागेश्वर उपाध्यायले बताए । एक वर्ष अध्यापन गरेका प्राध्यापकहरूलाई समान कामको समान ज्याला दिनुपर्ने अध्यक्ष उपाध्यायको भनाइ छ ।

प्रकाशित मितिः   २ आश्विन २०७७, शुक्रबार ०६:०१