महामारीसँग खेलाँची

कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) को त्रास सकिएको छैन । संक्रमितको संख्या हरेक दिन बढ्दैछ । आवश्यक सतर्कता अपनाउन सरकारले विभिन्न नियम बनाएको छ । भिडभाड नगर्न निर्देशन दिएको छ । भौतिक दूरी कायम गर्नु कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको एक महŒवपूर्ण विधि हो । जसको कार्यान्वयन अपरिहार्य छ । तर कर्णाली प्रदेश सरकार नै यसप्रति संवेदनशील छैन । यसका एक होइन अनेक उदाहरण र दृष्टान्त छन् । प्रदेशका मुख्यमन्त्रीसहितका मन्त्रीहरू नै महामारीसँग खेलाँची गरिरहेका छन् ।

ढिलो संक्रमण पुष्टि भएको कर्णालीमा अहिले समुदायस्तरमै संक्रमण पुगिसकेको छ । सबै पेशा र क्षेत्रका व्यक्ति संक्रमित भइरहेका छन् । दैनिक पुष्टि हुने संक्रमितको तथ्याङ्कले के देखाउँछ भने समुदायमा संक्रमण व्यापक बन्दै गएको छ । प्रदेशका दश वटै जिल्ला र ७९ पालिकामध्ये ७० बढीमा कोरोना भाइरसको संक्रमण पुगेको छ । यस्तो अवस्थामा कोरोना नियन्त्रणका लागि सावधानी अपनाउन संघीय, प्रदेश र स्थानीय तहले मातहतका सबै निकाय परिचालन गरेका छन् । सबै तह र संरचना केही महिनायता कोरोना नियन्त्रणमा केन्द्रित छन् । तर, व्यवहारतः त्यस्तो भने पाइँदैन । उनीहरू नै कोरोनालाई सामान्य ठानिरहेका छन् । उनीहरू सहभागी भेला र जमघटले महामारीसँग खेलाँची गरेको प्रष्ट देखिन्छ । संक्रमण नियन्त्रणकै लागि भनेर ६ महिनादेखि उद्योगधन्दा, कलकारखाना, शैक्षिक संस्था र बजारहरू बन्द छन् । यी क्षेत्र अझै पूर्णरूपमा खुलिसकेका छैनन् । मुलुकको आर्थिक गतिविधि ठप्प छ । कोरोना त्रासले सिर्जित परिस्थितिका कारण लाखौं मानिसहरूको रोजीरोटी गुमेको छ । रोजगारी गुमेपछि ज्यालामजदुरी गरी गुजरा चलाउने वर्ग कष्टकर दैनिकी काटिरहेका छन् । नागरिकलाई घरभित्रै बस्न अह्राइएको छ । सरकारले हिँड्डुल, भेला, मेला, चाडपर्व र जमघट गरे कोरोना संक्रमणको जोखिम हुने भनेको छ । तर, संक्रमण दर बढ्दै गएका बेला कर्णाली प्रदेश सरकारका मन्त्रीहरू भने कोरोना बिर्सिएर गाउँ पसेका छन् । उनीहरू आमसभा, भेला र पार्टी प्रवेश गराउने कार्यक्रममा सहभागी बनेका छन् । संक्रमणको जोखिम बढाउने गरी सैयौं मानिसहरू भेला भएका कार्यक्रमलाई उनीहरूले सम्बोधन गरिरहेका छन् । मन्त्रिपरिषद्बाट कोरोना नियन्त्रण तथा रोकथामका आफैंले गरेका निर्णयको बेवास्ता गर्दै उनीहरू त्यस्ता कार्यक्रममा सहभागी भएका हुन् । मन्त्रीहरू आफैले गरिरहेका गैरजिम्मेवार गतिविधिले प्रष्ट हुन्छ उनीहरू कोरोना नियन्त्रणमा गम्भीर छैनन् । विश्वलाई त्रसित बनाइरहेको महामारीसँग खेलाँची गर्दैछन् ।

बढ्दो जोखिमकाबीच मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित विभागीय मन्त्रीहरू जिल्ला दौडाहामा छन् । उद्घाटन, अनुगमन र पार्टीका कार्यकर्ता भेटघाट तथा भेलामा सहभागी हुँदै आएका छन् । कोरोनासँग खेलबाँड गर्नु मुर्खता हुन्छ । तर जिम्मेवार व्यक्तिहरूबाटै भइरहेको बेवास्ता थप जोखिम निम्त्याउने माध्यम बन्नसक्दछन् । यसतर्फ गम्भीर हुनु जरुरी छ । अरुलाई सतर्क हुन निर्देशन दिएका सरकारकै मन्त्रीको खेलाँचीले नागरिकमा सकारात्मक होइन नकारात्मक सन्देश प्रवाह गर्दछ ।