कर्णालीको हितमा

डा. गोविन्द केसीले कर्णालीको जुम्लामा आफ्नो १९औं अनशन सुरु गरेका छन् । चिकित्सा शिक्षा क्षेत्र सुधारका विभिन्न माग राखेर विगतदेखि नै पटक–पटक अनशन बस्दै आएका उनले दोस्रो पटक कर्णालीलाई रोजेका छन् । यसअघि पनि उनी जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन बसेका थिए । दुई वर्षअघि उनको १५औं अनशन जुम्लामै थियो । दुर्गम क्षेत्रमा स्वास्थ्य पहुँच बढाउनुपर्ने र कर्णालीमै एमबीबीएस तह अध्यापनका लागि पूर्वाधार र जनशक्तिको व्यवस्थापन गर्नुपर्ने अडान उनले लिँदै आएका छन् । कतिसम्म भने यसपटकको अनशनमा उनले ६ वटा माग अघि सारेका छन् । जसमध्ये पहिलो नम्बरको बुँदा नै कर्णालीको हितमा छ । उक्त बुँदामा लेखिएको छ, ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पु¥याएर एमबीबीएस लगायतका कार्यक्रमहरू सञ्चालन गरियोस् ।’ कर्णालीमा एमबीबीएस अध्यापनका लागि माग राखेर अनशन नै बस्ने डा. केसी नै पहिलो व्यक्ति हुन् ।

मूलतः केसीका माग चिकित्सा शिक्षा सुधारकै लागि छन् । विगत ७ वर्षदेखि उनी यसकै लागि सरकारलाई दबाब दिइरहेका छन् । तर सरकार उनका माग पूरा गराउन प्रतिबद्ध छैन । अहिलेसम्मको घटनाक्रम हेर्ने हो भने केसी अनशन बस्छन्, सरकारसँग माग पूरा गर्ने सहमति हुन्छ । उनको अनशन तोडिन्छ । अनि ती सहमति कार्यान्वयन चाहिँ हुँदैनन् । केसी फेरि अनशन बस्छन् । यही क्रम दोहोरिँदै केसी १९औं पटकको अनशनमा छन् । केसीले अनशन सुरु गरेयता मुलुकका करिब आधा दर्जन प्रधानमन्त्री पाइसक्यो । तर न केसीका माग पूरा भए न उनको अनशन रोकियो । यो क्रम चलिरहेकै छ । त्यसो त केसीलाई वर्तमान सरकार विरोधीको रूपमा चर्चा गर्नेहरूको पनि कमी छैन । तर यो तर्कमा यसकारण पनि सहमत हुन सकिदैन, किनभने केसीको अनशन अहिलेको सरकार बनेपछि सुरु भएको होइन । उनले नेपाली कांग्रेसको नेतृत्वमा सरकार हुँदा होस् वा तत्कालीन माओवादी र नेकपा एमाले हुँदै अहिलेको नेकपाको नेतृत्वमा सरकार हुँदा लगातार अनशन बसिरहेकै छन् । यद्यपि उनका मागहरू पनि केही हेरफेर र फेरबदल हुँदै आएका छन् । १९ औं अनशनमा उनका माग विशुद्ध चिकित्सा शिक्षा सुधारका विषयमा मात्रै नभएर, विभिन्न अनियमितता र भ्रष्टाचारका काण्डहरूसँग पनि जोडिएका छन् ।

माग नाजायज छैनन् । यी सरकारको दायित्वभित्रैका हुन् । चाहे चिकित्सा शिक्षा सुधारको विषय होस् या अनियमितताका छानविन र दोषीलाई कारबाही गर्नुपर्ने कुरा । त्यसैले सरकार स्वयम् गम्भीर भएर आफूले गर्नुपर्ने काम गर्ने हो भने केसीले अनशन बस्नुपर्ने अवस्था नै सिर्जना हुँदैन । विकट कर्णालीमा आएर कर्णालीकै हितमा केसीले राखिरहेको माग यस क्षेत्रकै नागरिक र जनप्रतिनिधिहरूले नै उठाउनुपर्ने विषय हो । तर त्यसो हुन नसकिरहेको बेला केसीले राखेको माग प्रदेश हितमा मात्रै छैन्, मुलुककै हितमा त्यको योगदान हुने कुरा कसैले नकार्न सक्दैन ।

प्रकाशित मितिः   ३१ भाद्र २०७७, बुधबार ०६:००