संक्रमितभन्दा निको हुने धेरै

कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९)का नयाँ संक्रमित भन्दा निको भएर डिस्चार्ज हुनेको संख्या बढ्दै गएको छ । हरेक दिन नयाँ संक्रमित थपिए पनि संक्रमणमुक्त हुनेको संख्या पनि थपिएको छ ।

आइतवार कर्णालीमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेशका चार जिल्ला र अन्य प्रदेशका एक जिल्लाका व्यक्तिहरूमा संक्रमण पुष्टि भएको हो । कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र चौरजहारी नगरपालिका रुकुम–पश्चिम प्रयोगशालामा गरिएको पीसीआर परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको हो ।
नयाँ संक्रमितमध्ये सुर्खेतका पाँच जना, जुम्लाका दुई जना, दैलेख, रुकुम–पश्चिम र सिराहाका एक÷एक जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । योसँगै प्रदेशभर कोरोना संक्रमित हुनेको कूल संख्या दुई हजार सात सय ८६ पुगेको छ ।

महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार कोरोना संक्रमणलाई जितेर घर फर्किनेको संख्या पनि बढिरहेको छ । आइतवार मात्रै प्रदेशमा थप एक सय १० जना कोरोनामुक्त भएका छन् । प्रदेशमा हालसम्म कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या दुई हजार पाँच सय पाँच जना पुगेको छ ।

आइतवारसम्ममा प्रदेशभर दुई सय ७५ जना कोरोनाका सक्रिय संक्रमित रहेको प्रदेश स्वास्थ्य सेवा महाशाखा प्रमुख वृषबहादुर शाहीले जानकारी दिए । कर्णालीका ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यसैबीच नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५४ हजार नाघेको छ । आइतवार देशभर एक हजार ३९ जनामा संक्रमण पुष्टि भएसँगै कूल संक्रमित ५४ हजार एक सय ५९ पुगेका हुन् । देशभरको तथ्यांक अनुसार पनि आइतवार संक्रमणमुक्त हुनेको संख्या बढी छ । एकै दिन १ हजार एक सय ७३ जना निको भएका छन् । यो सँगै निको हुनेको संख्या ३८ हजार ६ सय ९७ पुगेको छ । हालसम्म आठ लाख ४० हजार पाँच सय २७ जनामा पीसीआर विधिबाट परीक्षण भएका छन् । आइतवार अपराह्नसम्मको तथ्यांकअनुसार आइसोलेसनमा उपचारमा रहेकाको संख्या १५ हजार एक सय १७ र क्वारेन्टाइनमा ६ हजार पाँच सय ३६ जना रहेको छ ।

प्रकाशित मितिः   २९ भाद्र २०७७, सोमबार ०६:०२