कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु
नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिवार देशभरमा १४ जना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा तीन महिला र ११ पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन सय ३६ पुगेको छ ।
शनिवार देशभर थप एक हजार दुई सय एक जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५३ हजार एक सय २० पुगेको छ । यसैगरी पछिल्लो तथ्याङ्कअनुसार हालसम्म कोरोनामुक्त हुनेको संख्या ३७ हजार पाँच सय २४ जना छ । सक्रिय संक्रमितमध्ये १५ हजार दुई सय ६० जना आइसोलेसनमा छन् भने ६ हजार तीन सय ५४ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाए ।
यस्तै, कर्णाली प्रदेशमा शनिवार २१ जना कोरोनाका संक्रमित थपिएका छन् । योसहित अहिलेसम्म प्रदेशमा संक्रमितको संख्या दुई हजार सात सय ७६ पुगेको छ । तीमध्ये तीन सय ७५ जना सक्रिय संक्रमित छन् भने दुई हजार तीन सय ९५ संक्रमणमुक्त भइसकेका छन् । कोरोना संक्रमणबाट कर्णालीमा ६ जनाको मृत्यु भएको छ ।
प्रकाशित मितिः २८ भाद्र २०७७, आईतवार १०:०१
साझा बिसौनी ।