कोरोना संक्रमित ५० हजार नाघे

देशभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ५० हजार नाघेको छ । बिहीवार थप एक हजार दुई ४६ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या ५० हजार चार सय ६५ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितमध्ये ३५ हजार सात सय जना संक्रमणमुक्त भइसकेका छन् । देशभर सक्रिय संक्रमितको संख्या १४ हजार चार सय ४८ रहेको छ । बिहीवार पाँच जनाको कोरोनाबाट मृत्यु भएको छ । यीसहित कोरोनाबाट ज्यान जानेको संख्या तीन सय १७ पुगेको छ ।

यस्तै, कर्णालीमा थप ६ जनामा कोरोना पुष्टि भएको छ । बिहीवार सुर्खेतका चार जना र सल्यानका दुई जना गरी संक्रमण देखिएको हो । प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेतको गुर्भाकोट नगरपालिकाका दुई र सिम्ता गाउँपालिकाका दुई तथा सल्यानको बनगाड कुपिण्डे नगरपालिका थप दुई जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कर्णालीमा संक्रमितको संख्या दुई हजार सात सय २५ पुगेको छ । दुई हजार तीन सय ६४ जना संक्रमणमुक्त भइसकेका छन् भने कोरोनाका सक्रिय संक्रमित तीन सय ५५ जना छन् । प्रदेशमा हालसम्म कोरोनाबाट ६ जनाको मृत्यु भएको छ ।

प्रकाशित मितिः   २६ भाद्र २०७७, शुक्रबार ०६:०१