थप २५ जनामा संक्रमण

कर्णाली प्रदेशमा २५ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य सेवा महाशाखाले सोमवार सुर्खेतका आठ, दैलेखका पाँच, मुगुका दुई, रुकुुम–पश्चिम, कालिकोट, जुम्ला, हुुम्ला र जाजरकोटका एक÷एक जना र अन्य प्रदेशका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या दुई हजार ६ सय ७४ पुगेको छ । महाशाखाका अनुसार हालसम्म दैलेखमा एक हजार ५४, सुर्खेतमा सात सय ६४, जुम्लामा एक सय ८३, कालीकोटमा एक सय ११, जाजरकोटमा ५८, सल्यानमा दुई सय ७३, रुकुुम–पश्चिममा ६५, डोल्पामा पाँच, मुगुमा १२ र हुम्लामा सात जनामा संक्रमण देखिएको छ ।

हुम्ला, मुगु र डोल्पामा भने हाल कोरोना संक्रमित छैनन् । यी तीन जिल्ला संक्रमणमुक्त भएका हुन् । यहाँ अहिले कोरोनाका एक्टिभ केस नभएको महाशाखाले जनाएको छ । प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या दुई हजार तीन सय १७ पुगेको छ । सोमवार मात्रै १० जना संक्रमणमुक्त भएका छन् । अब प्रदेशमा सक्रिय संक्रमितको संख्या तीन सय ५१ रहेको छ । कोरोनाका कारण ६ जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४७ हजार दुई सय ३६ पुगेको छ । सोमवार थप नौ सय ७९ जनामा कोरोना संक्रमण देखिएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म ३० हजार ६ सय ७७ जना कोरोना संक्रमित निको भएको बताए । यो कूल संक्रमितको ६५ प्रतिशत हो । सोमवार मुलुकभर एक हजार सात सय ३६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । नेपालमा निको हुनेहरूको संख्या ३० हजार नाघेको हो । यस्तै, क्वारेन्टाइनमा बस्नेहरूको संख्या चार हजार सात सय ३९ जना छ । हालसम्म मुलुकभर पीसीआर परीक्षणको संख्या सात लाख ७७ हजार पाँच सय ६३ पुगेको छ । मुलुकभर सक्रिय संक्रमितको संख्या १६ हजार दुई सय ५९ जना रहेको छ ।

प्रकाशित मितिः   २३ भाद्र २०७७, मंगलवार ०६:०६