अहिलेसम्मकै बढी संक्रमित फेला

शुक्रवार देशभर कोरोनाका एक हजार तीन सय ५९ जना संक्रमित थपिएका छन् । यो एकैदिन भेटिएका अहिलेसम्मकै बढी संक्रमितको संख्या हो । यसअघि बिहीवार एकैदिन एक हजार दुई सय २८ जनामा संक्रमण पुष्टि भएको थियो । यीसहित हालसम्म संक्रमितको संख्या ४४ हजार दुई सय ३६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म कोरोनाबाट निको हुनेको संख्या २५ हजार पाँच सय ६१ पुगेको छ । शुक्रवार थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या दुई सय ७१ पुगेको छ ।

यस्तै, कर्णाली प्रदेशमा शुक्रवार थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका तीन र अन्य प्रदेशका दुई जिल्लाका २० जनामा संक्रमण देखिएको हो । प्रदेशभर हालसम्म संक्रमितको संख्या दुई हजार पाँच सय ८९ पुगेको छ । यीमध्ये दुई हजार दुई सय ३९ जना संक्रमणमुक्त भइसकेका छन् भने ६ जनाको कोरोना भाइरसका कारण ज्यान गएको छ ।

प्रकाशित मितिः   २० भाद्र २०७७, शनिबार ०६:०२