दलका भेला र बजारको भिड कसले रोक्ने?
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण समुदायस्तरमा व्यापक भइरहेका बेला यसलाई नियन्त्रण तथा रोकथाम गर्ने काममा सरकारलाई सहयोग गर्नुको साटो राजनीतिक दलहरूले गाउँ–गाउँमा पुगेर भेला तथा भिडभाड हुने गतिविधि गर्दै आएका छन् । स्थानीय प्रशासन तथा सम्बन्धित पालिकाको अनुरोधलाई समेत बेवास्ता गरी नेपाल कम्युनिष्ट पार्टी ‐नेकपा) र नेपाली कांग्रेसले भेला र जमघटलाई निरन्तरता दिएका हुन् । प्रशासन र स्थानीय तहको आग्रहलाई अटेर गरेका यी दुई ठूला दलको यतिबेला पार्टी प्रवेश गराउने होडबाजी नै चलेको छ ।
कोरोना संक्रमणको उच्च जोखिम रहेको सुर्खेतमा नेकपा र कांग्रेसका नेता हुल बाँधेर समुदायमा पुग्ने गरेका छन् । सयौंको संख्यामा कार्यकर्ता भेला गरेर उनीहरूले संक्रमण जोखिमको प्रवाह नै नगरी कार्यक्रम गर्ने गरेका हुन् । दलका गैरजिम्मेवार गतिविधिको चौतर्फी रूपमा आलोचना भएपनि उनीहरूले भेला र भिडभाड गर्न छाडेका छैनन् । भिडभाड व्यवस्थापनका लागि स्थानीय प्रशासन र पालिकाहरूले सर्वसाधारण नागरिकलाई कडाइ गरिरहेका बेला दलहरूका यस्ता गतिविधि रोक्न नसकेका हुन् ।
कोरोना महामारीमा पार्टी प्रवेश गराउने, स्थानीय तहका नेताहरूलाई भेट्ने र संगठन विस्तार गर्ने जस्ता परिस्थिति प्रकूल हुने क्रियाकलाप दलहरूबाट हुँदै आएका छन् । एकातिर दलहरूका असामान्य गतिविधि र अर्कोतिर सरकारी कार्यालयहरूमा देखिएको सेवाग्राहीको भिडले संक्रमणको जोखिम झनै बढाएको छ । मालपोत, यातायात तथा बैंकहरूमा सेवाग्राहीको थामि नसक्नु भिड छ । सेवाग्रहीको भिड व्यवस्थापन गरेर संक्रमण्को जोखिम न्यूनीकरण गर्नेतर्फ सम्बन्धित कार्यालय प्रमुखहरू उदासीन देखिएका छन् । यसले कोरोना भाइरस झन् तीव्र गतिमा समुदायमा फैलिने संकेत गरेको छ ।
जिल्लाभर सबैभन्दा बढी संक्रमणको जोखिम रहेको वीरेन्द्रनगर नगरपालिकामा समेत अत्यधिक भिडभाड बढेको छ । बजारक्षेत्र र सरकारी कार्यालयहरूमा मानिसहरूको अत्यधिक चाप छ । तर, यो भिडलाई भने प्रशासन र वीरेन्द्रनगर नगरपालिकाले नजरअन्दाज गरिरहेको छ । वीरेन्द्रनगर नगरपालिकाका उप–प्रमुख तथा कार्यवाहक प्रमुख मोहनमाया ढकालले प्रशासनसँग समन्वय गरी भिडभाड नियन्त्रण गरिने बताइन् । ‘राजनीतिक दलले नगरभित्र सभा गरेको जानकारी हामीलाई छैन,’ उनले भनिन् ‘कहीँ कतै भएको खण्डमा त्यसो नगर्न अनुरोध गर्छौ ।’ संघ तथा प्रदेश मातहतका कार्यालयहरूको भिडभाड रोक्ने कुरामा आफूहरूलाई अधिकार नभएको भन्दै ढकालले स्थानीय तहको अधिकार क्षेत्रभित्र रहेका कार्यालय तथा स्थानहरूको भिडभाड व्यवस्थापनमा आफूहरू लागि रहेको दाबी गरिन् ।
सुर्खेतको सिम्ता गाउँपालिकामा गत भदौ १६ गते नेकपाले भेलाको आयोजना ग¥यो । जसमा केन्द्रियस्तरका नेतादेखि स्थानीय तहका जनप्रतिनिधिसमेत सहभागी थिए । गाउँपालिका अध्यक्ष कविन्द्र केसीले पार्टीको आफ्नो संरचना हुने र केन्द्रीय तथा प्रदेशस्तरका नेताहरूले नै पार्टीको कार्यक्रम गर्ने गरेको बताए । ‘दलहरूका यस्ता भेटघाटले भिडभाड भएको कुरालाई म स्वीकार्छु,’ उनले भने ।
यस्तै, सुर्खेतकै पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्रबहादुर थापाले स्थानीय तहका जनप्रतिनिधिलाई नटेरेर दलहरूले कार्यक्रम गर्ने गरेको बताए । उनी भन्छन्, ‘यसरी भेला नगरौं भन्दै आएका छौं । केन्द्रियस्तरका नेताहरूले हाम्रो अनुरोधलाई मान्नुहुन्न ।’
राजनीतिक दलका माथिल्लो स्तरका नेताहरूबाटै जोखिमको बेवास्ता हुन थालेपछि स्थानीय तहका जनप्रतिनिधिहरूले नै गुनासो गर्ने गरेका छन् । आफूहरूको प्रयासले मात्रै भिडभाड नियन्त्रण गर्न सम्भव नभएको भन्दै उनीहरूले राजनीतिक दलहरूरलाई जिम्मेवार बन्नुपर्ने बताएका छन् । चौकुने गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीले बारम्बार भिडभाड हुने गतिविधि नगर्न आग्रह गरेपनि केन्द्रीय तथा प्रदेश तहका नेताहरूले अटेर गरेको बताए । ‘हामीलाई झनै अप्ठ्यारो परेको छ,’ उनले भने ‘आग्रह त गरेकै छौं । उहाँहरूले हाम्रा कुरा सुन्नुहुन्न ।’
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जिल्लाका राजनीतिक दलका प्रमुख नेताहरूलाई भिडभाड नगर्न अनुरोध गरिसकिएको बताए । बजारमा हुने भिडभाड रोक्न भने निकै चुनौती देखिएको प्रजिअ रेग्मीले जनाए । उनले भने, ‘नागरिकहरूको अटेरीपना रोक्न निकै चुनौती भएको छ ।’
प्रकाशित मितिः २० भाद्र २०७७, शनिबार ०६:०३
साझा बिसौनी ।