पदमार्गः प्रदेशको पहिचान र पर्यटकीय गन्तव्य

विषय प्रवेश
मुलुक संघीय संरचनामा गएपछि सात सय ५३ वटा स्थानीय तह बनाइयो, नगरपालिका र गाउँपालिकाका रूपमा । तिनैमध्येको एउटा नगरपालिका हो, वीरेन्द्रनगर । यो कर्णाली प्रदेशको राजधानी पनि हो । अलि बढी सुगम र विकसित हुनुपर्ने नगर । अलि बढी व्यवस्थित हुनुपर्ने नगर । राजधानी भनेपछि विकसित हुनुपर्ने, झिलीमिली हुनुपर्ने । अन्य ठाउँमा कतै नदेखेका, नभेटिएका कुराहरू राजधानीमा भेट्न र देख्न पाइने मान्यता राखिन्छ । स्वाभाविक पनि हो ।
हरेक वडामा विकास र समृद्धिका केही न केही सम्भावना रहेका छन् । शिक्षाको सम्भावना । स्वास्थ्यका सम्भावना । कृषिका सम्भावना । पशुपालनका सम्भावना । विद्युतका सम्भावना । पर्यटनको सम्भावना । उद्योगको सम्भावना आदि । यो वीरेन्द्रनगरका वडामा पनि लागू हुन सक्छ । यसका अतिरिक्त वीरेन्द्रनगर पर्यटनको राम्रो सम्भावना बोकेको ठाउँ हो । पर्यटक आउनको लागि निहुँ चाहिन्छ । के हेर्न जाने ? के खान जाने ? विशेष कुरा के छ ? पर्यटकलाई उत्सुकता जगाउने काम भएमा मात्र पर्यटकको संख्यामा बढोत्तरी भएर पर्यटन उद्योग बढ्ने हो ।
पहिला म गाउँमा सानो हुँदा पनि सुर्खेत गएर के–के हेर्न मन छ त ? किन जाने हो सुर्खेत ? बुलबुले ताल हेर्न ? काँक्रेविहार हेर्न ? देउतीबज्यै हेर्न ? घण्टाघर हेर्न ? राजाको शालिक हेर्न ? जस्ता थुप्रै कुराहरू मलाई सोधिन्थे । ती कुराले मलाई पनि कौतूहल्ता जाग्थ्यो । कहिले सुर्खेत पुगेर ती कुरा हेर्ने वा देख्ने होला भन्ने लाग्थ्यो । अहिले पनि सुर्खेतलाई सुन्दर नगरी भनिन्छ । शान्त नगरी । हरित नगरी । शैक्षिक हव । कर्णाली प्रदेशको राजधानी । कर्णालीको अलि–अलि पानी अडिने ठाउँ । यस्तै–यस्तै । यसकारण यहाँ नयाँ–नयाँ कुराहरूको स्थापना र विकास गर्नु आजको आवश्यकता हो ।
खोर्के–गढी पदमार्गको प्रसङ्ग र प्रभाव
वीरेन्द्रनगर वडा नं. ४ मा सानो खोर्केखोला छ । यहीँदेखि गोठीकाँडासम्मको करिब पौने चार हजार मिटर दूरी लम्बाई रहेको पदमार्ग निर्माण हुँदैछ भन्ने सुनेपछि एक दिन म बिहान त्यहाँ गएको थिएँ । भाद्रको महिना । आजभन्दा एक हप्ता अगाडि । मानिसहरू असाध्यै धेरै देखेँ । कोही उकाली चढ्दै थिए । कोही ओराली झर्दै थिए । या त सुरुको चरण भएर हो । यसलाई सबैले रुचाए । यसको लोकप्रियता हेर्दा यो अत्यन्तै लोकप्रिय पदमार्गको रूपमा रहने अनुमान गरेँ ।
वीरेन्द्रनगर आउने पर्यटक पक्कै पनि त्यहाँ जानेछन् । भ्रमणको एउटा पक्ष पदयात्रा पनि हो । हालका दिनमा पनि बिहान अत्यन्तै भिड हुन्छ । मानिसहरूको बिहानी हिँडाइ र सन्ध्या हिँडाइको राम्रो ठाउँ बनेको छ । यसको निर्माण र विकासको बारेमा एक दिन त्यसै वडाका वडाध्यक्ष निलकण्ठ खनालसँग जिज्ञासा पनि राखेको थिएँ । उनले यो आर्थिक वर्षमा आधा जति काम भएको छ भने सम्पन्न भएमा यसले राम्रो पर्यटक बजार लिन सक्ने बताए । यदि यसलाई विभिन्न मापदण्ड अनुसार विकास गरी चौडाइ समेत बढाएमा यो एउटा उत्कृष्ट गन्तव्यको रूपमा रहन सक्ने छ ।
पदमार्गको आकर्षक उकाली र ओरालीको हिँडाइ हुनेछ । वन क्षेत्रको बीचमा भएकाले पनि यसको रमाइलो त्यत्तिकै हुनेछ । वीरेन्द्रनगर लगायत सुर्खेतमा विभिन्न प्रकारका गन्तव्यहरू रहेका छन् । यस्ता गन्तव्यहरूको विविधीकरण गरेर नयाँ पर्यटकीयस्थल र उपजहरूको पहिचान, विकासले अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्न सक्ने देखिन्छ । रोजगारीका अवसर सिर्जना भइ गरिबी न्यूनीकरणमा समेत सहयोग पु¥याउने हुन्छ । जनताको जीवनस्तर सुधार हुन्छ । ती ठाउँहरू विकासको प्रतिक्षामा छन् । यो पदमार्ग सबै मौसममा पर्यटकीय क्रियाकलापहरू सञ्चालनका लागि आन्तरिक पर्यटकको औधि सम्भावना रहेको ठाउँ हो । यो ठाउँ पर्या–पर्यटनको लागि त्यत्तिकै सम्भावित ठाउँ हो । यसलाई वातावरणमैत्री गन्तव्यको रूपमा विकास गर्न सान्दर्भिक हुन्छ । दिगो विकासको मन्त्रझैँ ।
कुनै चिज सानो भए पनि महत्व ठूलो हुन्छ । वीरेन्द्रनगर आउने पर्यटकको यही पदमार्गको कारण बसाइँ लम्बिने सम्भावना रहन सक्छ । किन कि फ्रान्सको पेरिस सहरमा मुसे रोडीन र मोनेट संग्रहालयले धेरै दिन पर्यटकलाई त्यहाँ बसाल्दो रहेछन् । यदि तपाईं पेरिस आउनु भयो भने रोडीन र मोनेट संग्रालयन हेरी नफर्कनु है भनेर प्रचार–प्रसार गरिँदो रहेछ । वर्तमानमा मानिस सुविधाभोगी बनेको छ । शारीरिक अभ्यासमा नियमितता छैन । यो सन्दर्भमा यो ठाउँ बाक्लो बस्ती भएको बजार तथा आसपासका मानिसको नियमित बिहानी हिँडाइ गरेर स्वास्थ्य राम्रो बनाउने सहयोगी गन्तव्य पनि हुन सक्छ । यसको राम्रो प्रचार–प्रसार हुन सकेमा धेरै लाभ हुन सक्छ । अन्य सम्भाव्यतालाई पनि जोडेमा यसले सकारात्मक सन्देश प्रवाह गर्न सक्छ । सुर्खेतको सन्दर्भमा यो विशिष्ट कुरा हो । यसले आन्तरिक पर्यटनमा पक्कै पनि टेवा पु¥याउने छ । यस्ता गन्तव्य पूराना, नयाँ सबै पुस्ताको लागि उत्तिकै महत्वपूर्ण हुन्छन् ।
यहाँ पहाडी दृष्यको अवलोकनको अवसर रहन्छ । बरु बीचमा रहेको पानीका स्रोतलाई प्राकृतिक कुवाको रूपमा विकास गर्न सके थप आकर्षक बन्न सक्छन् । माथि गोठीकाँडा नजिकको सल्लाघारीलाई थप संरक्षणका कार्यक्रम ल्याएर हराभरा बनाएमा पाल्पा तानसेनको सल्लाघारी जस्तै आकर्षक देखिन्छ । यहाँभित्र रहेका विभिन्न सम्पदाहरूको पनि सोही रूपमा विकास गर्न सकेमा यसले थप टेवा प्रदान गर्दछ । त्यहाँ बीचमा एउटा राकसपाइला भन्ने ठाउँ रहेछ । त्यसको छुट्टै ऐतिहासिक महत्व रहेको हुन सक्छ । त्यसको ऐतिहासिक किंवदन्तीको सम्भाव्यता अध्ययन गरी पाइला निर्माण गर्न सकिन्छ ।
मानिसहरूलाई एउटा घुम्ने निहुँ चाहिन्छ । पैसा खर्च गर्ने ठाउँ पनि चाहिन्छ । यसलाई त्यहाँका जनताले बुझ्न सकेमा आय पनि बढ्छ । केही ऐतिहासिक सम्पदाको संरक्षणमा स्थानीयबासीका साथै राज्यको त्यत्तिकै जागरूकता हुनु आवश्यक रहेको हुन्छ । माथि गढीदेखि विस्तार गरी यसको दूरी लामो बनाएर एक दिने पदयात्रा र दृश्यावलोकनका लागि अत्यन्त उत्कृष्ट गन्तव्य बनाउने सम्भावना पनि यहाँ देखिन्छ । गोठीकाँडा कालिज पाइने स्थान, होम–स्टे भएको ठाउँ अथवा विभिन्न नयाँ परिकार वा चिजले लोभ्याउन सक्छ । जुन ठाउँ ग्रामीण पर्यटकीय स्थलको रूपमा समेत लिन सकिने अवस्था छ ।
सडक विस्तारसँगै पदमार्ग हराउँदै गएको वर्तमान अवस्थामा यसलाई पुनर्जीवन दिनु प्रदेश सरकार, स्थानीय सरकार र यहाँका जनप्रतिनिधिहरूको स्रहानीय काम हो । यो वातावरणमैत्री काम हो । यहाँको नजिक दैलेख र सुर्खेतको रानीमत्ताको लेक, गुराँसे, गाईबान्ना र रातानाङ्गला समेत रहेकोले त्यहाँसम्मको पैदल यात्रा गराएर रमाइलोको उपभोग गर्न मिल्ने पनि रहेको छ । यो क्षेत्र मनोरञ्जन र जैविक विविधतामा रमाउने ठाउँ पनि हो । प्राकृतिक दृश्यावलोकन र मनोरञ्जनका लागि उपयुक्त छ । यहाँको मात्रै नभएर हाम्रो देश नेपालको जुनसुकै ठाउँमा पनि जैविक विविधताले प्रकृतिलाई सुन्दर बनाएको छ । साल, सिसौ, सिमल, सल्ला, गुराँसलगायतका वनस्पतिको विविधता यहाँ रहेको छ ।
वि.सं. २०३३ तिर स्थापित सुर्खेत उपत्यकाभित्र पर्ने कटकुवा, गोठीकाँडा र जर्बुटा तत्कालीन गाउँ पञ्चायतभित्र पर्ने केही भागलाई मिलाएर वीरेन्द्रनगर नगरपञ्चायतको रूपमा भएकाले पनि यो पदमार्गको ऐतिहासिक महत्व रहेको छ । पछि साविकका उत्तरगंगा, गढी, रतु, गर्पन गाउँ विकास समिति मिलाएर हाल १६ वटा वडाको नगरपालिका बनेको छ । भौगोलिक रूपमा नेपालको राजधानी काठमाडौँदेखि लगभग ६ सय कि.मी. उत्तरपश्चिममा समुद्री सतहबाट लगभग ६ सय ६५ मिटर जतिमा अवस्थित यो नगरपालिकाको उत्तरमा महाभारत पर्वतको रानीमत्ता, रातानाङ्गला र दक्षिणमा चुरे पहाडको हर्रे, देउरालीका मनोरम पहाडद्वारा घेरिएको कचौरा आकारमा दक्षिणतर्फ ढल्किएको सानो, न धेरै जाडो न धेरै गर्मी हुने सुन्दर उपत्यका हो । यस नगरपालिकाको पूर्वमा पाम्का र साटाखानी तथा पश्चिममा हरिहरपुर, कुनाथरी तथा लेखगाउँ एवम् उत्तरमा दैलेख जिल्लाको गोगनपानी र दक्षिणमा भेरी नदी रहेको शोभनीय क्षेत्र छ । भविष्यमा पदमार्ग ती ठाउँहरूमा जोेड्न सकिन्छ ।
पदयात्राको लागि यो गन्तव्य उपयुक्त किन पनि हो भने यहाँ पहाड, उपत्यका, चुरे, महाभारत तथा भित्री मधेशको विशेषतालाई एकै दिनमा अनुभव गर्न सकिन्छ । त्यसैले धेरैलाई खुशी दिन सक्ने गन्तव्य बन्न सक्छ । नेपालमा धेरै विदेशी पर्यटक आएर विभिन्न संरक्षित क्षेत्रमा घुम्ने गरेका छन् । शिवपुरी, चितवन, बर्दिया, सगरमाथा, शुक्लाफाँट, रारा, खप्तड, कोशी टप्पु, लाङटाङ, अन्नपूर्ण, ढोरपाटनदेखि लिएर पर्यटकहरूले मन पराएका विभिन्न गन्तव्य जैविक विविधता भएका छन् । यसको कारणबाट अर्को फाइदा के हुन्छ भने संसारमा लोप भइसकेका र लोप हुन थालेका वन्यजन्तु र वनस्पति नेपालमा सुरक्षित छन् । यसै गरी यो पदमार्गको फेदीमा पनि विभिन्न सम्भावना रहेका छन् । खोर्के खोला, जिरो ड्याममा घट्ट, होटेल तथा रेष्टुरेण्टको व्यवस्था भएमा यसबाट लाभ लिन सकिने हुन्छ । यस पदमार्गबाट नेपालको सहरी र ग्रामीण बस्ती दुवैलाई नियाल्न सकिन्छ । यदि पदमार्ग निर्माण भएमा मलाई लाग्छ सबै सिजनमा यहाँ मानिसहरूको भिडभाड हुन्छ । अझ बिहानको समयमा त मानिसहरू अत्याधिक नै हुनेछन् । यसले वातावरण संरक्षणमा समेत सकारात्मक प्रभाव पार्न सक्नेछ । सामुदायिक वनको चोरी तस्करीमा समेत चहलपहलले रोक्नेछ । साना ठूला होटल व्यवसाय सञ्चालन गर्नेका लागि आम्दानीको राम्रो स्रोत हुन सक्छ । राम्रो व्यवस्थापन गर्ने हो भने पदयात्राको लागि सञ्चालन तथा व्यवस्थापन समिति निर्माण गरी सामान्य शुल्क तिरी विभिन्न प्रवेशाज्ञा र अनुमति प्रदान गरेर आम्दानी बढाउन सकिने सम्भावना पनि देखिन्छ ।
यसै क्षेत्रमा उपयुक्त स्थान हेरी भ्यू टावर निर्माण गरी आकर्षण थप्न सकिन्छ । साहसिक पर्यटनलाई पर्यटकीय उपजको रूपमा विकास गर्न स्की, रकक्लाइमिङ, प्याराग्लाइडिङ्ग, बन्जी जम्पिङजस्ता क्रियाकलापहरूलाई प्रोत्साहन गर्न सके अझै बढी सम्भावनाका ढोकाहरू खुल्थे । हिमाली भेगमा रहेका पदमार्ग नै नेपाली पर्यटन उद्योगका मुख्य आधारशीला बन्दै आएका छन् । धेरै धुले सडक निर्माणका कारण पनि पर्यटकले पैदल यात्रा रुचाउन खोजेको अवस्था छ । पदमार्गका विभिन्न स्थानमा खुलेका होटेल र चिया पसलको व्यापारसँगै कतिपय ठाउँमा भरियाहरूको रोजगारी समेत प्राप्त भइरहेका छन् । सडक डिजाइन गर्दा पदमार्ग बचाउने सोच नै नभएका कारण धुले सडकको अवस्था आएकोे हो । स्थानीय कृषि सामग्री समेतको सहज विकास हुन्छ । बीचमा धारा, मन्दिर, चौतारा, विश्रामस्थल, चमेनागृह, शौचालय, फोहोर व्यवस्थापन कन्टेनर जस्ता कुराले व्यवस्थित, रमाइलो र सहज पनि बनाउँछ । यो छायाँङ्कनको लागि पनि राम्रो गन्तव्य बन्न सक्छ ।
उपसंहार
खोर्के–गढी पदयात्रालाई एउटा चर्चित पदयात्राको गन्तव्य बनाउन सकिन्छ । यहाँबाट पहाडी तथा उपत्यकाका मनोरम दृश्य र वातावरणको दृश्यावलोकन गरी आनन्द लिन सकिन्छ । यहाँको जैविक विविधता र चराचुरुङ्गीले मानिसहरूलाई लोभ्याउँछन् । यहाँको सुरक्षाको प्रबन्ध राम्रो मिलाउन सकेमा कहिलेकाहीँ हुने अशोभनीय आपराधिक गतिविधि रोकिन्छन् । यसलाई वीरेन्द्रनगर–भैरवस्थान–गोठीकाँडा हुँदै सिद्धपाइला–गुराँसे पनि र गोठीकाँडादेखि पश्चिम सम्भावित स्थानसम्म विस्तार गरेमा यसले पर्यटन विकासमा सकारात्मक परिणाम दिन सक्छ । प्रदेश सरकार, वीरेन्द्रनगर नगरपालिका र सम्बन्धित वडा समेतले यसलाई समन्वयात्मक रूपमा विकास गर्न सकिन्छ । यसको निर्माण र विकासको लागि त्यति ठूलो बजेट आवश्यक नपर्ला । सुर्खेतको पहिचानको लागि पनि यो रहस्यमय बनोस् ।
प्रकाशित मितिः १९ भाद्र २०७७, शुक्रबार ०७:३५
ध्रुवकुमार अधिकारी ।