अनियन्त्रित कोरोना

नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भित्रिएको सात महिना पुग्यो । यो अवधिको करिब चार महिना देश लकडाउनमा थियो । अहिले लकडाउन खुलाइए पनि विभिन्न जिल्ला र स्थानीय तह भने निषेधाज्ञामा छन् । कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि यसो गरिएको हो । किनभने अहिले पनि मुलुक संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छ । कोरोनाको संक्रमणबाट मुक्त हुन सकिरहेको छैन । जोखिम कायमै छ । न्यूनीकरण हुन सकेको छैन । दिनप्रति दिन बढ्दै गइरहेको छ । संक्रमितका साथसाथै मृत्यु हुनेको संख्या पनि बढ्न थालेको छ । त्यसमाथि पछिल्लो समय लक्षणसहितका संक्रमित देखिन थालेका छन् । यसअघि भने संक्रमण पुष्टि भए पनि लक्षण देखिएको थिएन । लक्षणसहितका संक्रमित फेला पर्न थालेपछि जोखिम पनि पहिलेको भन्दा बढेको छ ।

कोरोना मानव जीवनकै चुनौति बनेर आएको छ । यसको सामना सबैले गरिरहेका छन् । कर्णाली प्रदेशमा पनि कोरोना नियन्त्रण हुन सकेको छैन । अनियन्त्रित अवस्थामै छ भन्दा फरक पर्दैन । किनभने संक्रमितको संख्या बढिरहेकै छ । नयाँ फेला परिरहेकै छन् । समुदायमा पुगिसकेको छ । सार्वजनिक कार्यालयमा कार्यरत कर्मचारीहरूमा पनि संक्रमण देखिएको छ । यो थप जोखिमको अवस्था हो । तर कोरोना प्रतिकार्यमा भइरहेका प्रयास भने प्रभावकारी हुन सकेका छैनन् । कोरोना संक्रमण अघि–अघि हाम्रो व्यवस्थापन पछि–पछि दौडिरहेको भान हुन्छ । ठोस योजना पनि केही छैन । सुरुवातमा लामो समय लकडाउन गरियो । जसले सबै क्षेत्र प्रभावित बने । नागरिक आक्रान्त बने । धेरैले रोजगारी गुमाए । लकडाउन खुलेपछि अवस्था अनुसार निषेधाज्ञा गर्ने गरिएको छ । लकडाउन र निषेधाज्ञालाई नै समस्या समस्याको उपाय मानिएको छ । तर यतिले मात्रै समाधान हुने होइन । वैकल्पिक उपाय र योजना खोज्नुपर्ने हो । सरकारका सबै संरचनालाई व्यवस्थित तवरबाट परिचालन गरेर उन्मुक्ति दिनुपर्ने हो । त्यसतर्फ भने ध्यान पुगेको छैन ।

ढिला गरेर परीक्षण थालियो । त्यो पनि सबैको पहुँचमा छैन । झन् अहिले त कर्णाली प्रदेश सरकारले लक्षण देखिएका व्यक्तिलाई मात्रै आरटी–पीसीआर परीक्षण गर्ने निर्णय गरेको छ । विगतमा प्रदेश भित्रिने नाकाहरूमा गरिने परीक्षण अब गरिने छैन् । समुदायस्तरमा पनि परीक्षण गर्न रोकिएको छ । पीसीआर परीक्षणले मात्रै कोरोना नियन्त्रण गर्न सम्भव नहुने निष्कर्षमा प्रदेश पुगेको छ । यद्यपि यसको विकल्पमा गर्ने कामको योजना बनेको छैन । दीर्घकालीन स्वास्थ्य संरचनाको विकास र सुधार गर्ने बताइएको त छ तर त्यसले तत्कालको कोरोना संक्रमण नियन्त्रण तथा रोकथाममा योगदान पुग्दैन । दीर्घकालीन संरचना विकास गर्न जरुरी छ । सँगसँगै अहिलेको संक्रमणसँग जुध्ने उपाय पनि अपरिहार्य छ । यो अपरिहार्यतालाई भुल्नु हुँदैन । नागरिकलाई स्वयम् सचेत बनाउने, संक्रमितहरूका लागि मनोवैज्ञानिक परामर्शहरू दिने, सही सूचना र जनचेतनामूलक सन्देशहरू सम्प्रेषण गर्ने लगायततर्फ पनि ध्यान दिन आवश्यक छ ।

प्रकाशित मितिः   १९ भाद्र २०७७, शुक्रबार ०७:३३