थप १८ जनामा कोरोना

कर्णाली प्रदेशमा बिहीवार थप १८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । प्रदेशका चार जिल्ला तथा अन्य प्रदेशका दुई जिल्लाका व्यक्तिहरूमा संक्रमण पुष्टि भएको हो । प्रदेश अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १२ जना र जिल्ला अस्पताल दैलेखमा भएको परीक्षणमा ६ जनामा कोरोना देखिएको प्रदेश स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । सुर्खेतमा कोरोना पुष्टि भएकाहरू वीरेन्द्रनगर नगरपालिकाका पाँच जना, चौकुने गाउँपालिकाका एक जना, नारायण नगरपालिका दैलेखका एक जना, नरहरिनाथ गाउँपालिका र पचालझरना गाउँपालिका कालीकोटका एक–एक जना, बाँकेका एक र दाङका दुई जना हुन् ।

जिल्ला अस्पताल दैलेखमा भएको पीसीआर परीक्षणमा कोरोना पुष्टि हुनेहरूमा डुङ्गेश्वर गाउँपालिकाका दुई जना, नारायण नगरपालिका–१ का तीन जना र महाबु गाउँपालिका–६ का एक जना रहेका छन् । योसँगै प्रदेशभर कोरोना संक्रमितको संख्या दुई हजार पाँच सय ६९ पुगेको छ । महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार बिहीवार ७६ जना कोरोनामुक्त भएका छन् । प्रदेशमा हालसम्म कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या दुई हजार दुई सय एक पुगेको छ ।

बिहीवारसम्म कोरोनाका सक्रिय संक्रमित तीन सय ६२ जना रहेको प्रदेश स्वास्थ्य सेवा महाशाखा प्रमुख वृषबहादुर शाहीले जनाए । कर्णालीमा हालसम्म कोरोनाका कारण ६ जनाको मृत्यु पुष्टि भएको छ ।

प्रकाशित मितिः   १९ भाद्र २०७७, शुक्रबार ०७:३०