मल नपाउँदा धान उत्पादन घट्ने

कर्णालीमा १५ प्रतिशतले उत्पादन कमी हुने कृषि विज्ञहरुको आँकलन

यो वर्ष कर्णालीमा धानको उत्पादन घट्ने भएको छ । उत्साहप्रद रूपमा धान रोपाइँ भए पनि किसानहरूले समयमै रासायनिक मल नपाउँदा तुलनात्मक रूपमा उत्पादनमा ह्रास आउने भएको हो । कृषि विज्ञहरूका अनुसार धान बालीमा तीन पटकसम्म मल हाल्नुपर्छ । रोपाइँ र गोडमेल गर्ने समयमा धानमा मल अनिवार्य हाल्नुपर्ने हुन्छ । यस समयमा हालेको मलले उत्पादन बढाउँछ । मल नपाउँदा यस पटक धान उत्पादनमा करिब १५ प्रतिशतले कमी आउने कृषि विज्ञहरूको आँकलन छ । कृषि विज्ञ हरि पण्डित भन्छन्, ‘कर्णालीमा यो पटक १५ प्रतिशतसम्म धान उत्पादनमा कमी आउने देखिएको छ ।’

कर्णालीमा साउनको मध्यतिर रोपाइँ सकिइसकेका थिए । साउनदेखि नै धान गोडमेल गर्न सुुरु भइसकेको थियो । यहाँ खासगरी साउन १५ देखि भदौ १५ सम्म धान गोडमेल गर्ने समय हो । वर्षात्ले साथ दिएर समयमै रोपाइँ सकिँदा उत्पादन बढी हुुने भन्दै हर्षित भएका किसानहरू अहिले भने बालीमा मल हाल्न नपाउँदा उत्पादन घट्ने चिन्तामा छन् । उनीहरूले यो पटक मलविनै धान गोडमेल गरेका हुन् । कोरोना भाइरसका कारण देशभर लकडाउन भएपछि कर्णालीमा चैतयता मल आएको छैन । अब धानमा मल हाल्ने सिजन नै गइसकेको छ ।

कृषि विज्ञ पण्डितले पहाडमा भिरालो र खोलाहरूको चिसो पानीले सिँचाइ हुुने हुँदा खासै उत्पादनमा फरक नपर्ने बताए । उनका अनुसार पहाडमा पाँच प्रतिशतसम्म उत्पादनमा कमी आउने छ भने तराइ तथा भित्री मधेशमा पहाडको जस्तो सिँचाइ नहुनाले १० देखि १५ प्रतिशत उत्पादन घट्ने छ । उनले भने, ‘छिटो रोपाइँ भए पनि त्यस अनुुसार मल नपाउँदा यस वर्ष अघिल्लो वर्षको तुुलनामा उत्पादन घट्छ ।’

वीरेन्द्रनगर नगरपालिका–१२ का किसान पूूर्णप्रसाद अधिकारीलाई यसवर्ष समयमै पानी परेकाले धान रोपाइँ गर्न समस्या भएन । उनले समयमै रोपाइँ गरे । अघिल्लो वर्षभन्दा यसवर्ष धान उत्पादन राम्रो हुने उनको विश्वास थियो । तर धान गोड्ने समयमा उनले मल पाएनन् । समयमै मल नपाउँदा धान उत्पादनमा कमी आउने उनले चिन्ता व्यक्त गरे । ‘धान बालीमा मल हाल्नुुपर्ने समय गइसक्यो । रोपाइँको समयमा जसोतसो मल पाए पनि गोडमेल गर्ने बेलामा मल पाइएन,’ उनले भने ।

कर्णाली प्रदेशमा सल्यानबाहेकका जिल्लामा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले रासायनिक मल (यूरिया) आपूर्ति गर्दै आएका छन् । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयका प्रमुख टोपाराम गौतमले मल अझै पनि आइनपुगेको बताए । उनले चैतदेखि नै यूरिया मल भित्रिन नसकेको जनाए । उनका अनुुसार धान रोपेको एक महिनापछि कर्णालीका सुर्खेत, दैलेख र कालीकोटमा मात्र झण्डै पाँच सय मेट्रिक–टन मल आवश्यक पथ्र्यो । गएको वर्ष कर्णालीमा जेठसम्ममा चार हजार एक सय ६४ मेट्रिक–टन मल आपूर्ति भएको थियो । उक्त मल धान रोपाइँकै क्रममा सकिएको थियो ।

यो पटक कोरोना महामारीका कारण विशेष गरी धान रोपाइँ गर्दा धेरै मानिसहरू गाउँमा पुगेका थिए । कतिपय बाँझो जमिनमा समेत यो पटक धान खेती गरिएको थियो । जसका कारण पनि धान उत्पादन बढ्ने अनुमान थियो । तर, मल अभावले गर्दा उत्पानमा कमी आउने भएको हो । कर्णालीका अधिकांश स्थानमा आकाशेपानीको भर पर्नुपर्ने बाध्यता छ । तर यो पटक पर्याप्त वर्षा भएकाले समयमै रोपाइँ सकिएका थिए । यो वर्ष देशैभर गत वर्षको तुलनामा धानखेती बढी भएको कृषि विकास तथा पशुपन्छी मन्त्रालयको तथ्याङ्कले नै देखाएको छ । मन्त्रालयले साउनको अन्तिममा तथ्याङ्क सार्वजनिक गर्दै मनसुन सक्रिय भएसँगै मुलुकभर ९८ प्रतिशत रोपाइँ भएको जनाएको थियो । मन्त्रालयका अनुसार मुलुकभर १३ लाख ७१ हजार सात सय ६ हेक्टरमा रोपाइँ हुने स्थान रहेकोमा १३ लाख ४६ हजार नौ सय २० हेक्टरमा रोपाइँ भएको थियो । गत वर्षको तुलनामा ५१ हजार ६ सय ३८ हेक्टर क्षेत्रफल बढीमा रोपाइँ भएको छ । मल अभावले देशैभर धान उत्पादनमा भने असर पर्ने देखिएको हो ।

प्रकाशित मितिः   १९ भाद्र २०७७, शुक्रबार ०७:३२