निषेधाज्ञामा पनि रोकिएन संक्रमण
वीरेन्द्रनगरमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम उच्च भएपछि भदौ १ देखि १२ गतेसम्म निषेधाज्ञा जारी गरियो । निषेधाज्ञा गर्नुअघि एक महिनादेखि सेवाग्राहीको चाप हुने कार्यालयका सेवा समेत बन्द गरिए । प्रदेश राजधानी वीरेन्द्रनगरमा भिडभाड बढेपछि कोरोना रोकथाम तथा नियन्त्रणका लागि झण्डै दुई साता निषेधाज्ञा गरेपनि यही अवधिमा संक्रमणको दर भने झनै बढी देखिएको हो । निषेधाज्ञाको अवधिमा मात्रै वीरेन्द्रनगरका थप ८३ जनामा कोरोना पुष्टि भएको छ । यी संक्रमितमध्ये अधिकांश समुदायस्तरका हुन् ।
कोरोना संक्रमणको जोखिम कायमै रहेपनि भदौ १३ गतेदेखि वीरेन्द्रनगरमा निषेधाज्ञा हटाइएको छ । भदौयता मात्रै वीरेन्द्रनगरमा दुई हजार तीन सय बढीको पीसीआर परीक्षण गरिएको छ । यहाँ दुई हजार तीन सय ६७ जनाको कोरोना परीक्षण भएको हो । त्यसमध्ये एक सय १२ जनामा संक्रमण देखिएको छ । भदौ १२ गते वीरेन्द्रनगर नगरपालिकाले एक सय ९४ स्वाब संकलन गरेकोमा तीमध्ये २२ जनामा कोरोना पुष्टि भएको थियो ।
जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुुख चेतननिधि वाग्लेले पछिल्लो समय वीरेन्द्रनगरमा संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरूको ‘कन्ट्याक्ट टे«सिङ’को आधारमा परीक्षण हुने गरेको बताए । उनका अनुसार अहिले मुख्यगरी बढी जोखिममा रहेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, तरकारी बजार र फुटपाथमा व्यवसाय गर्नेहरूको पीसीआर परीक्षण गरिँदै आएको हो ।
हालसम्म सुर्खेतमा सात सय ८८ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये एक सय सात जना सुुर्खेतमै रहेका अन्य प्रदेशका नागरिक हुन् । ती संक्रमित अधिकांश वीरेन्द्रनगरमै बस्नेहरू हुन् । वीरेन्द्रनगरमा स्थायी ठेगाना भएका दुई सय ४८ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमण समुदायमा व्यापक बने पनि परीक्षण भने केही सार्वजनिक स्थल र ‘कन्ट्याक्ट ट्रेसिङ्’का आधारमा मात्रै हुँदै आएको छ । मंगलवार सुर्खेतमा भेटिएका ११ जना संक्रमितमध्ये १० जना वीरेन्द्रनगरका छन् ।
पछिल्लो समय कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै रोकथाम र नियन्त्रणका लागि कर्णालीका विभिन्न जिल्ला तथा स्थानीय तहहरूमा कडाइ गरिएको छ । कतिपय जिल्लाहरूमा निषेधाज्ञा नै लागू गरिएको छ भने कतै आवत–जावतमा कडाइ गरिएको छ । तर संक्रमण भने दैनिक बढ्दो क्रममा छ । मंगलवार मात्र प्रदेशमा थप १४ जनामा कोरोना पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या दुई हजार चार सय ५६ पुगेको छ । तीमध्ये दुई हजार एक सय १९ जना संक्रमणमुक्त भएका छन् । प्रदेश स्वास्थ्य सेवा महाशाखको पछिल्लो तथ्याङ्क अनुसार कर्णालीमा तीन सय ३१ कोरोनाका संक्रिय संक्रमित छन् । कोरोनाका कारण ६ जनाको मृत्यु भएको छ । प्रदेशका १० वटै जिल्ला र ७९ मध्ये ७० भन्दा बढी पालिकामा संक्रमण फैलिएको छ ।
तीन डाक्टसहित नौ जनामा कोरोना
कर्णाली प्रदेश अस्पतालमा थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलवार वीरेन्द्रनगरमा ११ जनामा संक्रमण देखिएकोमा प्रदेश अस्पतालमा कार्यरत तीन जना डाक्टर, एक जना स्टाप नर्स र दुई जना कार्यालय सहयोगिमा कोरोना पुष्टि भएको हो ।
अस्पतालका कोरोना फोकल पर्सन प्रदीप न्यौपानेका अनुसार मंगलवार नै अस्पतालमा उपचाररत तीन जना बिरामीमा पनि संक्रमण देखिएको छ । हालसम्म प्रदेश अस्पतालमा चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी गरेर ३० जना बढीमा कोरोना संक्रमण देखिइसकेको छ । उनीहरूमध्ये कतिपय संक्रमणमुक्त भएर काममा फर्किसकेका छन् । डा. न्यौपानेले अहिलेसम्म अस्पतालका १४ जना चिकित्सक, १६ जना स्वास्थ्यकर्मी र केही कार्यालय सहयोगीमा संक्रमण पुष्टि भएको जनाए ।
ओपीडी सेवा पुनःसञ्चालन
प्रदेश अस्पतालका ६ जना डाक्टरमा कोरोना संक्रमण देखिएपछि भदौ ११ गतेदेखि बन्द रहेको ओपीडी सेवा सञ्चालनमा आएको छ । पाँच दिन आकष्मिक बाहेकका सबै सेवा बन्द गरेको अस्पतालले मंगलवारदेखि ओपीडी सेवा पुनःसञ्चालन गरेको हो ।
अस्पताल प्रशासनले ओपीडी सेवा सुरू भएपनि अस्पतालमा भिडभाड हुुँदा कोरोनाको जोखिम बढ्ने हुँदा सामान्य स्वास्थ्य समस्याका लागि अस्पताल नआउनसमेत अनुरोध गरेको छ । अस्पताल निर्देशक डा. डम्बर खड्काले कोरोना संक्रमण फैलिने जोखिम भएकाले सामान्य समस्या भएका बिरामीले टेलिफोनमार्फत डाक्टरहरूसँग परामर्श लिन तथा भर्ना गर्नैपर्ने खालका बिरामीसँग आउँदा पनि कम संख्यामा मात्र आइदिन अनुरोध गरेका छन् ।
पछिल्लो समय डाक्टर तथा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि प्रदेश अस्पतालमा पटक–पटक सेवा बन्द हुने गरेको छ । संक्रमितको उपचारमै नखटिएका डाक्टरहरूलाई समेत कोरोनाको संक्रमण देखिएको छ । उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मी नै संक्रमित भएपछि अवस्था जटिल हुन थालेको अस्पतालले जनाएको छ । प्रदेश अस्पतालको कोरोना विशेष अस्पतालमा संक्रमितको चाप हुनुका साथै कोरोना पुष्टि नभएका तर संक्रमण भएका व्यक्तिहरूको कारण जोखिम बढेको अस्पतालको भनाइ छ ।
प्रकाशित मितिः १७ भाद्र २०७७, बुधबार ०६:०३
साझा बिसौनी ।