अबदेखि लक्षण देखिए मात्रै परीक्षण
कर्णालीमा कोरोनाको लक्षण देखिएकाहरूको मात्रै आरटी–पीसीआर परीक्षण गरिने भएको छ । भदौ १ गतेदेखि प्रदेश भित्रिने नाकाहरूमा कोरोना परीक्षण अनिवार्य गरेको प्रदेश सरकारले अब भने लक्षण देखिएका, ‘कन्ट्याक्ट ट्रेसिङ’मा परेका र संक्रमणको आशंकितको मात्र कोरोना परीक्षण गर्ने भएको छ । मंगलवार बसेको प्रदेश विपद् व्यवस्थापन केन्द्र (पीसीएमसी) को बैठकले यस्तो निर्णय गरेको हो । उक्त निर्णय अनुसार नाकामा अबदेखि अनिवार्य पीसीआर परीक्षण हुने छैन । समुदायमा पनि संक्रमितको ‘क्लोज कन्ट्याक्ट’ मा रहेका व्यक्तिहरूको बाहेक अरुको परीक्षण नगरिने भएको हो । लक्षण नै देखिएकाहरूको हकमा भने नाका तथा समुदायस्तर दुवै ठाउँमा अनिवार्य रूपमा पीसीआर परीक्षण गरिनेछ ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पीसीआर परीक्षणमा मितव्ययीता अपनाएर बरु त्यसमा हुने खर्च दीर्घकालीन स्वास्थ्य संरचना बनाउने तयारी रहेको बताए । उनले कोरोना परीक्षण अनिवार्य नभइ आवश्यकताका आधारमा गरिने बताएका हुन् । यसअघि साउन २९ गते बसेको केन्द्रको बैठकले नाकाबाट भित्रिने सबैले अनिवार्य पीसीआर परीक्षणको रिपोर्ट देखाउनुपर्ने गरी निर्णय गरेको थियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव आनन्द सारुका अनुसार मंगलवारको बैठकले संघीय सरकारको स्वास्थ्य सम्बन्धी पछिल्लो मापदण्ड कार्यान्वयन गर्ने–गराउने निर्णय भएको हो । ‘लक्षण देखिएकाहरूलाई मात्रै नाकामा अनिवार्य परीक्षण गरिनेछ,’ उनले भने ‘त्योबाहेक कन्ट्याक्ट टे«सिङ र कोरोना देखिएको स्थानमा सिल गर्ने निर्णय भएको छ ।’
त्यस्तै बैठकले सामाजिक विकास मन्त्रालयले उपयुक्त मापदण्ड बनाइ कोरोना संक्रमितहरूलाई निःशुल्क उपचार गर्ने, प्रभावको विश्लेषण गरी आवश्यक पर्ने जनशक्ति, पूर्वाधार, उपचार सामग्री, औषधि तथा उपकरणको लेखाजोखा गरी आवश्यक प्रस्ताव पेश गर्ने निर्णय गरिएको छ ।
प्रकाशित मितिः १७ भाद्र २०७७, बुधबार ०६:०२
साझा बिसौनी ।