गैरजिम्मेवार दल
कर्णाली प्रदेशमा कोरोना संक्रमणको जोखिम घटेको छैन । दैनिक संक्रमित थपिने क्रम रोकिएको छैन । संक्रमणको दर थप बढ्न थालेपछि प्रदेश तथा स्थानीय सरकारले जोखिम न्यूनीकरण गर्न विभिन्न उपाय अपनाइरहेका छन् । केही स्थानीय तहमा अहिले पनि निषेधाज्ञा जारी गरिएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा १२ दिन लामो निषेधाज्ञा गत शनिवारबाट खुलाइएको छ । भिडभाड नगर्न प्रशासनले सचेत गराइरहेकै छ । यातायात सञ्चालनमा जोर–बिजोर लागू गरेको छ । तर यही जोखिमकाबीच यहाँका प्रमुख राजनीतिक दलहरू भने सरकारको निर्देशन अवज्ञा गर्दै हिँडेका छन् ।
महामारीबीच राजनीतिक दलहरू गाउँ पसेका छन् । चुनावी प्रचारको झल्को दिने गरी उनीहरूले पार्टी प्रवेश गराउन गाउँ–गाउँमा भेला तथा सभाहरू गरिरहेका छन् । संक्रमणको जोखिम उच्च रहेको भन्दै स्थानीय प्रशासनले कुनै पनि बैठक, गोष्ठी तथा भेला नगर्न सचेत गराइरहेका बेला दलहरू आमसभा र भेला गर्दै एकअर्को पार्टीका कार्यकर्ता भिœयाउने प्रतिस्पर्धामा देखिएका हुन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसको पार्टी प्रवेश गराउने होडबाजी छ । हरेक दिनजसो कार्यक्रम भइरहेका छन् । तर, प्रशासन भने मौन छ । दुई ठूला दल नेकपा र कांग्रेसका गाउँ केन्द्रित भेलाले कोरोना रोकथाम तथा नियन्त्रणका काममा असहयोग मात्रै पुगेको छैन संक्रमणको जोखिम पनि बढाइदिएको छ ।
भिडभाडले कोरोना संक्रमणको जोखिम बढाउँछ । यही कारण भौतिक दूरी कायम गर्न निर्देशन गरिएको छ । तर सरकारी निर्देशनको अवज्ञा गर्दै दलहरूले गैरजिम्मेवारपूर्ण तरिकाले आफ्नो गतिविधि गरिरहेका छन् । यो खेदजनक छ । सरकारले जारी गर्ने निर्देशन सबैका लागि समान रूपले लागू हुन्छ र हुनुपर्दछ । त्यसमाथि राजनीतिक दल यसप्रति बढी नै संवेदनशील र जिम्मेवार हुनुपर्ने निकाय हुन् । उनीहरूका जनताका प्रतिनिधि पनि हुन् । नागरिकलाई सचेत गराउनुपर्ने दायित्व उनीहरूको काँधमा पनि उत्तिकै छ । तर आफ्नो जिम्मेवारी भुलेर गैरजिम्मेवार बन्नु सुहाउने कार्य हुँदै होइन । बरु जोखिम बढाउने कार्य भइरहेको छ । यसको नियन्त्रण हुनुपर्दछ ।
विश्व नै यतिबेला कोरोना भाइरससँग जुधिरहेको बेला सुर्खेतका राजनीतिक दलहरूलाई भने आगामी चुनावको रन्को छ । उनीहरू नागरिकलाई भेला गरी पार्टी प्रवेश गराउने ध्याउन्नमै व्यस्त छन् । भेला, बैठक, समीक्षा लगायतका भिडभाड हुने गतिविधि नगर्न प्रशासनले भनेको छ । आफ्नो निर्देशन अवज्ञा गर्नेहरूलाई त्यस्ता गतिविधिमा रोक लगाउन प्रशासन पनि जिम्मेवार हुनुपर्दछ ।
कोरोनाविरुद्धको यो लडाइँ सामूहिक लडाइँ हो । यसमा हरेक व्यक्ति आफैमा सजग र सचेत हुनु अपरिहार्य छ । भिडभाड हुने कुनै पनि गतिविधि गर्नु जोखिम बढाउनु हो । यसले एक व्यक्ति मात्र नभएरै धेरै व्यक्तिमा प्रभाव पार्दछ । समुदाय नै जोखिममा पर्दछ । भविष्यमा भयावह अवस्था निम्त्याउने कार्यमा पूर्ण रोक लगाइनुपर्दछ । यसतर्फ दलहरू स्वयम् नै संवेदनशील हुनु अनिवार्य छ ।
प्रकाशित मितिः १६ भाद्र २०७७, मंगलवार ०६:०१
साझा बिसौनी ।