गाइज

बन्दी बनेको भविष्य

महेश नेपाली

‘ऐया ! कस्तो दुख्यो ।’

हिँड्दा हिँड्दै आइतेको खुट्टा घोचिएर सानो घाउ भयो । जीउ अलि गह्रौं भएर हो कि मार हान्दा राँगाको पछाडिका खुट्टा काटेपछि बसेजस्तै थचक्क बस्यो र हातले खुट्टा नसमात्दै उसको मुखबाट आवाज आयो ।

उसले हे¥यो । घाउ साहै्र सानो थियो । तर पनि बेस्मारी दुखिरहेको थियो । रगत थाम्न रुमालले बाँधेपछि एकछिन टोलायो ।

सानो घाउँ हुँदा यति दुख्छ भने ज्यानै जानेबेला मान्छेलाई पीडा कम हुँदो हो ? त्यसमा पनि लाउँ–लाउँ खाउँ–खाउँ भन्ने जोवनमा आत्महत्याको बाटो रोजे पछि । ज्यान जान सजिलो त कहाँ होला र ?

अहो ! आज साथीहरूले जुम मिटिङ्ग गर्ने भनेका थिए । टाइम पनि भइसकेछ । दुखाई कम गर्ने औषधि होला, खाएर होष्टिङ गर्छु । ऊ तयारीमा जुट्यो ।

उसको मोवाइलको घण्टी बज्यो । रहिनाको फोन रहेछ ।

‘या बे कहाँ छस् यार । टाइम भएन ? अनलाइन पनि देखिदैनस् त । बाजेको आदेशले तँलाई फोन गर्दैछु । छिटो गर दिदिको टाइम छैन रे आज । ढिलो भयो भने भ्याउँदिन भन्नुभएको छ । दिदि नभएपछि त तिमीहरू छाडा साँढेजस्ता भइहल्छौ नी ।’

आइतेका कुरै नसुनी बिजुलीको ट्र्वाइन घुमेसरी रहिनाले आफ्ना कुरा सकाई ।

‘ज्यू सरकार ! अनलाइन आउँदै गरिसयिला । अरु सबैलाई फोन गर्दै गरिसियो । म लिङ्क पठाइहालेँ ।

नाओ स्टार्ट आइतेज् मिटिङ्ग रुम ।’

‘हेलो गाइज !’ फाइबर इन्टरनेटको गतिमा आइतेको आवाज एक्सिडेन्ट भएर बिरामीको स्वर जसरी सबैको टुक्रा–टुक्रा भइ कानसम्म नबुझिने गरी आयो । टेलिकमको फोर–जी नेटको कमाल । संकेतै सही आइतेले के भनिरहेको छ बुझिहाले अरुले ।

‘हाइ आइते ।’ अरु बाँकी आवाज पनि आइतेले सेम टु यू स्टाइलमा बुझ्यो ।

नेट स्लो भए पनि टेलिकमै जिन्दावाद । मिटिङ्ग सुरु सुरु भयो ।

‘यसपालीको तीज नी सकियो । आफूले त भव्य सेलिब्रेसन गरियो, सोफियाको नो ब्रत र सरिता तिवारीको तीज खारेजीको समर्थन । ‘हाइ मेरो तीज’ । अँ साँच्चै त्यो भन्दा बढी मेरो माइती आइते ब्रोले पठाइदिएको जुम्ली स्याउ खाएर आनन्द लिइयो नि । यी हेर त ब्रो स्याउ खाँदा–खाँदा मेरा त गाला पनि स्याउ खाएजस्ता भइगए । कम्ता राम्री भाकी छु म । यो आइते यति ह्याण्डसम कसरी भयो भनेको त कारण यो पो रहेछ नी । दिदिको त झन् के कुरा गर्नु ? हाम्री दिदी त त्यसै पनि हिरोइन हो बाइ ।’

आइतेले सरकारी गाडीमा पठाइ दिएको स्याउ खाइपछि रहिनाको फुर्ती ।

‘के भन्छे यो ?’ झुमा र आइतेको आश्चर्य ।

‘भनेपछि अब बहुराष्ट्रिय कम्पनीका बासनादार माल नबिक्ने भए । आइते पुरै जिल्ला भरी स्याउ उत्पादन गरेर विश्वभरी बिक्री गरौंन यार । हाम्री रहिना जस्ती काली कुन कुन देशमा छन् त्यहाँ हाम्रो बजार भइहाल्छ । अनि त मालामाल । विज्ञापनमा यो कालीको पहिले र अहिलेको फोटो हालौंला नी । हेहे तँ त ब्राण्ड एम्बेस्डर यार ।’ महाशंकरको दिमागमा आइडिया फु¥यो बेलुन सरी ।

‘हेर है टुप्पी मलाई काली यताउता नभन । मार खालास् फेरि । ‘वान एप्पल ए डे, किप द डक्टर अवे’ भनेको थाहा छैन मूला ? थुक्क तेरो दिमाग कर्पोरेट हाउसले पो खाएछ छ त !’

रहिना महाशंकरको लागि यमराज हो । ‘बोल्यो कि पोल्यो’।

‘हेर नी यिनीहरू फेरि स्याल र कुकुर जस्तै एउटा बाँस्यो कि अर्को भुक्नै पर्ने । कति सकेको हो ? म त सक्दिन ।’

एक शब्द नबोलेको बक्रामले हप्कायो दुई नदिका किनारहरूलाई ।

‘कहाँ सक्छस् तँ । भगवानका मन्दिर मन्दिर र देउताका थान थानमा गएर अडिनुपर्ने मुर्तीहरू बोलेको कहीँ देखेको छस् तैले ?’

रहिना इटको जवाफ पत्थरले दिन्छे ।

‘ए भयो यार, अब । दिदीलाई हतार छ भनेकी होइनस् । अघिदेखि दिदि केही बोल्नु भएको छैन । हामी मात्र बकबक गरिरहेका छौं । बरु यसो गरौं न आज हाम्रा भाइ बहिनीहरूको विषयमा छलफल गरौं । उनीहरूले पढ्न नपाएको पनि आधा शैक्षिक सत्र भइसक्यो ।

कति धेरै आत्महत्याका केशहरू आइरहेका छन् । लकडाउनको सुरुवाती १६ दिनमा दैनिक १६ जनाले आत्महत्या गरेको तथ्यांक छ भने त्यसपछिका ४५ दिनमा दैनिक १७ जनाले । त्यसमा विद्यार्थीहरू पनि एसईई परीक्षा रोकिएपछि हाम्रो गाउँ नजिकको स्कुलको भाइले आत्महत्या ग¥यो । उसको बिहे हुनेवाला थियो । घर परिवारले बिहे गर्दिन भनेर केटी घरमा ल्याएका थिए । परिस्थिति एकदम भिन्न भइरहेको छ । किशोरीहरूमाथि यौनजन्य हिंसाका घटनाहरू बढिरहेका छन् ।

दिदी कस्तो होला ? हेर्नु न अघि हिँड्नेबेलामा खुट्टामा सानो घाउ लाग्दा मलाई अहिलेसम्म दुखिरहेको छ । अब मनभित्रका घाउहरूबारे कुरा गारौंन ।’ आइतेले होष्ट हुनुको कर्तव्य निभायो ।

‘हो भन्या । मैले हतार गर्न खोजेको कारण पनि यही नै हो । हाम्रो दिदीको छोरी केही दिन यता केही नबोली टोलाएर बसिरहेकी छ रे । दिदीले अलि अगाडि फोन गरेर झट्टै आइजा भन्नु भएको छ । सबैतिर केही न केही केही समस्या देखिरहेका छन् । यो भयानक बन्दै गइरहेको छ । ठिक छ आइते आज यही विषयमा कुरा गरौं न ।’

‘हाम्रोतिर पनि समस्या उही त हो नी । केटाकेटी बिग्रीसके । सरकार केही गर्न सकिरहेको छैन । नेटबाट पढाइ भनेर नाटक गरे पनि सबै ठाउँमा नेटको सुविधा छैन । हामी दुई तीन हप्तामा एक पटक जुट्न खोज्छौं तर पनि हाम्रो आवाज एक्सिडेन्ट भएर आउँछ । यस्तो अवस्थामा उनीहरूले कसरी पढ्न सक्छन् त ? यो त ज्यादती नै हो । के हामीसँग विकल्प नै थिएन ? ठिक छ आज यही विषमा केही सिकौं न ।’ बक्राम बोल्यो ।

‘केटाकेटी बिग्रिसके त नभनौं । यसरी घोषणा गर्नु पनि राम्रो हुन्न । तर बन्धक हुँदा उनीहरूको मनस्थितिमा असर परिरहेको छ । उनीहरूले सिक्ने वातावरण बनिरहेको छैन । सबैको घरमा सिकाइको लागि उपयुक्त वातावरण नहुन सक्छ । त्यसैले स्कुल र त्यहाँका शिक्षकहरूले पनि व्यक्तिगत रूपमा केही गर्न सक्थे । त्यो गरेनन् ।

केही समय स्कुल बन्दा हुँदा अस्वाभाविक थिएन । तर स्कुल बन्दसँगै विद्यार्थी बन्दि भएपछि समस्या आएको हो । हाम्रा सरकारी संयन्त्र चुकिरहेका छन् । यो समस्याको समाधान कस्तो हुन सक्ला ? दिदीले नै भन्नुभयो भने राम्रो हुन्थ्यो ।’

‘महाशंकर तिमीले भनेको कुरा सही हो । अहिले सारा विश्वले माहामारी भोगिरहेको छ । त्यसको प्रत्यक्ष असर हाम्रो जस्तो मुलुकलाई झन् बढी नै पर्छ । मुलुकलाई असर पर्ने भएपछि हामीलाई पनि त्यसको हिस्सा लाग्ने नै भयो । यस हिसाबले हामीलाई केही हदसम्म कठिन त छ नै । तर पनि हरेक समस्याको उचित व्यवस्थापन नगरी सुख छैन ।

अहिले हामी छलफल गर्न खोजेको स्कुले विद्यार्थीको विषयमा हो । उनीहरूले पढ्ने स्कुल पुरै बन्द छन् । सुरुमा स्कुललाई क्वारेन्टाइन बनाइयो । अहिले पनि केही स्कुलहरूमा आइसोलेसन बनाइएको छ । संकटमा राज्यले आफ्ना सबै संयन्त्रहरूलाई आफू अनुकुल प्रयोग गर्न सक्छ । तर भविष्यलाई रोक्न कोही पनि सक्दैन । विद्यार्थी हाम्रा भविष्य हुन । उनीहरू रोकिनु हुन्न ।

हाल हाम्रा स्कुल, कलेजहरू बन्द छन् । यस हिसाबले औपचारिक सिकाइका सबै बाटाहरू पनि बन्द नै छन् । सिकाइको अनौपचारिक उपाय कहिले पनि बन्द नहुनु पर्ने हो । तर हाम्रोमा बन्द छ । त्यसैले पनि अघि आइतेले भने झै गरी समस्याहरू भोग्न परिरहेको छ ।

सुरुवाती १४ दिन स्कुल कलेज सबै बन्द हुँदा समस्या थिएन । सिकाइ नभएपनि केही भएन । तर यतिका दिन बितिसक्दा पनि केही नहुनु राज्य संयन्त्रको ठूलो भुल हो । यस हिसाबले प्रधानमन्त्री ओलीलाई नै दोष दिनुपर्छ भन्ने होइन तर राज्य संयन्त्र भनेका स्कुलहरू पनि हुनाले सबैको उत्तिकै भूमिका रहन्छ । शिक्षक, विद्यालय प्रशासन र व्यवस्थापन समितिले किन केही गर्न सकेन ?

स्कुल बन्द थिए, ठीक छ । स्कुलमा अध्यापनको वातावरण भएन त्यो पनि ठीक छ । इन्टरनेट सबैको पहुँचमा छैन त्यसलाई पनि स्वभाविक मानौला तर हाम्रो दिमाग त बन्द थिएन नि । एन्टिनियो ग्राम्सीको दिमागलाई त्यसबेलाका शासकहरूले १० वर्ष सोच्न बन्द गर्नुपर्छ भनेका थिए । के अहिले त्यस्तै भएको हो ? अहिले शिक्षक, विद्यालय परिवार र व्यवस्थापन समितिलाई सोच्न बन्द गर्नुपर्छ भनेर कसैले भनेको छ र ?

कोरोनाको अत्याधिक जोखिम रहेको ठाउँमा उपचार सावधानीसँगै इन्टरनेटको व्यवस्था मिलाउन नसकिने थिएन । जहाँ जोखिम छैन, त्यहाँका स्कुलमा सबै विद्यार्थी एकै पटक जम्मा नगरेर विभिन्न सिफ्टमा पढाउन असम्भव थिएन । माहामारीमा घरमै बसिरहने शिक्षकलाई त सरकारले अन्तिममा तलब भत्ता दिन्छ नै । त्यसो हो भने केही आग्रह गरेर उनीहरूलाई बलि बढी दुःख गर्ने गराएर काममा लाग्ने वातावरण किन नबनाउने ?

स्कुललाई नै पढाउने थलो बनाउन नसकिएला तर घरघरमा बालबालिकाले गरिरहेको कामको बारेमा लेख्न, बोल्न र त्यसको उपयोगिता के कस्तो छ भनेर खोज्न शिक्षकहरूमार्फत काम दिन सकिन्थ्यो ।

यसका लागि हामीसँग समय नभएको होइन । ६ महिना हुन लाग्यो । यो अवधिमा विद्यार्थीले कम्तीमा ६ वटा सीप सिक्न र त्यसको विषयमा लेख्न सक्थे । त्यो पनि एक विद्यार्थीको लागि कम होइन । विस्तारै तीमध्ये राम्रा र उपयोगी सीप सबैसम्म पुगाउन सकिन्थ्यो । तर हामीले यो अवधिमा के सिक्यौ र के बाँड्यौ ?

परिणाम विद्यार्थी अलमलमा छन् । के गर्ने, के नगर्ने दोधारमा छन् । कति कुलतमा फसिरहेका छन् । कतिमा मानसिक समस्या देखिन थालेको छ । कति त निराश भएर जीउ मास्ने अवस्थामा पुगेका छन् भने कतिको स्थिति आइतेले भनेको भनाइको जस्तो भइसकेको छ ।

यदि माहामारी नियन्त्रण बाहिर गएको हो भने हामीले बालबालिकाको सिकाइलाई श्रमसँग गाँस्नुको विकल्प हुन्न । यसले केही हदसम्म भएपनि अहिले भोगिरहेका समस्याहरू कम हुन सक्छन् । आइतेको घाउ अहिले दुखिरहेको छ । तर यो सामुहिक घाउ युगौ युग दुखिरहरने छ ।

मेरा कुरा यति नै हुन । बाँकी छलफल पछि गरौंला । म अहिले मेरी सानी भतिजीको समस्या तिर ध्यान दिन्छु’ दिदीले आफ्नो छोटा तर महत्वपूर्ण भनाइ टुंग्याउनुभयो ।

‘ठीक छ, आजलाई यत्ति गरौं है ।’ आइतेको आग्रह ।

बाँकी सबैको आवाज, ‘ओके छ त ।’

प्रकाशित मितिः   १३ भाद्र २०७७, शनिबार ०६:१०