मेरो बालापन

सानैदेखि समाज सेवामा समर्पित

जयन्ती थापा

दैलेखको नारायण नगरपालिका–२ जाहरकोटमा बुवा धर्मजंग थापा र आमा पार्वती थापाको पहिलो सन्तानका रूपमा जन्मिएकी जयन्ती थापा हाल अमेरिका छिन् । थापा परदेशमा भए पनि उनको मन भने यतै हुन्छ । उनी आफ्नै गाउँ–ठाउँको समाज सेवामा निरन्तर सक्रिय छन् । थापा अहिले अमेरिकामा आफ्नै व्यवसाय गर्छिन् । व्यवसायबाट कमाएको केही प्रतिशत प्रत्येक महिना नेपालमा आर्थिक अभाव झेलिरहेकाहरूलाई सहयोग गर्दै आएकी उनले आफ्नो बाल्यकालको सम्झना हाम्रा सहकर्मी मुना हमाल सँग यसरी साटिन्ः

म दैलेखमा जन्मिएकी हुँ । दश वर्षको हुँदा हाम्रो परिवार बसाइँसराइ गरेर सुर्खेत झ¥यो । त्यसपछि मेरो बाल्यकाल सुर्खेतमै बित्यो । बाल्यकाल रमाइलो गरी नै बित्यो । दैलेखमा मैले कक्षा तीनसम्म बोर्डिङ्ग स्कुलमा पढेँ । त्यसपछि सुर्खेत आएर अमरज्योति माविमा एकै पटक कक्षा ६ मा नाम लेखाएर पढेँ । घरको जेठो सन्तान हुँु । हामी दुई बहिनी र दुई भाइ छौं । बुवाकी प्यारी छोरी थिएँ । जहाँ जाँदा पनि बुवाले मलाईसंँगै लिएर जानुहुन्थ्यो । यसले गर्दा बाहिरको परिवेशबारे सानै उमेरमा धेरै थाहा पाइसकेकी थिएँ ।

हामी दैलेखबाट बसाइँ सरेर आएपछि वीननपा–१० भुवानपुरमा बस्यौं । त्यहाँबाट पढ्न नेवारे आउँथे । स्कुल आउने जाने साइकलमै गर्थे । घरदेखि स्कुुल आउन पन्ध्र मिनेट जति लाग्थ्यो । त्यसबेला केटीहरूले खासै साइकल चलाउँदैन थिए । म अपवादजस्तै थिएँ ।

मेरो स्वभाव सानैदेखि सहयोगी हो । परिवारको आर्थिक अवस्था राम्रो भएकाले खान लाउनको दुःख थिएन । खेतबारी टन्नै थियो । बालापनमा दुःखको त्यस्तो अनुभूति गरिएन । तर अरुको दुःख देखेर भने मनमा एक खालको पीडा भइरहन्थ्यो । त्यस्ता व्यक्तिहरूलाई सहयोग गर्न पाए हुन्थ्यो भन्ने लागि नै रहन्थ्यो । भुवानपुरमा उतिबेला थारु समुदायको ठूलै बस्ती थियो । उनीहरूले खानलाउनकै लागि मात्र पनि गरेको दुःख देख्दा नरमाइलो लाग्थ्यो । बालबालिकाको अवस्था पनि त्यस्तै हुन्थ्यो । मैले उनीहरूलाई आफू पढ्दै गर्दा पढाउने, सिकाउने गर्थे । उनीहरूका ती दुःखहरू देख्दा मैले कसरी उनीहरूलाई सहयोग गर्न सक्छु होला भनेर सोचिरहन्थे । त्यसैले पनि मलाई भविष्यमा जागिर खानुपर्छ भन्नेतर्फ भन्दा समाजसेवा गर्नुपर्छ भन्नेमा ध्यान जान थाल्यो । कमजोर आर्थिक अवस्था भएका समुदायमा सहयोग गर्ने एक खालको हुटहुटी म मा सानै उमेरदेखि थियो ।

अहिले लाग्छ बाल्यकालमा मैले त्यो परिवेश देखेर जे सोचेको थिए । त्यही काम गरिरहेको छु  । मैले अझ धेरै गर्न बाँकी त छदैँछ । अर्को वकील बन्छु भन्ने थियो । पीडितलाई न्याय दिनका लागि वकील पनि बन्नुपर्छ भन्ने लाग्थ्यो । मैले अमेरिका जानु अघि नै सन् २००८ मा रुकुम–पश्चिम (कर्मघर) मा सृजनशील महिला विकास केन्द्र स्थापना गरेर सामाजिक सेवाको सुरुवात गरिसकेकी थिएँ । अझै पनि यो संस्था छ । यो संस्थामार्फत सहयोग गर्नुपर्ने व्यक्तिहरूलाई सहयोग गरिरहेकै छु ।

भुवानपुरमा केही समय बसेपछि हामीहरू वीरेन्द्रनगर–८ खजुरामा बस्न थाल्यौं । यहाँ पनि मैले त्यस्तै दुःख भोगेको व्यक्तिहरू देख्थे । जीवन धान्नका लागि इत्राम खोलामा गिट्टी कुट्नेको संख्या धेरै देख्थे । यसले मलाई अझै कसरी सहयोग गर्ने होला भनेर सोचमग्न गराउँथ्यो । मेरो बुवा समाज सेवा गर्नुहुन्थ्यो । म उहाँको सेवाबाट प्रभावित भएको थिए । मैले भनेका कुराहरूमा बुवाआमाले कहिले पनि नाइँ भन्नु भएन । घरको आर्थिक जिम्मेवारी बुवाले मलाई नै दिनुहुन्थ्यो ।

सानो–सानो कुरामा विभेद भए पनि आवाज उठाइहाल्थे । परिवारमा छोरा र छोरीमा हुने विभेद महसुस गर्ने बित्तिकै म आवाज उठाइहाल्थे । मलाई लाग्थ्यो छोरा र छोरी बराबरी हुनुपर्छ । छोराले जस्तै छोरीले पनि गर्न नसक्ने काम केही छैन भन्ने लाग्थ्यो र अन्यायलाई सहनुहुन्न भन्ने पनि मेरो स्वभाव थियो ।

सानो छँदा मलाई सबैभन्दा खुशीको दिन आमालाई सन्चो भएको दिन लाग्थ्यो । आमा धेरैै बिरामी भइरहनुहुन्थ्यो । बाल्यकालमा खासै खेलेको सम्झना छैन । आमा बिरामी भइरहने हुँदा पढाइबाहेक घरमै आमालाई काममा सघाउनुपथ्र्यो । दिनभरी स्कुल र बिहान साँझ आमालाई घरको काममा सघाउनुुपथ्र्यो । जेठो सन्तान भएकाले पनि भाइबहिनीहरूको हेरचाह गर्नुपर्ने हुन्थ्यो ।

दशैं–तिहारमा रमाइलो लाग्थ्यो । मामा घर जाने । दशैंमा टीका लगाएर कसको कति पैसा भयो भनेर गन्ने गर्थिम् । तिहारको समयमा भैली खेल्न खुबै रमाइलो हुन्थ्यो । मलाई अरुले भट्टाएको राम्रो लाग्थेन । मैले आफैं भट्टाउनु पथ्र्यो । हरेक कुरामा नेतृत्व लिनुपर्छ भन्ने मेरो सोच हुन्थ्यो । मेरो विवाह कलिलै उमेरमा भयो । रुकुम–पश्चिममा विवाह गरेर गएँ । त्यहाँको परिवेश सुर्खेतको भन्दा धेरै फरक थियो । नयाँ ठाउँ । भौगोलिक विकटता । सानै पन्ध्र–सोह्र वर्षकै उमेरमा विवाह गरेकी हुँु । रुकुम त्यति बसिएन । विवाह लगत्तै सुुुर्खेत पढ्न आइहाले । पढाइ छोड्नुहुन्न भन्ने ममा थियो । मैले सुर्खेत क्याम्पस शिक्षामा स्नातक र काठमाडौंबाट स्नातकोत्तर गरेँ । नेपालमै हुँदा केही समय शिक्षण पेसामा पनि रहेर काम गरेँ ।

सन् २०१० मा अमेरिका आएकी हुँ । यहाँ आएको अहिले १० वर्ष पुगिसकेको छ । म यहाँ सधंैका लागि बस्न भनेर आएकी होइन । केही समयपछि आफ्नै ठाउँमा फर्किन्छु । यहाँ भए पनि मेरो मन सधैं जन्मभूमि नेपालमै हुन्छ । मैले यहाँबाट भए पनि सहयोग गर्नुपर्ने व्यक्तिहरूलाई सक्दो आर्थिक सहयोग पठाइरहेकै छु । सहयोग अभियानलाई निरन्तरता दिइरहने छु ।

प्रकाशित मितिः   १३ भाद्र २०७७, शनिबार ०६:०८