आदिम कलेजले ल्यायो छात्रवृत्ति योजना

सुर्खेत : काठमाडौंस्थित आदिम कलेजले छात्रवृत्ति योजना ल्याएको छ । कोरोना भाइरस(कोभिड–१९)का कारण अभिभावकहरु आर्थिक चपेटामा परेको बेला कक्षा ११ का विद्यार्थीका लागि छात्रवृत्ति दिने भएको हो ।

कलेजका प्रिन्सिपल शंकरप्रसाद शर्माले न्यूनतम ५० देखि एक सय प्रतिशतसम्म छात्रवृत्ति दिने निर्णय गरिएको जानकारी दिए । ‘कोरोना महामारीको असरले गर्दा अभिभावकहरुको आम्दानी घटेको छ, यो संकटको समयमा कलेज सञ्चालक समितिको बैठकले छात्रवृत्तिको निर्णय गरेको हो’ प्रिन्सिपल शर्माले भने ।

सहायक प्रिन्सिपल कृष्ण दाहालका अनुसार कक्षा ११ मा पढ्ने सबै विद्यार्थीहरुलाई सम्पूर्ण शुल्कमा ५० देखि एक सय प्रतिशतसम्म छात्रवृत्ति दिईनेछ । ‘हामी सबै कठिन अवस्थाबाट गुज्रिरहेका छौं’ दाहालले भने, ‘यस्तो बेला नाफा मात्रै सोचेर हुँदैन, हामीले अभिभावकहरुको समस्या पनि बुझ्नुपर्दछ ।’

कलेजले विद्यालय तहमा कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन तथा स्नातक तहमा बीसीए, बीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने गरेको छ । यो कलेज काठमाडौंको चाबहिलस्थित चुच्चेपाटीमा रहेको छ ।

प्रकाशित मितिः   १२ भाद्र २०७७, शुक्रबार २०:००