हटाइएन विद्यालयबाट क्वारेन्टाइन

सरकारले विद्यालयमा रहेका क्वारेन्टाइन र आइसोलेसन हटाउन भनेको लामो समय भइसक्दा समेत निर्णय कार्यान्वयन भएको छैन । अहिले पनि विद्यालयमै क्वारेन्टाइन छन् । विद्यालयहरू खाली गरिएको छैन ।

कोरोना भाइरस (कोभिड–१९)रोकथाम तथा नियन्त्रण गर्न बाहिरबाट आउने संक्रमणका आंशकित व्यक्तिलाई राख्न विद्यालय क्वारेन्टाइनका रूपमा प्रयोग गरिँदै आएको छ । सरकारले विद्यालयमा रहेका क्वारेन्टाइन हटाउने निर्णय गरेको एक महिना पुग्दा पनि केही ठाउँमा अझै विद्यालयलाई नै क्वारेन्टाइनका रूपमा प्रयोग गरिएको हो ।

संघीय सरकारले साउन १२ गते क्वारेन्टाइन र आइसोलेसन सेन्टरको रूपमा प्रयोग भएका सबै विद्यालय भवनहरूको निर्मलीकरण गरी पठन–पाठनका लागि तयार पार्ने जिम्मेवारी स्थानीय तहलाई दिने निर्णय गरेको थियो । तर अझै पनि केही स्थानमा विद्यालयमै क्वारेन्टाइन बनाइएको छ । क्वारेन्टाइन हटाइएका विद्यालयमा पनि सबै ठाउँमा निर्मलीकरणको काम हुन सकेको छैन । क्वारेन्टाइन बनाइएका विद्यालयमा सरसफाइ नगरिएको हो ।

कर्णाली प्रदेशमा अधिकांश विद्यालय क्वारेन्टाइन र आइसोलेसनका रूपमा प्रयोग भएका थिए । प्रदेश शिक्षा विकास निर्देशनालयका अनुसार प्रदेशभर पाँच सय ३३ विद्यालयमा क्वारेन्टाइन र आइसोलेसन बनाइएको थियो । निर्देशनालयका निमित्त निर्देशक दीपा हमालले विद्यालयबाट क्वारेन्टाइन र आइसोलेसन हटाने काम भइरहेको भन्दै एकिन तथ्याङ्क नभए पनि एक सयको हाराहारीमा विद्यालयहरू अझै क्वारेन्टाइनका रूपमा प्रयोग हुँदै आएको बताइन् । क्वारेन्टाइन हटाइएका विद्यालयमा निर्मलीकरण र सरसफाइलगायतका कामहरू भइरहेको उनले जानकारी दिइन् । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुुसार कर्णालीमा हाल तीन सय ५६ ठाउँमा क्वारेन्टाइन छन् । विद्यालय खाली गरेर सामुुदायिक भवन तथा अन्य ठाउँमा क्वारेन्टाइनको व्यवस्थापन भइरहेको निर्देशनालयले जनाएको छ ।

सुर्खेतमा नौ वटा विद्यालय अझै पनि क्वारेन्टाइनको रूपमा प्रयोग गरिएको छ । सुुर्खेतमा एक सय ७५ विद्यालयमा क्वारेन्टाइन बनाइएको थियो । जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगरको बाल मन्दिर, लेकवेशी नगरपालिकाको शान्ति आधारभूत विद्यालय रातामाटे र जीवनज्योति मावि दशरथपुरमा क्वारेन्टाइन राखिएको छ ।

यस्तै भेरीगंगा नगरपालिकामा नेपाल राष्ट्रिय मावि सानोजात्री जहरे र चन्द्रोदय आधारभूत विद्यालय काशीपुरमा क्वारेन्टाइन छन् । सिम्ता गाउँपालिकाको बागेश्वरी मावि राकम पनि क्वारेन्टाइनकै रूपमा प्रयोग भएको छ । तत्काल अन्य ठाउँमा क्वारेन्टाइन बनाउने ठाउँ नहुँदा विद्यालयमै क्वारेन्टाइन राखिएको सरोकारवाला निकायको भनाइ छ । लेकवेशी नगरपालिकाका प्रमुुख गगनसिं सुनारले विद्यालयका क्वारेन्टाइन हटाउने र निर्मलीकरण गर्ने काम भइरहेको जनाए ।

त्यस्तै जाजरकोटमा १६ मध्ये करिब पाँच वटा विद्यालय अहिले पनि क्वारेन्टाइनको रूपमा प्रयोग गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी विष्णु सहानीले विद्यालयमा भएका क्वारेन्टाइन खाली गर्दै अन्य ठाउँमा व्यवस्थापन गर्न स्थानीय तहहरू लागिरहेको बताए । क्वारेन्टाइन हटाइसकेका सबै विद्यालयहरूको निर्मलीकरण गर्ने काम पनि हुन सकेको छैन । भेरीगंगा नगरपालिकाका शिक्षा शाखाका प्रमुख धिरेन्द्र लम्सालले एक–दुई वटा विद्यालयमा क्वारेन्टाइन यथावत नै रहेको बताए । विद्यालयबाट क्वारेन्टाइन नहटाइँदा विद्यालय सञ्चालनका लागि आफूहरूले गर्नुपर्ने तयारीमा समस्या भएको शिक्षकहरूको गुनासो छ ।

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान नेपाल कर्णाली प्रदेश समितिले पनि विद्यालयमा रहेका क्यारेन्टाइन तत्काल हटाउन आग्रह गरेको छ । समितिले विद्यालयहरूलाई तत्काल खाली गर्नुका साथै निर्मलीकरण गरी विद्यार्थी एवम् अभिभावकलाई मनोवैज्ञानिक रूपमा शैक्षिक वातावरण सृजना गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको हो । अभियानका कर्णाली प्रदेश संयोजक टीकाराम आचार्यले क्वारेन्टाइनका रूपमा प्रयोग भएका विद्यालयलाई खाली गरी शैक्षिक वातावरण बनाउन स्थानीय तह, स्थानीय प्रशासन र स्वास्थ्य कार्यालयहरूलाई अनुरोध गरिएको जनाए ।

प्रकाशित मितिः   १२ भाद्र २०७७, शुक्रबार ०६:०६