वीरेन्द्रनगरको निषेधाज्ञा १३ गतेबाट हटाइने

उद्योग र कार्यालय खुल्ने, बजारको निर्णय हुन बाँकी

कोरोना भाइरस ‐कोभिड–१९) संक्रमणको जोखिम बढेपछि वीरेन्द्रनगरमा ९ दिनदेखि जारी निषेधाज्ञा भदौ १३ गतेबाट हटाइने भएको छ । पहिलो पटक भदौ १ देखि ५ गतेसम्म जारी गरिएको निषेधाज्ञा चार दिन थपेर ९ गतेसम्म लम्ब्याइएको थियो । सोमवार दोस्रो पटक पुनः तीन दिनका लागि निषेधाज्ञा थप गरिएको हो ।
वीरेन्द्रनगरमा १२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी रहनेछ । १३ गतेबाट शर्तसहित अर्थात् स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउने गरी निषेधाज्ञा हटाइने सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए ।

उनका अनुसार सोमवार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सुर्खेत तथा जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो । बजार तथा यातायातका सम्बन्धमा भने आगामी ११ गते पुनः बैठक बस्नेछ ।

‘१३ गतेदेखि स्वास्थ्य सावधानी अपनाएर भिडभाड भने गर्न नदिने गरी निषेधाज्ञा खोल्ने निर्णय गरेका हौं,’ प्रजिअ रेग्मीले भने, ‘उद्योग तथा कार्यालयहरू खोल्ने निर्णय भए पनि बजार तथा यातायातको लागि भने पुनः बस्ने बैठकले निर्णय गर्ने छ ।’ बाँकी निषेधाज्ञा अवधिभर अवज्ञा गर्नेहरूलाई स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने उनले बताए ।

प्रकाशित मितिः   ९ भाद्र २०७७, मंगलवार ०६:०१