समुदायमा छ्यापछ्याप्ती संक्रमण

कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको सुरुका दिनहरूमा भारतबाट फर्किएर क्वारेन्टाइन बसिरहेका व्यक्तिहरूमा मात्र संक्रमण देखिएको थियोे । तर, अहिले संक्रमण समुदायस्तरमा व्यापक रूपमा फैलिसकेको छ । हेलचक्य्राइँका कारण संक्रमण समुदायमा पुगेको हो । पछिल्ला केही दिनयता दैनिकजसो थपिने संक्रमित समुदायका छन् । हाल कर्णालीमा पुष्टि हुने कोरोनाका अधिकांश नयाँ संक्रमित कुनै ‘ट्राभल हिस्ट्री’ नभएका समुदायस्तरका हुन् । यसले गर्दा संक्रमण समुदायमा पुगिसकेको मात्र होइन भयावह अवस्था नै आउन सक्ने देखिएको छ । संक्रमण समुदायमा छ्यापछ्याप्ती भइसकेकाले स्थिति थप जटिल र भयावह बन्ने देखिएको हो ।

स्थानीयस्तरमा संक्रमण फैलिएपछि प्रदेशका विभिन्न जिल्ला तथा स्थानीय तहहरूमा निषेधाज्ञा जारी गरिएको छ । आवागमनमा कडाइ गरिए पनि सम्बन्धित निकायले संक्रमितहरूको ‘कन्ट्रयाक्ट टेसिङ्ग’ का आधारमा परीक्षणको दायरा बढाएर खोजपड्ताल व्यापक बनाएको भने पाइँदैन । जसले गर्दा संक्रमण भुसको आगो झै भित्रभित्रै सल्किसकेको छ कि भन्ने त्रास आमनागरिकमा परेको छ ।

अघिल्लो महिनासम्म कर्णालीमा देखिएका कोरोना संक्रमितहरूमा सामान्यबाहेकको लक्षण कसैमा पनि देखिएको थिएन् । कोरोनाका कारण ज्यान गएकाहरूको पनि मृत्युपछि मात्रै संक्रमण पुष्टि भएको थियो । तर पछिल्लो समय यहाँ लक्षणसहितका संक्रमित देखिन थालेको चिकित्सकहरूले बताएका छन् । ‘ट्राभल हिस्ट्री’ नै नभएका व्यक्तिमा संक्रमण हुनु, लक्षणसहितका संक्रमित देखिनु र दैनिक समुदायस्तरका व्यक्तिमा संक्रमण पुष्टि हुनुले खतराको संकेत गरेको उनीहरूको भनाइ छ । केही दिन पहिले साझा बिसौनीसँगको कुराकानीमा कर्णाली प्रदेश अस्पतालका विशेषज्ञ डा. केएन पौडेलले लकडाउन हटेसँगै कर्णालीमा संक्रमणको दर उच्च हुन सक्ने बताएका थिए । उनले बजार क्षेत्रमा देखिएको भिडभाड र लापरबाहीले खतराको संकेत गरेको भन्दै आमनागरिकले सावधानी नअपनाए भयावह स्थितिको सामना गर्नुपर्ने औंल्याएका थिए ।

लकडाउन पूर्णरूपमा हटेसँगै मानिसहरूले स्वास्थ्य सावधानी र भौतिक दूरी कायम गर्न छोडेपछि कोरोना भाइरस समुदायतिर लम्किएको हो । चाडपर्वहरू नजिकिँदै गर्दा भिडभाड बढ्ने र त्यसले संक्रमण थप तीव्र रूपमा फैलन सक्ने सम्भावना रहेको जनस्वास्थ्य क्षेत्रका जानकारहरू बताउँछन् ।
केही दिनयता कर्णालीमा भेटिएका संक्रमितको प्रकृति र तथ्यांकहरू केलाउँदा संक्रमितहरूको ग्राफ उकालो लाग्दै गरेको देखिन्छ । यसलाई ‘खतराको घण्टी’ अर्थात् संक्रमण समुदायतिर सरेको संकेतका रूपमा लिन सकिन्छ । कर्णालीमा संक्रमण पुष्टि भएको पहिलो महिना गत जेठ र असारमा भारतबाट आएका व्यक्तिहरूमा मात्रै संक्रमण सीमित थियो । स्थानीय व्यक्तिहरूमा संक्रमण पुष्टि भएको थिएन । साउनयता भने विस्तारै संक्रमण समुदायमा गएको हो ।

शुक्रवार जुम्लामा मात्र ५२ जनामा संक्रमण पुष्टि भएको छ । हिमा गाउँपालिकाका आठ जना र अन्य एक जनामा संक्रमण देखिएपछि ‘कन्ट्रयाक्ट ट्रेसिङ्ग’ गर्दा हिमा गाउँपालिकाका मात्र ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका अस्पताल निर्देशक डा. मंगल रावलका अनुसार जुम्लामा यति धेरै संक्रमित देखिएको यो पहिलो पटक हो । कर्णालीमा शुक्रवार भेटिएका ६२ जनामध्ये जुम्लाका मात्र ५२ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै जुम्लामा कोरोना संक्रमितको संख्या एक सय ११ पुगेको छ । बिहीवार सुर्खेतको वीरेन्द्रनगरमा भेटिएका थप १५ जना संक्रमितमध्ये सात जना स्थानीय समुदायका थिए । उनीहरूको भने संक्रमणको स्रोत पत्ता लागेको छैन । संक्रमणको स्रोत नै पत्ता नलाग्नुले कोरोना रोकथाम तथा नियन्त्रणमा झनै चुनौति थपिएको छ ।

प्रदेश स्वास्थ्य सेवा महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार कर्णालीमा कोरोना संक्रमितको संख्या दुई हजार दुई यस २५ पुगेको छ । तीमध्ये एक हजार नौ सय ४५ जना संक्रमणमुक्त भइसकेको महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक वृषबहादुर शाहीले जनाए । उनका अनुसार शुक्रवारसम्म प्रदेशमा कोरोनाका सक्रिय संक्रमित दुई सय ७४ जना छन् । कर्णालीमा कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ । प्रदेशमा सबैभन्दा बढी संक्रमित भएको जिल्ला दैलेख हो । जहाँ संक्रमितको संख्या एक हजार एक पुगेको छ । त्यस्तै दोस्रो धेरै संक्रमित रहेको जिल्ला सुर्खेत हो । यहाँ ६ सय सात जनामा संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य सेवा महाशाखाको तीन महिनाको तथ्याङ्क हेर्दा जेठ, असार र साउनमा क्रमशः संक्रमितको दर घट्दै गएको पाइएको थियो । तर भदौ लागेयता संक्रमणको दर फेरि उकालो लागेको हो । भदौ १ गते १४ जनामा संक्रमण पुष्टि भएको थियो । त्यस्तै २ गते ६ जनामा, ३ गते ४३ जनामा, ४ गते ३३ जनामा र ५ गते ६२ जनामा संक्रमण देखिएको हो ।

प्रकाशित मितिः   ६ भाद्र २०७७, शनिबार ०६:००