चार जिल्लामा निषेधाज्ञा

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढेको भन्दै कर्णालीका विभिन्न जिल्ला तथा स्थानीय तहमा धमाधम कडाइ गर्न थालिएको छ । स्थानीय प्रशासनले कतै निषेधाज्ञा नै जारी गरेको छ भने कतिपय ठाउँमा आवत–जावतमा कडाइ गरिएको हो ।

समुुदायस्तरमै संक्रमणको जोखिम बढेपछि कर्णाली प्रदेशका चार जिल्लाका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरिएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, जुुम्लाको चन्दननाथ नगरपालिका, मुुगुको छायाँनाथ रारा नगरपालिका र रुकुुम–पश्चिम जिल्लाभर नै निषेधाज्ञा लागू गरिएको हो ।

सुर्खेतको वीरेन्द्रनगरमा भदौ १ गते (सोमवार) देखि ५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी छ । कोरोनाको उच्च जोखिम रहेको र चाडपर्व नजिकिएकाले झनै संक्रमण फैलने ठहर गर्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो । नगरपालिकामा कोरोना संक्रमण समुदायस्तरमा देखिसकेको छ ।

यस्तै, सुर्खेतकै भेरीगङ्गा नगरपालिकाले सोमवारदेखि पाँच दिनसम्म नगर क्षेत्रका बजारहरू बन्द रहने जनाएको छ । मानिसहरूको बढी भिडभाड हुने नगरका छिन्चुु, रामघाट, जहरेलगायतका बजार बन्द गरिएको हो ।

जुम्लामा बजार सञ्चालन र मानिसहरूको आवात–जावतमा कडाइ गरिएको छ । प्रशासनले कोरोनाको उच्च जोखिम भएको चन्दननाथमा सील गरेको छ भने अन्य पालिकामा निषेधाज्ञा नै जारी गरेको छ । प्रमुुख जिल्ला अधिकारी भुुपेन्द्र थापाले अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको जानकारी दिए ।

मुुगुुमा पनि आवत–जावतमा कडाइ गरिएको छ । सहायक प्रमुुख जिल्ला अधिकारी केशव ज्ञवालीले सोमवारदेखि दुुई हप्तासम्मका लागि जिल्लाका सीमा नाका र बजार क्षेत्रमा कडाइ गरिएको जनाए । उनले बिहान १० बजे र साँझ ४ बजे मात्र एक÷एक घण्टाका लागि अत्यावश्यक पसल खोल्ने र दिउँसोको समयमा बजार क्षेत्र बन्द गर्ने गरिएको बताए । उनका अनुसार एक पालिकाबाट अर्को पालिका जानसमेत रोक लगाइएको छ । उनले भने, ‘हामीले लकडाउन जस्तै गरेका छौं । अत्यावश्यकबाहेकका सबै क्षेत्र बन्द गरिएको छ ।’ दुई हप्तासम्म विभिन्न क्षेत्रमा कोरोना परीक्षण गर्ने र त्यसका आधारमा जोखिम पहिचान गरेर कोरोना प्रतिकार्यका लागि रणनीति बनाउन यसो गरिएको उनको भनाइ छ । त्यस्तै रुकुुम–पश्चिममा पनि निषेधाज्ञा जारी छ । एक जना स्थानीय व्यवसायीलाई कोरोना संक्रमण देखिएपछि साउन २७ गतेदेखि जिल्लामा निषेधाज्ञा लागू गरिएको हो ।

प्रकाशित मितिः   २ भाद्र २०७७, मंगलवार ०६:०६