जनकल्याण प्रदेशको उत्कृष्ट सहकारी
जनकल्याण बचत तथा ऋण सहकारी संस्था यस वर्ष कर्णाली प्रदेशकै उत्कृष्ट घोषित भएको छ । सुर्खेतको वीरेन्द्रनगर–१ मा रहेको उक्त सहकारी संस्थालाई नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले उत्कृष्ट घोषणा गरेको हो ।
नेफ्स्कूनले हरेक वर्ष विभिन्न विधामा उत्कृष्ट हुने सहकारीहरूलाई पुरस्कृत गर्दै आएको छ । आइतवार सम्पन्न ३३औं स्थापना दिवसको अवसरमा उत्कृष्ट सहकारी घोषणा गरिएको हो । गत वर्ष जिल्लाको उत्कृष्ट घोषणा भएको जनकल्याण यस वर्ष भने कर्णाली प्रदेशमा नै उत्कृष्ट हुन सफल भएको हो ।
२०५२ सालमा स्थापना भएको जनकल्याणले निरन्तर रूपमा वित्तीय सेवा प्रवाह गर्दै आएको छ । संस्थाका दुई हजार भन्दा बढी सदस्य रहेको छन् । कूल पूँजी १६ करोड छ । हाल वीरेन्द्रनगर नगरपालिका र बराहताल गाउँपालिकालाई कार्यक्षेत्र बनाएको सहकारी संस्थाको समग्र वृत्ति–विकास र सदस्य केन्द्रित सेवाले नै उत्कृष्ट भएको संस्थाका व्यवस्थापक खुमलाल न्यौपानेले बताए । उनले भने, ‘हामीले पछिल्लो समय सदस्य सेवालाई विशेष ध्यान दिएका छौं, नयाँ प्रविधिको अवलम्बन गर्दै सहकारी क्षेत्रको सुधारका लागि आवश्यक सबै मापदण्डहरू पूरा गरेका छौँ । यसले गर्दा सदस्यहरूको विश्वास बढेको छ भने सँगसँगै संस्थाको कुल पूँजीमा समेत वृद्धि भएको छ ।’
संस्थाले वित्तीय सेवाका अतिरिक्त एसएमएस, मोबाइल बैंकिङ्ग र रेमिट्यान्स सेवा समेत उपलब्ध गराएको छ । नेफ्स्कूनले सञ्चालन गरेको पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रममा आवद्ध भए पश्चात संस्थाको विकासले गति लिएको संस्थाका अध्यक्ष महेन्द्रप्रसाद शर्माले बताए ।
‘प्रोवेशन कार्यक्रमले संस्थाको वित्तीय सूचकहरू सुधार गर्छ, संस्थालाई व्यवस्थित र सुशासन कायम गरी दीर्घकालसम्म स्वस्थ रूपमा सञ्चालन गर्न सहयोग गर्छ’ उनले भने ।
प्रकाशित मितिः १ भाद्र २०७७, सोमबार ०६:०१
साझा बिसौनी ।