पहिरोबाट एकै परिवारका ६ जनाको मृत्यु

कालीकोटमा पहिरोले पुरिँदा ६ जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । महावै गाउँपालिका–३ नकुमा बिहीवार राति वडा सदस्य राजबहादुर विष्टको घरमाथिबाट पहिरो आउँदा उनको परिवारका ६ जनाको मृत्यु भएको हो । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार राजबहादुरका १३ वर्षीय छोरा पुष्प विष्ट, ११ वर्षीय प्रविन विष्ट, १८ वर्षीय छोरी सविना विष्ट र १५ वर्षीय छोरी आशा विष्टको ज्यान गएको हो ।

त्यस्तै राजबहादुर विष्टको आफ्नै दाजु तीलबहादुर विष्टको छोरी १० वर्षीय रेखा विष्ट र १९ वर्षीय शान्ति विष्टसमेत घरको माथिल्लो तलामा सुतेको अवस्थामा पहिरोले पुरी मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए । उनका अनुसार राजबहादुर र उनकी श्रीमती भुइँतलामा सुतेकाले भागेर ज्यान बचाउन सफल भएका हुन् । कालीकोटकै नरहरिनाथ गाउँपालिका–१ धारीगाउँ भन्ने स्थानका ७० वर्षीय नरबहादुर विष्टको गोठमा पहिरो आउँदा नरबहादुर र उनका १५ वर्षीय नाती रत्न विष्ट घाइते भएका छन् । उनीहरूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः   ३१ श्रावण २०७७, शनिबार ०६:०१