कोरोनाको उच्च जोखिममा वीरेन्द्रनगर

वीरेन्द्रनगरमा पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढेको छ । समुदायस्तरमा संक्रमण देखिन थालेपछि प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर उच्च जोखिममा परेको हो । बुधवार मात्रै वीरेन्द्रनगरमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधवार बिहान १९ जनामा र दिउँसो थप १७ जनामा संक्रमण देखिएको हो ।

बिहान पुष्टि भएका १९ मध्ये कुनै पनि ‘ट्राभल हिस्ट्री’ नभएका समुदायस्तरका पाँच जनासमेत छन् । जसका कारण समुदायस्तरमा संक्रमण व्यापक रूपमा फैलिसकेको आशंका गरिएको छ । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले बुधवार भेटिएका संक्रमितमध्ये केही क्वारेन्टाइनमा रहेका व्यक्ति तथा कतिपय ‘कन्ट्याक्ट ट्रेसिङ्ग’ र पाँच जनाको भने कुनै पनि ‘ट्राभल हिस्ट्री’ नभएको जनाए ।

वीरेन्द्रनगरमा संक्रमितहरूको पछिल्लो तथ्याङ्क र संक्रमणको प्रकृति हेर्दा नगर कोरोनाको उच्च जोखिमा रहेको भन्न सकिने कार्यालय प्रमुख वाग्लेले बताए । उनले भने, ‘यसले समुदायमा कोभिड–१९ को जोखिम बढी छ भन्ने संकेत दिएको छ । जिल्लाका अन्य पालिकाभन्दा वीरेन्द्रनगर उच्च जोखिममा छ ।’ लकडाउन हट्नु, चाडपर्व नजिकिँदै जानु लगायतका कारणले पनि मानिसहरूको बढी भिड हुने गरेकोले जोखिम बढ्दो क्रममा रहेको उनको भनाइ छ ।

वीरेन्द्रनगरमा पछिल्ला केही दिनयता स्थानीय व्यापारी, सवारी चालकहरू, सैलुन व्यवसायी र बाहिरबाट आएका मजदुरहरूमा पनि संक्रमण देखिएको छ । समुदायमा कोरोना जोखिम बढेपछि यहाँ संक्रमण व्यापक भइसकेको हुनसक्ने चिकित्सकहरूले औंल्याएका छन् । उनीहरूले हरेक व्यक्तिले स्वास्थ्य सावधानीसहित उच्च सतर्कता अपनाउनुपर्ने सुझाव दिएका छन् ।

पछिल्लो तथ्याङ्कअनुसार वीरेन्द्रनगरमा कोरोना संक्रमितको संख्या एक सय ९३ पुगेको छ । जसमध्ये २१ जना होम आइसोलेसनमा, १६ जना अस्पतालको आइसोलेसनमा र बुधवार थपिएका ३६ जना भने चिकित्सक र अस्पतालहरूको सम्पर्कमा ल्याउने क्रममै छन् । अन्य संक्रमित संक्रमणमुक्त भएर डिस्चार्ज भइसकेको वीरेन्द्रनगर नगरपालिकाका सिनियर अहेब पर्शुराम खड्काले जनाए ।

यस्तै, सुर्खेतमा हालसम्म ६ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ६ सय बढी संक्रमणमुक्त भइसकेका छन् । हालसम्म सुर्खेतमा दुई जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । कर्णाली प्रदेशभर दुई हजार नाघेको छ भने तीमध्ये एक हजार आठ सय ९४ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमित थोरै रहे पनि संक्रमणको दर भने उच्च छ । कर्णालीमा कोरोनाबाट ६ जनाको मृत्यु भएको छ ।

नगरको सेवा आठ दिन बन्द

यसैबीच कोरोना संक्रमणको जोखिम बढेपछि वीरेन्द्रनगर नगरपालिकाले आठ दिनसम्म आफ्नो सेवा प्रवाह बन्द गर्ने निर्णय गरेको छ । संक्रमितको संख्या अत्याधिक रुपमा वृद्धि भएको भन्दै नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिले बुधवार यस्तो निर्णय गरेको हो ।

नगरपालिका र सो अन्तर्गतका सबै वडा कार्यालयहरू शुक्रवारदेखि पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । उक्त सूचना अनुसार साउन ३० देखि भदौ ५ गतेसम्म कार्यालयका सेवा बन्द रहने छन् । यो अवधिमा स्वास्थ्य, सरसफाइ, फोहोरमैला तथा विपद् व्यवस्थापनबाहेकका कुनै पनि सेवा प्रवाह हुने छैनन् । नगरपालिकामा १६ वटा वडा रहेका छन् ।

प्रकाशित मितिः   २९ श्रावण २०७७, बिहीबार ०६:०४