किशोरीहरुलाई आत्मरक्षा तालिम

एसओएस बालग्राम सुर्खेतका छात्राहरूलाई आत्मरक्षा सम्बन्धी तालिम दिइएको छ । छात्राहरूलाई आफ्नो प्रतिरक्षाका लागि सक्षम बनाउन एक हप्ते तालिम
दिइएको हो ।

महिला हिंसा एवम् बलात्कारका घटना बढिरहेको अवस्थामा छात्रा तथा किशोरीहरूलाई प्रतिरक्षा गर्न सहज होस् भन्ने उद्देश्यले विद्यालयले तालिमको आयोजना गरेको जनाइएको छ । एसओएसका निर्देशक मुकुन्द गिरीले आवासीय रूपमा रहेका ३८ जना छात्राहरूलाई तालिम दिएको बताए । तालिम पछि आयोजना गरिएको पुरस्कार तथा प्रमाण–पत्र वितरण कार्यक्रममा बोल्दै निर्देशक गिरीले अभद्र एवम् अमानवीय व्यवहार बढिरहेको अवस्थामा यस किसिमको तालिम किशोरीका लागि निकै उपयोगी हुने बताए ।

कार्यक्रममा सहभागी कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयकी महिला शाखा प्रमुख अनिता ज्ञवालीले कोरोना महामारीको अवस्थामा सामाजिक दूरी कायम गरेर बालग्रामले किशोरीहरूलाई दिएको तालिम अति उपयोगी भएको बताइन् । उनले समाजमा महिलालाई कमजोर देखाउँदै आएको सन्दर्भ जोड्दै महिला हिंसा न्यूनीकरणमा तालिम फलदायी हुने जिकिर गरिन् । शाखा प्रमुख ज्ञवालीले यस किसिमको तालिम सबै विद्यालयमा दिन जरुरी रहेको बताइन् ।

वीरेन्द्रनगर–४ का वडा अध्यक्ष निलकण्ठ खनालले छोरी तथा किशोरी आफै सुरक्षित भएर हिँड्नुपर्ने बाध्यताका बीचमा यस किसिमको तालिम जीवन उपयोगी हुने बताए । समाज र घरमैं पनि नारी असुरक्षित रहेको सन्दर्भमा आत्मरक्षा तालिम अति आवश्यक भएको उनको भनाइ थियो ।

तालिममा सहभागी छात्राहरूमध्येबाट बोल्दै प्रतिभा रोकायले आत्मरक्षा के हो भन्ने कुरा र यसको महŒवबारे व्यवहारिक रूपमैं प्रशिक्षणबाट थाहा भएको बताइन् । प्रशिक्षणमा उत्कृष्ठ प्रदर्शन गर्ने सपना सिंजापति, प्रतिभा रोकाय र लक्ष्मिता वि.क. लगायत अन्य सहभागी समेतलाई पुरस्कार तथा प्रमाण–पत्र प्रदान गरिएको थियो ।

बालग्रामका खेल प्रशिक्षक रमेश तुलाधरले विद्यार्थीहरूलाई तालिम दिएका थिए । प्रशिक्षण समापन समारोहमा बालग्रामका नायव निर्देशक सुशीलमणि ज्ञवाली, आमाहरू लगायतको उपस्थिति थियो ।

प्रकाशित मितिः   २७ श्रावण २०७७, मंगलवार ०६:०१