बत्ती हो कि जुनकिरी !

विनोद न्यौपाने

सुर्खेतमा हिजोआज एउटा नयाँ गाउँखाने कथा प्रचलित छ । तर यो कुनै स्वैरकाल्पनिक कथा भने होइन । दैनिक जीवनयापनमा भोग्नुपरिरहेको यथार्थ हो । कथा हो, ‘आयो–गयो, आयो–गयो झ्याप्प के हो ?’

सुर्खेतमा बस्ने जो–कोहीले पनि यो कथा सुन्ने बित्तिकै केही नसोचेरै उत्तर भनिहाल्छ ‘बत्ती ।’ किनभने हरेक दिन यही बत्तीको आउने–जाने अनिश्चित तालिकाले यहाँका हरेक नागरिकलाई सताएको छ । दुःख दिएको छ ।

साँझपख आकाशमा जुनकिरीहरूको झिमझिम देखिन्छन् । तर हिजोआज जुनकिरीको भन्दा बढी त बत्तीले झिमझिम गरिरहेको देख्न सकिन्छ । औषतमा एक घण्टामा ६ पटक भन्दा बढी समय विद्युतको लाइन जाने गर्छ । एक पटकमा कम्तीमा ६–७ मिनेट लोडसेडिङ्ग भएको हुन्छ । यसैलाई आधार मान्ने हो भने पनि दैनिक सुर्खेतमा करिब १२ घण्टा भन्दा बढी लोडसेटिङ्ग भइरहेको छ तर पनि विद्युत प्राधिकरण सुर्खेतले भने यसलाई देखाउन चाहिरहेको छैन । नागरिक भने यही अनियमित लोडसेडिङ्गको मारमा छन् ।

नेपालमा चन्द्रशमशेरले कुन मितिमा पहिलो पटक बिजुली बाले ? यसले के कस्ता चुनौतिहरू पार गर्दै यो अवस्थामा यहाँसम्म आइपुग्यो ? क–कसले कति योगदान गरे ? राज्यले बर्सेनी कति लगानी गरिरहेको छ ? यस्ता प्रश्नको उत्तर खोज्नतर्फ अहिले नलागौं । यो छुट्टै छलफल र बहसको विषय हुनसक्दछ । तर मलाई भने आज सुर्खेतमा बत्ती अनियमितता र यसले पारेको प्रभावको विषयमा विमर्श गर्न मन लागेको हो ।

नयाँ संविधान बन्यो । मुलुकले संघीय शासन व्यवस्था अवलम्बन ग¥यो । नयाँ शैली र संरचनामा प्रवेश ग¥यो । तीन तहका सरकार बने । सिंहदरबारमा केन्द्रित विगतको केन्द्रीकृत अधिकार प्रदेश हुँदै गाउँसम्म पुगे । यही अधिकार विकेन्द्रीकरणको अभ्यास अन्तर्गत सुर्खेतको वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी बन्यो । प्रदेशको मुटुको रूपमा आफ्नो परिचय बनायो ।

२२ वर्षको बेरोजगार छोरो पाल्ने जिम्मा ५२ वर्षका बावुआमाले लगेजस्तै आफै घुडा टेक्दै बामे सर्न लागेको सुर्खेतमाथि अरु ९ जिल्लाको भार पनि आएर थपिन सुरु भयो । सुर्खेतले विस्तारै आर्थिक विकासमा पाइला चाल्नै सुरु भएको बेला निकै चुनौतिहरूको सामना गरिराख्नु परेको छ । त्यो मध्येको प्रमुख चुनौती हो सुर्खेतमा विद्युत आपूर्ति ।

जुनसुकै क्षेत्रको आर्थिक विकासको पहिलो पाइलाका रूपमा सकडलाई लिइन्छ भने त्यसपछि तुरुन्तै आउने नाम हो विद्युत । तर विगत केही समयदेखि सुर्खेतमा निरन्तर रूपमा भइरहेको विद्युत अवरोधले पारेको प्रभावलाई एउटा सामान्य उपभोक्ताको नाताले यसरी विश्लेषण गर्न सकिन्छ ।

दैनिक क्रियाकलापमा प्रभाव

विद्युत हाम्रो आधारभूत आवश्यकता हो । हाम्रा दैनिक गतिविधि सञ्चालन गर्नमा विद्युत अत्यावश्यक रहेको छ । हाम्रो स–साना कामहरू खाना पकाउन, पानी तान्न, पङ्खा चलाउनदेखि इन्टरनेटबाट गरिने सम्पूर्ण कार्यहरू गर्नमा विद्युत अपरिहार्य हुन्छ । एकदिन मात्रै पनि विद्युत आपूर्ति बन्द हुने हो भने पानी भन्दा बाहिर निकालिएको माछा जस्तै छटपटीमै कटाउन बाध्य हुन्छौं ।

  •  रोजगारीमा प्रभाव

विद्युत आपूर्तिकै कारण लाखौं जनाको घरमा चुल्हो बलेको छ । विद्युत प्राधिकरणको कर्मचारीदेखि बत्ती मर्मत गर्ने सामान्य पसलेसम्मले रोजगारी पाएका छन् ।

  • आर्थिक गतिविधि सञ्चालनमा प्रभाव

बैंक तथा वित्तीय संघ–संस्थाका दैनिक सम्पूर्ण क्रियाकलापहरू विद्युतमै निर्भर रहेका हुन्छन् । औद्योगिक क्षेत्रका उद्योग सञ्चालनमा सम्पूर्ण रूपमा विद्युत आपूर्तिमै निर्भर रहेका छन् ।

निरन्तर रूपमा भइरहेको विद्युत अनियमितताले गर्दा आम उपभोक्ताले भोगेको दैनिक १८ घण्टाको लोडसेडिङ्गको झझल्को दिलाइरहेको छ, उपभोक्ताहरूलाई निकै कठिनाइ झेल्नु परिरहेको छ । आम उपभोक्ताले आफ्नो समयानुकूल विद्युत उपभोग गर्न पनि नपाउने र कानुनी रूपमा नेपालमा लोडसेडिङ्ग पनि नहुनुले पहिले जस्तै विद्युत प्राधिकरणभित्र विचौलियाहरू हाबी हुन थालेका हुन् कि भन्ने कुराको आशङ्का गर्न सकिन्छ ।

कुलमान घिसिङको कार्यकाल सुरु भएदेखि नै समाप्त भएको लोडसेडिङ्ग उनको कार्यकाल समाप्त हुनासाथ फेरि फर्केर आउने लक्षण देखिरहेको छ । यसरी दैनिक रूपमा भइरहेको अनियमित विद्युत अवरोधले गर्दा उपभोक्ताका विद्युतीय सामग्रीहरूमा समेत प्रत्यक्ष प्रभाव परेको छ । महङ्गो–महङ्गो रकम खर्च गरेर किनेका मोटर, राइसकुकर, पंखा जस्ता थुप्रै विद्युतीय सामग्रीहरू प्रयोग गर्दागर्दै विद्युत अनियमितताको बोझ थाम्न नसकेर पट्किने, जल्ने भएको छ ।

यहीबेला विश्वभरी महामारीको रूपमा फैलिएको कोभिड–१९ जस्तो रोगको प्रकोपका कारणले दैनिक गतिविधि ठप्प भएर आर्थिक अभाव सिर्जना भइरहेको बेला फेरि यस्तो महङ्गो–महङ्गो सामग्रीहरू सजिलै किन्न सक्ने अवस्था छैन । यसले थप दैनिकीलाई कठिनाइ सिर्जना गरिरहेको छ ।

लकडाउनको समयमा बाहिर सरकारले कुनै पनि सभा, सम्मेलन, बैठक, गोष्ठीजस्ता कार्यक्रममा रोक लगाएको छ । यस्तो अवस्थामा थुप्रै कार्यक्रमहरू अनलाइनमार्फत सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ । जस्तो एक दिन बिहान ८ बजे नै ‘जूम’बाट बैठक सञ्चालन हुँदै थियो । म पनि उपस्थिति भएर केही विचारहरू राख्नुपर्ने थियो । तर बत्तीको अनियमितताले मैले न त मेरो विचार राख्न पाएँ न त मैले अरुको विचार राम्रोसँग सुन्न पाएँ । करिब ३–३ मिनेटको अन्तरमा बत्ती जाने–आउने भइरहेको हुँदा कार्यक्रममा अरु सहभागीहरू ‘ल विनोद जी फेरि आउनु भयो’ भन्दै गलल्ल हाँस्न थाले । मैले लज्जित महसुस गर्नुप¥यो । यस्ता घटना मसँग मात्रै होइन थुप्रै साथीहरूसँग धेरै पटक भइसकेको भनेर यहाँका साथीहरू बेलाबेला आफ्नो अनुभव सुनाउने गरेका छन् ।

चैत–वैशाखको खडेरीमा जब नदीमा पानीको प्रवाह निकै कम हुँदा पनि विद्युत अभाव महसुस गर्न परेन तर असार लागेदेखि नै किन विद्युत अनियमितता बढेको हो ? यदि बाढी–पहिरोको कारणले यस्तो भएको हो भने पनि बत्ती धेरै समयको लागि अवरोध हुनुपर्ने होइन र ? छिनछिनमा बत्ती आउने–जाने हुनुलाई तपार्इंले के को आशंका गर्नुहुन्छ गर्नुस तर म चाहिँ सम्बन्धित निकायसँग जवाफ चाहन्छु । सम्बन्धित निकाय विद्युत प्राधिकरण सुर्खेत पनि किन सुतिरहेको छ, किन यो विषयमा भने मौन देखिन्छ ? अब हामी सबैले एकै पटक जवाफ खोज्नुपर्ने भयो ।

यदि विद्युत प्राधिकरणलाई विद्युत आपूर्ति कम भएकै कारणले यस्तो समस्या आइरहेको हो भने बरु नियमित रूपमा लोडसेडिङ्ग समयतालिका बनाएर सार्वजनिक गर्नुप¥यो, होइन भने जुनकिरीले जसरी झिलिक्क र मिलिक्क गर्ने विद्युतको समस्याबाट हामीलाई मुक्त गराउनुप¥यो ।

प्रकाशित मितिः   २७ श्रावण २०७७, मंगलवार ०६:०२